माओवादी केन्द्रको प्रदेश १ अधिवेशन : नीति प्रधान अधिवेशनमा माओवादीको जोड , प्रतिनिधिलाई समर्थकको घरमा राखिने
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले प्रदेश १ को पहिलो अधिवेशन यही मंसिरको २५ र २६ गते मोरङको सुन्दरहरैँचास्थित विराटचोकमा गर्ने भएको छ । विराटनगरमा प्रदेश अधिवेशनबारे विहीबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश १ माओवादी केन्द्रका इन्चार्ज राम कार्कीले अधिवेशनमा सहभागी हुन १ हजार १ सय बढी प्रतिनिधिलाई कार्यकर्ता, समर्थकको सहभागिता रहने बताए । इन्चार्ज कार्कीका अनुसार उनीहरुलाई होटलमा नभई आफन्तहरुको घरमा राखिने छ । कार्कीले भने, ‘पार्टीले दुई छाक सादा खानाको व्यवस्था गरेको छ, चिया विस्कुट खुवाउँछ र कार्यकर्ता, समर्थक तथा आफन्तको घरमा राख्ने व्यवस्था गरेको छ ।’
‘हामी ठूल्ठूला गेट, लाखौंको मञ्च बनाएर, करोडौं खर्च गरेर, मानिस भेला पारेर देखावटी अधिवेशन र सम्मेलन गर्दैनौं,’ इन्चार्ज कार्कीले भने, ‘शरीर भएर मात्रै हुँदैन, मुटु–कलेजो पनि चाहिन्छ । त्यसैले विचार निर्माणमा जोड दिने गरी अधिवेशनलाई केन्द्रीत गरेका छौं ।’
गणतन्त्र, संघीयता र समावेशी लोकतन्त्र स्थापनामा माओवादीले नेतृत्वदायी भूमिका खेलेको भन्दै कार्कीले आगामी दिनमा प्रत्येक नेपालीको घर, गाउँ र समुदायमा गणतन्त्र, संघीयता र समावेशी लोकतन्त्रको अनुभूति दिने कार्यदिशा तय गर्ने गरी अधिवेशन केन्द्रीत हुने बताए । उनले अधिवेशन नीतिप्रधान हुने जनाए ।
सबै प्रदेशको अधिवेशन एकै पटक हुने भएको छ । त्यसैले, संयुक्त रुपमा भर्चुअल माध्यमबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने जानकारी नेकपा माओवादी केन्द्रका प्रदेश सचिव हेमराज भण्डारीले दिए ।
प्रदेश अधिवेशनबाट पार्टीको विधानअनुसार ९ जना पदाधिकारी चयन हुनेछन् । जसमा अध्यक्ष १, उपाध्यक्ष महिलासहित ३, सचिव १, सहसचिव ३ र कोषाध्यक्षसहितको प्रदेश समिति बन्नेछ ।
पार्टी विधानअनुसार अधिवेशनपछिको नेतृत्व पूर्ण समावेशी र अधिकारसम्पन्न बनाउन नेतृत्वमा ३५ प्रतिशत महिला, प्रदेशमा रहेको जनसंख्याको अनुपातमा थप २ प्रतिशत दलित, ५ प्रतिशत मुस्लिम र २० प्रतिशत युवाहरूको सहभागिता सुनिश्चित गरिने नेकपा माओवादी केन्द्रले जनाएको छ । अधिवेशनबाट २५९ सदस्यीय समिति निर्माण हुने जनाइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण