सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

झा दम्पती हत्या प्रकरण : प्रहरीको अनुसन्धानमाथि प्रश्न

मङ्गलबार, २५ माघ २०७८, ०८ : ५५
मङ्गलबार, २५ माघ २०७८

महोत्तरीको पिपरा गाउँपालिकामा गत वर्ष भएको झा दम्पतीको हत्यामा संलग्न रहेको आरोपमा पुर्पक्षमा पठाइएका ३ जनालाई उच्च अदालत जनकपुरले धरौटीमा छाड्न आदेश दिएको छ । गत महिना पुस ४ मा न्यायाधीशहरू शकुन्तला घिमिरे र रमेश ढकालको संयुक्त इजलासले हत्यामा संलग्न रहेको आरोपमा पुर्पक्षमा रहेका बबलु झालाई २ लाख रुपैयाँ तथा सुरेन्द्र यादव र राजेन्द्र यादव लाई जनही पाँच लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो । अभियुक्त सुरेन्द्र र राजेन्द्र दुवै दाजुभाइ हुन् ।

यसअघि महोत्तरी जिल्ला अदालतले अभियुक्त तारा देवीलाई २ लाख रुपैयाँ तथा मृतक दम्पतीकी जेठी बुहारी अंशु झालाई ५० हजार रुपैयाँ धरौटीमा छोडिसकेको छ । झा दम्पतीको हत्या गर्ने, शव लुकाउने र थप योजनामा संलग्न रहेको आरोपमा महोत्तरी जिल्ला अदालतकै निर्णयलाई सदर गर्दै उच्च अदालत जनकपुरले पिपरा गाउँपालिका वडा नम्बर ५ बस्ने कैलाश झा, ५२ वर्षीय रामबाबु यादव र भारत बिहारको मधुवनीका ५० वर्षीय हरेन्द्र ठाकुरलाई पुर्पक्षका लागि थुनामा राखेर मुद्दा चलाउन आदेश दिएको थियो ।

महोत्तरी जिल्ला अदालत र उच्च अदालत जनकपुरको आदेशपछि झा दम्पतीको हत्यामा संलग्न रहेको आरोपमा थुनामा रहेका भारत मधुवनीका हरेन्द्र ठाकुरको परिवारले निर्दोषलाई फसाउनका लागि हत्यामा संलग्नहरूलाई उन्मुक्ति दिन खोजिएको आरोप लगाएका छन् । हरेन्द्रका छोरा केशव ठाकुरले प्रहरीले जानिबुझी हत्यामा संलग्न रहेकाहरूलाई बचाउनका लागि अनुसन्धानलाई नै कमजोर पारेको आरोप लगाए ।

अदालतमा दिइएको बयानमा मुख्य योजनाकार भनिएका कैलाश झाकै बयानलाई आधार मान्ने हो भने उनले योजनामा संलग्न रहेकाहरूको दिएका नामहरूमध्ये हरेन्द्रलाई मात्रै पुर्पक्षमा पठाएर बाँकीलाई धरौटीमा छोड्नुले प्रश्न खडा भएको अधिवक्ता देवेन्द्र ठाकुर निरालाको दाबी रहेको छ ।

गत वर्ष फागुन १० मा घरबाट पिपरा गाउँपालिका वडा नम्बर ५ स्थित सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीतादेवी झाको अपहरण गरी हत्या गरिएको थियो । हत्या गरिएको महिना दिनपछि २०७७ चैत १२ मा पिपरा गाउँपालिका वडा नम्बर २ स्थित अतरारमा पुरिएको अवस्थामा शव फेला पारिएको थियो ।

 


झा दम्पतीको हत्यामा संलग्न रहेको आरोपमा त्यतिबेला ८ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो । जसमध्ये ५ जनालाई धरौटीमा छाडिसकेका छन् भने अन्य ३ जनालाई पुर्पक्षका लागि थुनामै राखेर मुद्दा अघि बढाउन भनिएको छ ।

