शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बुटवल उपमहानगरपालिको नवनिर्मित भवनमा ट्रक नछिरेको तस्बिर भाइरल, वास्तविकता के हो ?

बिहीबार, ०६ माघ २०७८, १७ : ३५
बिहीबार, ०६ माघ २०७८

रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रशासकीय भवनमा ट्रक नछिरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।  ५४ करोडको लागतमा हालै निर्माण सम्पन्न भएको भवनमा ट्रक छिरेन भन्दै फेसवुकमा तस्बिर राखिएको छ । उक्त तस्बिरमा ट्रकको माथिल्लो भाग ढलानमा छोएर चालक अलमलमा परेकोजस्तै देखिन्छ ।

पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले भर्चुअल विधिबाट बुधबारमात्रै उक्त भवनको उद्घाटन गरेका थिए । नवनिर्मित सो भवनमा ट्रक छिरेन भन्ने सन्देश सहित फेसवुकमा तस्बिर भाइरल भएपछि यस विषयमा धेरैको ध्यान केन्द्रित भएको छ ।

बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत  विरेन्द्रदेव भारतीले नवनिर्मित भवनमा साम्रगीहरु सार्न बाँकी रहेको जानकारी दिए । उक्त भवनभित्र ट्रक नछिरेको भन्ने विषयमा आफूलाई प्रस्ट जानकारी नभए पनि निर्माणका क्रममा ल्याइएका सामग्रीहरु ट्रकबाटै ओसारिएको र सजिलै ट्रक प्रवेश गरेको बताए ।

उनले भने, ‘चालकले ध्यान नदिएर पनि हुनसक्छ, नत्र ट्रक नछिर्ने भन्ने कसरी हुन्छ ? त्यत्रो निर्माणका सामग्रीहरु ट्रकमै भित्र छिराइएका हुन् ।’

चार तलाको अत्याधुनिक उक्त भवनको अनुमानित निर्माण लागत ५४ करोड ७८ लाख ४५ हजार ३८१ थियो । निर्माण कम्पनी विकोही, शिवशक्ति, बन्दन भगवती जेभी न्यू बानेश्वरले ४३ करोड ५३ लाख ४९ हजार ५७२ रुपैयाँ ८४ पैसामा २०७८ असारमा सक्ने गरी गत २०७७ असार ६ गते ठेक्का सम्झौता गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप