मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
कर्मचारी

भर्खर लोक सेवा उत्तीर्ण अधिकृतलाई गन्दैनन् पालिका प्रमुख

मन्त्रालयमा फिर्ता आउने क्रम बढ्दै
सोमबार, १७ वैशाख २०८१, ०६ : ५४
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । लोक सेवा उत्तीर्ण गरेर भर्खरै अधिकृत बनेका हुन् अमित कुमार साह । सिभिल इन्जिनियरिङ अध्ययन गरेका उनलाई स्थानीय तहमा गएर काम गर्न मन थियो । मन्त्रालयले काम गर्न चाहेको निकाय रोज्न लगाउँदा उनले स्थानीय तह रोजेका थिए ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निमित्त प्रमुख प्रशासकीयको भरमा चलिरहेको सर्लाहीको रामनगर गाउँपालिकामा उनलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठायो ।

कार्यालयमा पदस्थापनको पत्र पाएपछि उनले गाउँपालिकामा फोन गरेर आफू आउन लागेको जानकारी गराउँदा गाउँपालिका अध्यक्षले साहलाई आउन आग्रह गरे । गत वैशाख १२ गते रामनगर गाउँपालिकामा पुगेपछि भने उनलाई हाजिर गर्न दिइएन ।

गाउँपालिका अध्यक्ष राजाबाबु साहले कहिले वडा अध्यक्षहरूसँग सल्लाह गरेर मात्र निर्णय गर्छु भन्ने, कहिले साउनसम्म पर्खनुस् भनेर अल्झाउन थाले । कार्यालयमा काम गर्न नदिने भएपछि उनी सङ्घीय मामिला मन्त्रालय फर्किएर अर्को निकायमा पदस्थापन गर्न निवेदन दिएका छन् ।

साहजस्तै भर्खर लोकसेवा उत्तीर्ण गरेका अन्य नयाँ अधिकृतहरूलाई पनि पालिकाका मेयर तथा अध्यक्षहरूले फिर्ता पठाउने क्रम बढिरहेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निमित्तको भरमा चलेको मकवानपुरगढी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका लागि पवन कुमार केशरीलाई पठाएको थियो तर त्यहाँबाट हाजिर गर्न नदिई फिर्ता पठाइएको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा पठाइएका विवेक परियारलाई हाजिर गर्न नदिई फिर्ता पठाइएको छ ।

मन्त्रालयले भर्खर लोक सेवा पास भएका ३० जना अधिकृतलाई निमित्तको भरमा चलेका स्थानीय तहमा पदस्थापनका लागि पठाए पनि १४ जनालाई हाजिर गर्न नदिएपछि उनीहरू मन्त्रालय फर्किएका छन् ।

यता सर्लाहीको विष्णुपुर गाउँपालिकाले सन्तोष रायलाई, सल्यानको कुमाखको गाउँपालिकाले समीर गौतम, सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले सरोजकुमार कर्णलाई हाजिर गर्न नदिई फिर्ता पठाएको छ ।

यसरी गाउँपालिकाले फिर्ता पठाएका अधिकृतहरूले स्थानीय तह बाहेकका अन्य निकायमा पदस्थापन गरिदिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिएका छन् ।

मन्त्रालयले भर्खर लोक सेवा पास भएका ३० जना अधिकृतलाई निमित्तको भरमा चलेका स्थानीय तहमा पदस्थापनका लागि पठाए पनि १४ जनालाई हाजिर गर्न नदिएपछि उनीहरू मन्त्रालय फर्किएका छन् ।

मन्त्रालयले ८२ जना नयाँ अधिकृतमध्ये ३० जना अधिकृतलाई विभिन्न गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको थियो । नयाँ ब्याचका अधिकृतहरूसँग अनुभव नहुने तथा आफूले भने जसरी काम गराउन नसक्ने भन्दै गाउँपालिकामा हाजिर नगराउने प्रवृत्ति बढेको मन्त्रालयका कर्मचारीहरू बताउँछन् ।

नयाँ पनि सक्षम छन्, आर्थिक वर्ष सकिन लागेको भएर फोर्स गरेका छैनौँ : प्रवक्ता महतो

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता रामकुमार महतोले भर्खर लोक सेवा पास गरेका अधिकृत पनि सक्षम रहेको बताए । उनीहरूले विभिन्न तालिम पनि लिएको हुनाले काम गर्न नसक्ने भन्ने कुरा नभएको महतोको भनाइ छ ।

उनले भने, ‘काम गर्न किन गाह्रो छैन भने उहाँहरूले नेपाल सरकारको अधिकृत पास गर्नुभएको छ । विषयसँग सम्बन्धित, स्थानीय तहलाई फोकस गरेर तालिम र प्रशिक्षण पनि दिइएको छ । धेरैजसो अन्य सेवामा काम गरेर अधिकृत पास भएका पनि हुनुहुन्छ । नयाँ नै भए पनि धेरै कुराको प्रशिक्षण दिएकाले गाह्रो नै हुन्छ भन्ने हुँदैन ।’

आर्थिक वर्षको अन्तिम त्रैमासिक भएकाले योजना कार्यान्वयन गर्ने बेला रहेको, आगामी वर्षका लागि बजेट बनाउने, नयाँ सभा गर्ने, पारित गराउने बेला भएकाले नयाँ मान्छे आउँदा काम अवरुद्ध हुने हो कि भनेर मेयर तथा अध्यक्षहरूले चिन्ता गरेको हुनसक्ने महतोले बताए ।

नयाँ पासआउट अधिकृतहरूलाई मन्त्रालयले स्थानीय तह, गृह र भूमिसुधार मन्त्रालयका निकाय रोज्न भनेको थियो । ८० जना मध्ये ३० अधिकृतले स्थानीय तह रोजेका थिए ।

आर्थिक वर्षको अन्तिम समय भएकाले पठाइएका कर्मचारीलाई पदस्थापन गर्न मन्त्रालयले पनि जोड नगरेको र हाल सरुवाको काम पनि कम गरेको बताए । अत्यावश्यक भएको ठाउँमा मात्र पदस्थापन र सरुवा गरिएको उनको भनाइ छ ।

२९ पालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाएकोमा १४ पालिकामा समस्या भएको महतोले जानकारी दिए । गाउँपालिकाले फिर्ता पठाएका अधिकृतलाई कहाँ पदस्थापन गर्ने भन्ने बारेमा मन्त्रालयले आवश्यक निर्णय गर्ने उनले बताए ।

गृह मन्त्रालयले धेरै कर्मचारी मागेको र मागे जति कर्मचारी पठाउन नसकेकाले स्थानीय तहले फिर्ता पठाएका कर्मचारी गृह मन्त्रालय मातहतका कार्यालयमा पदस्थापन हुने सम्भावना छ । 

नयाँ पासआउट अधिकृतहरूलाई मन्त्रालयले स्थानीय तह, गृह र भूमिसुधार मन्त्रालयका निकाय रोज्न भनेको थियो । ८० जना मध्ये ३० अधिकृतले स्थानीय तह रोजेका थिए । मन्त्रालयले आगामी दिनमा नगरपालिकाका मेयर र गाउँपालिका अध्यक्षसँग समन्वय गरेर कर्मचारी पठाउने प्रवक्ता महतोले जानकारी दिए ।

मन्त्रालयका अनुसार देशभरका ७५३ पालिकामध्ये २२९ पालिकामा प्रमुख प्रशासकीय अधिकृत पद रिक्त छन्, जहाँ निमित्तको भरमा काम चलाइरहेका छन् । १२२ नगरपालिका, ९७ गाउँपालिका र ९ वटा उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पद रिक्त छ । ११ उपमहानगरपालिकामा सहसचिव तहको कर्मचारी पठाउनुपर्ने भए पनि ९ वटा उपसचिव तहका कर्मचारीले निमित्तको भूमिकाका काम गरिरहेका छन् भने २ वटामा मात्र सहसचिव तहका कर्मचारी छन् ।

  • प्रमुख प्रशासकीय अधिकृत खोज्दै मन्त्रालयमा मेयर

आइतबार बाराको जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल प्रमुख प्रशासकीय अधिकृत खोज्दै सिंहदरबार आइपुगेका थिए । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा उनले एक जना महिला उपसचिवसँग कुरा गरे ।

हाल जिम्मेवारीविहीन रहेकी ती कर्मचारीलाई उनले आफ्नो उपमहानगरपालिकामा जान आग्रह गरे । पौडेलले आफ्नो पालिकामा हाल निमित्त प्रमुख प्रशासकीय अधिकृतले काम गरिरहेको बताए ।

मेयर पौडेलजस्तै अन्य केही पालिकाबाट पनि मेयर तथा अध्यक्ष प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थाको माग लिएर आउने गरेका छन् । पठाएका कर्मचारी फिर्ता पठाउने र आफू अनुकूलको प्रमुख प्रशासकीय अधिकृत खोज्ने स्थानीय पालिका प्रमुखहरूको प्रवृत्तिका कारण समस्या भइरहेको मन्त्रालयका कर्मचारीहरू बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप