बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

प्रदेश १ : राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत, नेतृत्वका लागि रस्साकस्सी

शनिबार, २५ मङ्सिर २०७८, १७ : ४९
शनिबार, २५ मङ्सिर २०७८

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को प्रदेश १ को प्रथम अधिवेशन मोरङ विराटचोकमा सुरू भएको छ । प्रदेशभरिका १४ जिल्लाका १२ सय बढी प्रतिनिधि अधिवेशनमा सहभागी छन् । माओवादीले देशभरका ७ वटा भूगोल प्रदेश समिति र २ वटा एशोसिएट प्रदेश समितिको अधिवेशन आज एकै दिन गर्न लागेको हो । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ भने आगामी कार्यदिशाबारे बहस गर्दै निष्कर्ष निकाल्ने सो पार्टीले जनाएको छ ।

दुई दिनसम्म चल्ने अधिवेशनको पहिलो  दिनको उद्घाटन सत्रमा  प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री एव केन्द्रीय सदस्य इन्द्र आङ्म्बोले प्रदेश १ को अर्थ–राजनैतिक अवस्था र हाम्रो दायित्व समेटेको प्रतिवेदन प्रस्तुत गरेका छन् भने प्रदेश अध्यक्ष हिमाल राईले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका छन् । यी दुवै प्रतिवेदनमाथि बन्द सत्रमा १४ औ जिल्लाबाट आएका प्रतिनिधिबीच १४ वटा समूह बनाएर छलफल पश्चात् प्रतिवेदन पास गरिने माओवादी केन्द्र प्रदेश १ का इन्चार्ज राम कार्कीले बताए ।

प्रदेश १ माओवादीको अध्यक्षका लागि वर्तमान अध्यक्ष सुरेशकुमार राई हिमाल, सचिव हेमराज भण्डारी र प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो आकाङ्क्षी रहेका छन् । तिनै जनाले नयाँ नेतृत्वमा दाबी गरेका छन् । विशेष गरी स्थानीय तहको टिकट वितरणमा प्रदेश समितिको महत्त्वपूर्ण भूमिका हुने भएकोले प्रदेश कमिटीमा नेतृत्व गर्न नेताहरूको आकांक्षा बढेको हो ।

उनीहरू पार्टीभित्र आ–आफ्नो लबिङमा केन्द्रित छन् । पार्टीहरूले आफ्ना प्रदेश समितिलाई पनि ‘पावर सेयरिङ’ गरेका कारण नेताहरू प्रदेशमा रहनका लागि तँछाडमछाडमा छन् । प्रदेश अधिवेशनबाट पार्टीको विधान अनुसार ९ जना पदाधिकारी चयन हुनेछ । जसमा अध्यक्ष १, उपाध्यक्ष महिलासहित ३, सचिव १, सहसचिव ३ र कोषाध्यक्षसहितको प्रदेश समिति निर्वाचित हुनेछन् ।

पार्टी विधान अनुसार अधिवेशनपछिको नेतृत्व पूर्ण समावेशी र अधिकार सम्पन्न बनाउन नेतृत्वमा ३५ प्रतिशत महिला, प्रदेशमा रहेको जनसङ्ख्याको अनुपातमा थप २ प्रतिशत दलित, ५ प्रतिशत मुस्लिम र २० प्रतिशत युवाहरूको सहभागिता सुनिश्चित गरिने नेकपा माओवादी केन्द्रले जनाएको छ ।प्रदेश १ समिति २५९ सदस्यीय हुनेछ भने उक्त समितिले पदाधिकारी चयन गर्नेछ । सातै वटा प्रदेश अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भर्चुअल माध्यमबाट गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप