शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

लन्डनमा प्रधानमन्त्री देउवा, हेर्नुस् तस्वीरमा

सोमबार, १५ कात्तिक २०७८, १० : ५०
सोमबार, १५ कात्तिक २०७८

लन्डन । प्रधानमन्त्री शेरबहादुर देउवाको स्वागत तथा सम्मानमा शनिबार साँझ लन्डनमा रहेको एक ऐतिहासिक क्लब ‘नाभेल एन्ड मिलिटरी क्लब’मा गाला डिनरसहित रिसेप्सन कार्यक्रम सम्पन्न गरिएको थियो । बेलायतस्थित समाजसेवी एवम् युवा व्यवसायी रविजंग लामिछानेको संयोजन र बेलायती संसद्‌को नेपाल हेर्ने सर्वदलीय समितिको आयोजनामा भएको सो कार्यक्रममा करिब डेढ दर्जन सांसद, उद्यमी, व्यवसायीलगायत विभिन्न क्षेत्रका मेयरको पनि सहभागीता थियो ।

सत्तारुढ कञ्जरभेटिभ, विपक्षी लेबर, लिबेरल डेमोक्र्याटसहितका प्रमुख दलबाट बेलायतको दुवै सदनमा प्रतिनिधित्व गर्ने सांसद लगायत भारत र पाकिस्तानका राष्ट्रपतिका सल्लाहकारहरुलाई समेत लामिछानेले कार्यक्रममा सहभागी गराएका थिए । कार्यक्रममा प्रधानमन्त्रीको भ्रमण टोली र नेपाली  दूतावास लन्डनकी कार्यवाहक राजदूत रोशन खनाललगायत दूतावासका सदस्यबाहेक कुनैपनि नेपालीहरुलाई आमन्त्रित गरिएको थिएन।

नेपालका प्रधानमन्त्रीका लागि बेलायतमा  व्यक्तिगत पहलमा यत्तिका संख्यामा सांसद्, मेयर, उद्यमी, व्यवसायी तथा अन्य विशिष्ट विदेशी व्यक्तिलाई उपस्थित गराई आयोजना गरिएको स्वागत सम्मान कार्यक्रम सम्भवत अहिलेसम्मकै उत्कृष्ट हो। एकजना सांसदले लामिछानेलाई राजदूतको भूमिका निर्वाह गरेको भन्दै धन्यबाद समेत दिए ।  भारतीय मूलका चर्चित बेलायती उद्यमी गोपी हिन्दूजासहित बेलायतका कयौं प्रतिष्ठित व्यापारी, व्यवसायी पनि कार्यक्रममा सहभागी थिए ।

प्रधानमन्त्री देउवा लगायतका अतिथिहरूलाई संयोजक लामिछाने तथा बेलायतका लागि नेपाल पर्यटन दूत  तथा एक सफल व्यवसायी एवम् समाजसेवी महन्त श्रेष्ठले स्वागत तथा परिचयात्मक कार्यक्रम गरेका थिए ।

स्कटल्यान्डमा हुने जलवायु परिवर्तनसम्बन्धि सम्मेलन ’कोप २६’ भाग लिने शिलशिलामा देउवा शुक्रबार साँझ लन्डन आइपुगेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपाल र बेलायतबीचको मैत्रीपूर्ण सम्बन्धलाई प्रगाढ र सुमधुर राख्न बेलायती संसद् र सांसदहरुको भूमिकाको प्रशंसा गरे ।

नेपालमा आइपर्ने अप्ठेरो परिस्थितिमा बेलायतको भूमिका अग्रस्थानमा रहेको पनि उनले प्रष्ट पारे । ‘पछिल्लो समयमा भुकम्पदेखि कोभिड महामारीमा गरिएको बेलायत सरकारको भूमिका अविस्मरणीय रहेको भन्दै तपाईं सांसद मार्फत बेलायत सरकारसमक्ष विशेष धन्यवाद दिन चाहन्छु’ देउवाले भने । बेलायतसँगको सम्बन्ध धेरै पुरानो रहेको भन्दै निरन्तर सहयोग र सहकार्य आवश्यक रहेको बताए ।

बेलायती संसदको नेपाल हेर्ने सर्वदलीय समितिका अध्यक्षसमेत रहेका सांसद वीरेन्द्र शर्माले नेपालसँगको मित्रता बेलायतका लागि विशेष महत्वको रहेको बताए । बेलायतमा नेपाली प्रधानमन्त्रीलाई स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्दै उनले नेपालसँगको सहकार्य थप निकट बनाउन बेलायत प्रतिबद्ध रहेको सुनाए । बेलायत र नेपालबीच  दुई सय वर्ष भन्दा लामो सम्बन्ध रहेको स्पष्ट पार्दै शर्माले गोर्खालीको योगदानको पनि स्मरण गरेका थिए ।

कार्यक्रममा बेलायतको विपक्षी छायाँ सरकारमा मन्त्रीसमेत रहेकी लेबर पार्टीकी सांसद क्याथरिन वेष्ट, पूर्वमन्त्री एवम् लर्ड मार्क लांकास्टर, लर्ड शेख लगायतले मन्तव्य राख्दै प्रधानमन्त्रीलाई बेलायतमा स्वागत गरेका थिए । प्रधानमन्त्रीलाई स्वागत गर्ने अवसर जुटाउने बेलायतस्थित नेपाली समाजसेवी व्यवसायी लामिछानेप्रति उनीहरुले आभार प्रकट गरे ।

प्रधानमन्त्री देउवाको सम्मानमा गरिएको उक्त कार्यक्रम आफूले देशको इज्जत र मान प्रतिष्ठालाई उच्च राख्नकै लागि  आयोजना गरेको संयोजक लामिछानेले रातोपाटीलाई बताए । आफ्नो देशको प्रधानमन्त्री बेलायत आउँदा यहाँका सांसद, राजनीतिक दलका प्रतिनिधि, व्यापारीसहितका प्रतिष्ठित व्याक्तिसमक्ष उपस्थित गराउन पाउँदा आफूलाई गौरव लागेको उनले बताए । 

’कोप २६’ भाग लिने शिलशिलामा बेलायत आएका प्रधानमन्त्रीको स्वागतमा आयोजना गरिएको यस कार्यक्रमले बेलायत नेपालबीचको सम्बन्ध थप मजबुत बन्न सफल हुने लामिछानेको धारणा छ । 

उनीहरुसँग  आफू निकट रहँदै आएको र उनीहरुले नेपाल र नेपालीप्रति गर्ने सम्मान अत्यन्त सौहार्द्रपूर्ण रहेको उनको बुझाइ छ  कार्यक्रममा प्रधानमन्त्री देउवालाई बेलायती पार्लियामेन्टको लोगो अंकित मायाको चिनो उपहार प्रदान गरिएको थियो भने देउवाले पनि सांसद वीरेन्द्र शर्मा तथा लर्ड शेखलाई उपहार प्रदान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप