शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा विद्युतीय सवारी : विगतमा तानातान, अहिले अलपत्र

लुम्बिनी विकास कोषको नाममा अझै नामसारी भएन
शुक्रबार, ०५ कात्तिक २०७८, ११ : ४०
शुक्रबार, ०५ कात्तिक २०७८

लामो समयदेखि वातावरणविद्हरुले लुम्बिनीमा प्रदूषण नियन्त्रणमा ध्यान दिन माग गर्दै आएका छन् । खासगरी लुम्बिनी आसपास रहेका ठुला उद्योगमा प्रदूषण रोक्नेदेखि लुम्बिनी क्षेत्रभित्र चल्ने सवारी साधनाबाट हुने प्रदूषण रोक्न वातावरणविद्हरुले माग गरेपछि  लुम्बिनीमा विद्युतीय बस र ट्याक्सीहरु भित्र्याइएको छ ।

लुम्बिनी क्षेत्रमा सञ्चालनका लागि ल्याइएका विद्युतीय बस र ट्याक्सी एक वर्षदेखि अलपत्रजस्तै अवस्थामा छन् । वातावरणमैत्री विद्युतीय बस ५ वटा र ट्याक्सी १४ वटा भित्र्याइएको वर्ष दिन पुग्न लागे पनि सञ्चालन हुन भने सकेको छैन । लामो समय थन्क्याउँदा त्यस्ता सवारी साधन बिग्रने प्राविधिकहरु बताउँछन् ।

लुम्बिनी विकास कोषका सूचना अधिकारी डा. हरिध्वज राईले ती सवारीसाधन कहिलेदेखि सञ्चालन हुन्छ भन्ने अझै टुङ्गो नभएको बताए । विद्युतीय सवारी साधनका लागि लुम्बिनीमा चार्जिङ स्टेशनसमेत तयार भइसकेको छ । तर, झण्डै एक वर्ष अघि ल्याइएका सवारी साधन सञ्चालन नभएका कारण पर्यटन व्यवसायी पनि निरास भएका छन् ।

लुम्बिनीका पर्यटन व्यवसायी गोविन्द ज्ञवालीले जतिसक्दो छिटो विद्युतीय सवारी चलाउनुपर्ने बताए । विद्युतीय सवारी साधन चलाउँदा पर्यटकहरुको रौनक नै फरक हुने भए पनि सरोकारवालाहरुले ध्यान दिन नसकेको उनको भनाइ छ ।

लुम्बिनी क्षेत्र नजिकका ठुला उद्योगले प्रदूषण रोक्न ‘डस्ट कलेक्टर’ प्रविधि जडान गरेका छन् । तर सरकारीस्तरमा विद्युतीय सवारी सधान सञ्चालन गरेर प्रदूषण घटाउने काममा भने सरकारले नै बेवास्ता गर्दै आएको जानकारहरु बताउँछन् ।

वातावरणका अध्येता युवराज कँडेलले लुम्बिनीमा धेरै नै धुँवा र धुलो पाइएको विभिन्न अध्ययनले देखाएको बताउँछन् । त्यसलाई कम गर्न पनि विद्युतीय बस सञ्चालनको योजना बनेको उनको भनाइ छ । तर उक्त योजना लामो सयमदेखि अलपत्र रहँदै आएको उनले बताए ।

लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले विद्युतीय बसहरु अझैसम्म मन्त्रालयको नाम रहेको बताए । ती बसको स्वामित्व छिटै हस्तान्तरण हुने र त्यसपछि सञ्चालनमा आउने विश्वास उनले व्यक्त गरे । उनले भने, ‘विद्युतीय बस ठेक्कामा सञ्चालन गर्ने मोडालिटी बनिसकेको छ । अब छिटै मन्त्रालयले बसको स्वामित्व हस्तान्तरण गर्ला, अनि सञ्चालन हुन्छ ।’

एशियाली विकास बैंकको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत १३ करोड लागतमा विद्युतीय बस र ट्याक्सी लुम्बिनी भित्र्याइएको थियो । ती सवारी साधनका लागि सरकारले साढे ३ करोड रुपैयाँ भन्सार शुल्क व्यहोरेको थियो  । 

यस्तो छ विद्युतीय सवारी साधन चलाउने योजना

लुम्बिनीमा सोलार र विद्युतबाट बस र ट्याक्सी चार्जिङ गर्ने गरी लुम्बिनीको गेट नम्बर १ नजिकै स्टेशन बनाइएको छ, जहाँ सोलार प्लान्ट जडान गरिएको छ । यहाँ जडान गरिएको पावर हाउसबाट १५४ किलोवाट विद्युत् उत्पादन हुन्छ । चार्जिङ स्टेशनबाट एक पटकमा १३ सवारी साधन चार्ज गर्न सकिने बताइएको छ । लुम्बिनी क्षेत्रमा सञ्चालनका लागि हाल १४ वटा साना गाडी र ५ वटा बस ल्याइएको छ । विद्युतीय बसहरु अपाङ्गमैत्री छन् । बसमा १९ जना र ट्याक्सीमा ५ जना बस्न सकिने छ ।

विमानस्थलबाट पर्यटकलाई सिधै लुम्बिनी ल्याउन तथा अन्य पर्यटकीय क्षेत्र देवदह, रामग्राम र कपिलबस्तुमा लैजान र ल्याउनका लागि ती सवारी साधन प्रयोग हुने सूचना अधिकारी डा.राईले बताए ।

सुरुमा तानातान, अहिले कसैको छैन ध्यान

सुरुमा लुम्बिनीमा आएका विद्युतीय बस भैरहवा भन्सार कार्यालयबाट लुम्बिनी नपु-याइ सिधै काठमाडौं लगिएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ कात्तिक ६ मा ललितपुरको पुल्चोकबाट बस चढी सिंहदरबार पुगेर विद्युतीय बस सेवा शुभारम्भ गरेका थिए । लुम्बिनीका लागि ल्याइएका सवारी साधन काठमाडौं लगेको भन्दै कतिपयले आलोचनासमेत गरेका थिए । ओलीले बस उद्घाटन गरेको दुई वर्षपछि लुम्बिनीमा विद्युतीय बस र ट्याक्सी ल्याइएको हो । यद्यपि ती सवारी साधन झन्डै एक वर्षदेखि लुम्बिनीमै थन्किएर बसेका छन् ।

विकास कोषले विद्युतीय सवारी कसरी सञ्चालन गर्ने भन्ने विषयमा सरोकारवालाहरुसँग पटक पटक छलफल गरेको लुम्बिनी विकास कोषका योजना प्रमुख भट्टराईले बताए । उनले नगरपालिकाले चलाउने कि प्रदेश सरकारले चलाउने भन्ने विषयमा पटक पटक छलफल भए पनि अन्ततः कोही तयार नभएपछि ठेक्का प्रकृयामार्फत निजी कम्पनीलाई चलाउन दिने मोडालिटी तयार भएको रातोपाटीलाई बताए ।

त्यसका लागि पहिला मन्त्रालयले तीन बसहरु लुम्बिनी विकास कोषको नाममा स्वामित्व हस्तान्तरण गर्नुपर्ने उनको भनाइ छ । त्यसपछि कोषले टेन्डर आह्वान गरी सवारी सञ्चालन गर्न निजी कम्पनीलाई हस्तान्तरण गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप