सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा छैन : स्वास्थ्यमन्त्री खतिवडा

बिहीबार, २९ पुस २०७८, १६ : ३९
बिहीबार, २९ पुस २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् । बिहीवार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन गरेपनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताएका हुन् । उनले यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको भन्दै अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार नजाने बताए । मन्त्री खतिवडाले सरकार स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकोले लकडाउन हुन्छ भनेर आत्तिनुनपर्ने बताए ।

मन्त्री खतिवडाले भने, ‘शुरूका बेलामा आतंक बढी भएको हुनाले एक, दुईवटा सामान्य लक्षण देख्दा पनि यसको उपचार लकडाउन भनेर गर्यौं । जति जानेको थियो त्यति ग¥यौं । विश्वमा, युरोपेली देशहरुमा लकडाउन भनेको सुन्यौँ, यो नयाँ कुरा भयो, त्यसैअनुसार ग¥यौं । हामी पनि आतंकित भयौँ । गर्नुपर्ने बेलामा गरेनौँ, अघि पछि गर्यौ । त्यसले केही मृत्युदर घटायो होला भन्ने अनुमान गर्न सकिन्छ । तर त्यसले परेको शैक्षिक क्षेत्रको असर, औद्योगिक, राजश्व, सामाजिक क्षेत्रका अनेक कामहरूलाई पुगेको क्षति, नदेखिने यो क्षति मृत्युभन्दा पनि भयावह ढंगले भयो । त्यसैले अब हामी आत्तिएर, मात्तिएर लकडाउन नै समाधान हो भन्ने पक्षमा छैनौँ । आवश्यक्ता हेरेर खास ठाउँमा त्यो विचार पुर्याएर हामी लकडाउन गर्नेछौँ । सजिलैसँग लकडाउनमा जाँदैनौं । आवश्यकताअनुसार ठाउँ विशेष गर्न सक्छौँ । त्यसैले तत्काल लकडाउनको विषयमा आतंकित हुनुपर्दैन ।’ 

मन्त्री खतिवडाले भने, ‘रोगब्याधीको विषयमा पनि हामीले सकेसम्म नलागोस् लागे पनि हामीले सबै ठाउँमा आइसोलेशन वार्डहरु, आईसीयू, अक्सिजन, पहिलो भेरियन्टको बेला भन्दा दुई तीन गुणामाथि इक्युपमेण्ट र टेण्ट भएका छौँ । नागरिकलाई असजिलो पर्दा सरकार तयारीका साथ बसेको छ । स्वास्थ्यकर्मीहरु हामीले तयारीका साथ राखेका छौँ ।’

मन्त्री खतिवडाले कोरोनाको तेस्रो भेरियन्टबाट बच्न होसियार रहनुपर्ने भन्दै मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न आग्रह गरे । उनले कोरोनाको पहिलो र दोस्रो डोज लगाएर सुरक्षित बस्न पनि आग्रह गरे । मन्त्री खतिवडाले विज्ञहरुले बुस्टर डोज लगाएपछि तेस्रो भेरियन्टबाट बच्न सहज हुने बताएकोले आउँदो माघ पहिलो हप्ताबाट अग्रपंक्तिमा रहेर काम गर्नेहरुलाई बुस्टर डोजको व्यवस्था गरिएको जानकारी दिए । उनले माघको दोस्रो हप्तामा ६० वर्ष माथिको उमेर समूहका नागरिक र तेस्रो वा चौथो हप्ताबाट आम नागरिकहरुलाई कोरोना बिरुद्धको बुस्टर डोज उपलब्ध गराउने बताए ।

मन्त्री खतिवडाले भने, ‘स्वास्थ्य मापदण्ड अपनाउने भनेर जुन कोरोनाको बेला विभिन्न ढंगले प्रचार गरेका थियौँ । अहिले पनि त्यसलाई हामीले लापरवाही नगरी होशियार हुनुपर्छ । त्यो भनेको मास्क लगाउने, स्यानिटाइजर गर्ने, दूरी कायम गर्ने, अनावश्यक भेटघाट नगर्ने, त्यसलाई सम्पूर्ण नागरिकहरुले पालना गर्नुपर्छ । पहिलो र दोस्रो डोज खोप लगाइदिनुहोस् । सरकारले निःशुल्क रुपमा विभिन्न स्थानबाट सहज हुनेगरी दिइरहेको छ, त्यो लगाए तेस्रो भेरियन्टबाट बच्न सकिन्छ । जिल्लासँग गाँसिएका अस्पताल, स्वास्थ्यकेन्द्रमा यो पाइन्छ । तेस्रो कुरा ओमिक्रोन भाइरस आएको छ, त्यसको लागि नेपाल सरकारले तेस्रो डोज आवश्यक पर्छ भनेको छ, त्यसलाई बुस्टर भनेर हल्ला गरिएको छ, त्यो दिन हामी तयार छौँ र हामी माघ पहिलो हप्ताबाट फ्रन्ट लाइनर्सहरुलाई दिन शुरु गर्छौं । स्वास्थ्यकर्मी, पत्रकार, सुरक्षा निकायका कर्मचारी, निजामति कर्मचारीलाई दिनेछौँ ।’ 

उनले थप भने, ‘त्यसपछि दोस्रोमा ६० वर्ष माथिकोलाई दोस्रो हप्तामा शुरु गर्दैछौँ । त्यसपछिको तेस्रो चौथो हप्ताबाट पहिलो, दोस्रो डोज लगाएको जसरी नै आम रुपमा लगाउने छौँ । कोही पनि नआत्तिन, नहत्तारिन, ब्ल्याक सोर्स, फोर्स लगाएर अनावश्यक रुपबाट तनावमा नबस्न आग्रह गर्छु, १८ वर्षमाथिको भ्याक्सिनको उत्पादन भएको थियो, हामीले दिएका छौँ । त्यसपछि अहिले ११ देखि १७ समूहको भ्याक्सिन उत्पादन भयो भनेर डब्ल्यूएचओले मान्यता दियो हामीले त्यो ल्याएर पुस ४ गतेबाट दिन थाल्यौँ । स्वास्थ्यकेन्द्र जान असजिलो होला भनेर विद्यालयलाई नै केन्द्र बनायौँ । विद्यालयलाई केन्द्र बनाउनुको कारण विद्यालयका विद्यार्थी मात्रै होइन, आसपासका त्यो उमेर समूहलाई पनि हो । ११ देखि १८ उमेर समूहको भ्याक्सिन सहजै पाउनु हुन्छ । हामीले ८४ लाख खोप यो उमेर समूहलाई ल्याएका छौँ । खोप लगाउन भीड गर्नै पर्दैन सबै अस्पतालमा छ जान सक्नुहुन्छ ।’

मन्त्री खतिवडाले स्वास्थ्यकेन्द्र जानका लागि सहज बनाउन सरकारले विद्यालयलाई नै खोप केन्द्र बनाएको उल्लेख गर्दै नजिकको खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरे । कोरोना खोप लगाउन अस्पतालमा भीड भइरहेको प्रशंगमा मन्त्री खतिवडाले विभिन्न अस्पताललाई खोप केन्द्र बनाइएको र अझै थप गरेर भीड हुन नदिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप