अदालतले अड्कायो मन्त्रिपरिषद् विस्तारको हलो
माधव नेपालको पार्टीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने गठबन्धन दलहरूको योजना सर्वोच्च अदालतका कारण फेरि पछाडि धकेलिएको छ । शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएकोमा सर्वत्र आलोचना भइरहेकै बेला अदालतले यसलाई थप लम्ब्याएको हो ।
सत्ता गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा दायर रिट निवेदनका सम्बन्धमा अदालतको आदेश आएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको थियो । अन्तरिम आदेश दिने÷नदिनेबारे मंगलबार अदालतको आदेश आउने अपेक्षाका साथ मन्त्रिपरिषद् विस्तार गर्ने सत्तापक्षको तयारी थियो ।
तर, मंगलबार सर्वोच्च अदालतले अन्तरिम आदेशबारे कुनै निर्णय सुनाएन । बरु, ओलीको रिटमाथि सुनुवाइ गर्दै निर्वाचन आयोग र सभामुखबाट ‘सक्कल फाइल झिकाउने’ सर्वोच्चले आदेश दिएको छ ।
पार्टीबाट कारबाही भइसकेका १४ सांसदसमेतको हस्ताक्षर सनाखत गराएर निर्वाचन आयोगले नयाँ दल दर्ता गरेको भन्दै आयोगको निर्णय खारेजीको मागसहित एमाले अध्यक्ष ओलीले रिट दायर गरेका छन् । उनले एमालेबाट कारबाही गरिएका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै उनीहरू पदमुक्त हुनुपर्ने मागसमेत गरेका छन् ।
अदालतले एमालेका १४ सांसदमाथिको कारबाही सदर गरिदियो भने नेकपा एकीकृत समाजवादीको वैधतामाथि प्रश्न उठ्न सक्छ र सत्तारुढ गठबन्धन नै सङ्कटमा पर्न सक्छ । त्यसैले पनि उक्त रिटका बारेमा आदेश आएपछि मन्त्रिपरिषद् विस्तार गर्ने सत्ता पक्षको तयारी छ ।
अन्तरिम आदेशका सम्बन्धमा इजलास कुनै निर्णयमा नपुगेका कारण माधव नेपाललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने योजना अझै केही दिन पछाडि धकेलिन पुगेको छ ।
यद्यपि, माधव नेपालको पार्टीलाई छाडेर काँग्रेस र माओवादीका तर्फबाट आज भोलि नै मन्त्रीहरू छनोट गर्न भने प्रधानमन्त्री देउवालाई अदालतबाट कुनै बाधा नरहेको नेताहरू बताउँछन् । गठबन्धनको अर्को घटक जसपाले भने अध्यादेश खारेजीपछि मात्रै सरकारमा जाने अडान राख्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घ र प्रदेशका सांसदले औपचारिक रूपमै मागे ‘स्वकीय सचिव’
-
लगातार हत्या शृङ्खला : विज्ञ भन्छन्– प्रविधिको दुरुपयोग र नैतिक शिक्षा अभाव
-
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह
-
सुदूरपश्चिम सरकारमा आफ्ना मन्त्री फेर्न एमाले पनि छलफलमा
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