झा दम्पतीलाई गत वर्ष फागुन १० को राति बेपत्ता पारिएको थियो । बेपत्ता पारिएका दम्पतीको न श्वास र लास नै फेला पर्‍यो । उनीहरूको शव महिना दिनपछि प्रहरीले फेला पर्‍यो ।

सो घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय महोत्तरी, प्रदेश प्रहरी कार्यालय र सीआइबीको टोलीले समेत छुट्टाछुट्टै अनुसन्धान गरिरहेको थियो । सीआइबीको टोलीले अनुसन्धान सुरु गरेपछि मात्रै गत वर्ष चैत १२ मा प्रहरीले झा दम्पतीको शव जमिन मुनि गाडिएको अवस्थामा फेला पार्न सफल भएको थियो ।

महोत्तरी प्रहरीले झा दम्पतीको शव फेला पार्नु अघि गत वर्ष चैत ५ मा सहोडवाका ५२ वर्षीय रामबाबु यादव, उनका जेठो छोरा २६ वर्षीय सुरेन्द्र यादव, कान्छो छोरा २४ वर्षीय राजेन्द्र यादव र पिपरा गाउँपालिका वडा नम्बर ६ स्थित बनौली चोकका भारतीय नागरिक ५० वर्षीय हरेन्द्र ठाकुरलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो । शव भेटिएको ३ दिनपछि सहोडवाकै तारादेवी झा र उनको छोराहरू कैलाश झा र विकास झालाई पक्राउ गरेको थियो ।

प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा ७ जनालाई पक्राउ गरे पनि हत्यामा संलग्न रहेकाहरूको पहिचान गर्न सकेनन् । पछि प्रहरीको अनुसन्धानले भारतीय नागरिक हरेन्द्र जग्गाकै लागि मुसाफिर झा र गीता देवी झाको हत्या गराएको हुनसक्ने भन्दै पक्राउ गरेर अनुसन्धान अघि बढाइयो ।

तर अभियुक्त हरेन्द्रका परिवारले प्रहरीको अनुसन्धानमाथि नै प्रश्न उठाएका छन् । जग्गाकै कारण आफ्नो बुवाले बृद्ध दम्पती गराएको प्रहरीको दाबीमा कुनै आधार नरहेको केशवको दाबी छ ।

उनले भने, ‘मुसाफिरको १४ कट्ठा जग्गा पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवाको कित्ता नम्बर  ४१८मा रहेको छ । सोही ठाउँमा कित्ता नम्बर ३८१, ३८२, ६६८, ७४९, ७५०, ७७९, ७८०, ७२३, ७९८, ८२१, ८२२, ९०१ र ९०२ को जग्गा मिलाएर एउटै प्लटमा २ बिघामा फैलिएको पोखरी छ ।’ यससाथै हरेन्द्रले त्यहीँ १८ विघामा प्लटिङ समेत गरेका छन् । प्लटिङमा माटो पुर्ने काम सोही पोखरीबाट माटो ल्याएर गर्दै आएका थिए ।

प्रहरीका अनुसार सो प्लटिङबाट पोखरीसम्म पुग्नका लागि बाटो बनाउने आवश्यकता हरेन्द्रको रहेको जिकिर गरेको छ । जसका लागि मुसाफिरलाई जग्गा बेच्न दबाब दिएको र जग्गा बेच्न नमानेपछि उनको हत्या हरेन्द्रले गर्न लगाएको प्रहरीको दाबी रहेको छ ।

तर प्रहरीको दाबीमाथि प्रश्न उठाउँदै हरेन्द्रका छोरा केशवले भने, ‘मुसाफिर झाको जग्गा पोखरीभन्दा उत्तर तर्फ कित्ता नम्बर ९५को विद्यालयको जग्गा, कित्ता नम्बर ९६को चन्देश्वर ठाकुर र कित्ता नम्बर ५५८ को फेकु मुखियाको जग्गापछि मात्रै मुसाफिरको जग्गा छ, मुसाफिरभन्दा पहिले यी दुईको जग्गा लिनु पर्ने हुन्छ ।’

प्रहरीले हरेन्द्रलाई महोत्तरी सदरमुकाम जलेश्वरबाट पक्राउ गरेका दाबी गरे पनि उनलाई भने प्रहरीले काठमाडौँबाटै पक्राउ गरेको उनको परिवारको दाबी छ ।

अभियुक्त हरेन्द्रको मुद्दा हेरिरहेका अधिवक्ता देवेन्द्र ठाकुर निरालाले प्रहरीले अनुसन्धानलाई फितलो बनाएको आरोप लगाएका छन् । उनले हत्यामा संलग्न रहेको मुख्य व्यक्ति कैलाशसँग हरेन्द्रले कहिल्यै पनि फोनमा कुरा नगरेको जिकिर गर्दै उनले भने, ‘न त वहाँले कहिल्यै भेट भएको दाबी गरे । उनले भने ‘प्रहरीले अनुसन्धान कमजोर पार्नका लागि रामजी यादव, संतोष यादव, राममणिष यादव, हरेन्द्र ठाकुर, सोगारथ यादवको कल डिटेल लिइएकोमा रामजी, संतोष र राममणिषको कल डिटेलको रेकर्ड मिसिलमा शामिल गरिएको छैन ।’

मृतक दम्पतीको बुहारी अंशु झा, उषा झा, तारा देवी झा, बबलु झा र कैलाश झाको पोलिग्राफी टेस्टको रिपोर्ट मिसिलबाट नै प्रहरीले गायब गरेको आरोप समेत अधिवक्ता निरालाले लगाए ।

वृद्ध मुसाफिर झा मालपोत कार्यालयका अवकाश प्राप्त कर्मचारी थिए । मुसाफिर झा महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्बर १ स्थित बगरामा रहेको एक मोही जग्गाको साक्षीमा बसेका थिए । 

गत वर्ष फागुन ११ मा सोही जग्गाको विवादलाई लिएर महोत्तरी जिल्ला अदालतले फैसला गर्ने आन्तरिक तयारी थालेको थियो । तर फागुन १० को राति झा दम्पतीको अपहरण, बेपत्ता पछि हत्या भएको थियो । तर प्रहरीले सो जग्गासँग जोडेर कुनै अनुसन्धान नै नगरेको अधिवक्ता निराला बताउँछन् ।

त्यस्तै मुसाफिरको नातामा भतिज रहेका कैलाशले ललित झालाई व्यापारका लागि भारतमा ट्रक खरिद गर्न आर्थिक सहयोग गरे पनि ललितले भने पछि पैसा फर्काएनन् । त्यसपछि कैलाशले मुसाफिरलाई बोलाई ललितलाई राखेर पञ्चायती समेत गराउन लगाइएको थियो ।

तर उनीसँग लेनदेन गरेको कागजी प्रमाण नभएको भन्दै मुसाफिरले फैसला सुनाएका थिए । सो कारणले पनि कैलाशले मुसाफिरको हत्या गर्न सक्ने तर्फ प्रहरीले अनुसन्धान नगरेको जिकिर हरेन्द्रको परिवारले गरे ।

झा दम्पतीको शव एक महिना दिनसम्म कैलाश झाको घरमा जस्तापाताको ठूलो बाकसमा राखिएको थियो । पछि गन्हाउन थालेपछि सो शवलाई रातारात लगेर माटोमा गाडिएको थियो ।

तर प्रहरीले कैलाश झा अतिरिक्त उनको आमा तारा देवी, कैलाशलाई हत्या गर्नका लागि वृद्ध दम्पती झालाई बेहोस पार्न औषधी खुवाएकी मुसाफिरकी ठुली बुहारी अंशु लगायतमाथि समेत अनुसन्धान नगर्दा निर्दोष व्यक्तिलाई प्रहरीले नै फसाइएको दाबी अधिवक्ता निरालाको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप