शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वास्तविक लडाईं अब सुरु भयो : अध्यक्ष ओली

शुक्रबार, २८ माघ २०७८, १५ : ५५
शुक्रबार, २८ माघ २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनादेश र परमादेशका बीचको वास्तविक लडाई सुरु भएको बताएका छन् । ‘स्थानीय तह निर्वाचन प्रक्षिण तथा अभिमुखीकरण’ कार्यक्रमको शुक्रबार शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान गठबन्धन सरकार परमादेशवाला र एमाले जनादेशवाला भएको भन्दै अब यी दुईबीच लडाईं सुरु भएको बताएका हुन् ।

‘आज जनादेशमार्गी लोकतन्त्र जो हामीले अपनाएका छौ र परमादेशमार्गी प्रतिगमनकारी षडयन्त्रका बीच वास्तविक लडाई अब सुरु भएको छ । यो जनादेश र जन अभिमत बीचको लडाई सुरु भएको छ यस लडाईलाई हामीले बुझ्नुपर्दछ’, ओलीको भनाई छ । वास्तविक लडाईंको मैदानमा आफुहरु प्रवेश गरेको भन्दै यो लडाई स्थानीय चुनावबाट सुरु भएर संघ प्रदेशसम्म कायम रहने बताए ।  उनले पवित्र जनमतले अब हुने निर्वाचनबाट देशलाई शुद्ध पार्ने भन्दै खन्चुवाहरुको सरकारबाट देशलाई मुक्त गर्न एमाले नेता कार्यकर्तालाई निर्देशन दिए ।

एमसीसीबारे के भने ओलीले ?  

सम्बोधनका क्रममा वर्तमान सरकार र गठबन्धनविरुद्ध चर्को आलोचना गरेका ओेलीले सत्ता गठबन्धले अमेरिकी सहायता परियोजना एमसीसीलाई भू–राजनीतिक द्वन्द्वको विषय बनाउने कोशिस गरेको गम्भिर आरोप लगाए ।

‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमसीसीबारे सत्ता गठबन्धनकै नेताहरुले दिएका विरोधाभासपूर्ण अभिब्यक्तिले विकास परियोजनालाई भू–राजनीतिक द्वन्द्वको विषय बनाउने कोशिस गरेको बताएका हुन् । ‘एमसीसका बारेमा दुईटा नेताले गोप्य वार्ता गर्छन् । पास गर्छौ भनेर किटानी गर्दै पास गर्ने कुरा लेख्छन् । यता जनतालाई पास गर्नै हुँदैन भनेर उचाल्छन्, भ्रमित पार्छन्’, ओलीले भने, ‘एउटा नेता पक्षमा बोल्छ अर्को विपक्षमा बोल्छ ।’

उनले न्युनतमा साझा कार्यक्रममा समेत एमसीसीबारे उल्लेख नगरेको भन्दै एमसीसीबारे आफुले गठबन्धनलाई प्रश्न गर्दा समेत जवाफ नदिएको बताए । ‘अत्यन्तै गैरजिम्मेवार र दुई जिब्रै चरित्र देखाएर देशलाई गम्भिर संकटमा पुर्याउँदैछन्’, ओलीको भनाइ छ । उनले  प्रधानमन्त्रीले एमसीसीलाई पत्र लेख्ने कुरा प्रोटोकलको हिसाबले अनुचित रहेको पनि बताए । ‘कुनै एउटा मन्त्रालय अन्तर्गतको विषयलाई प्रधानमन्त्रीले चिठी लेख्ने कुरा अपमानजनक कुरा हो । अध्यक्षले लेख्ने ? रिपब्लिकन पार्टीकालाई लेखेको भए हुन्थ्यो’ ओलीको भनाइ छ । उनले सरकार र गठबन्धनकै कारण देश गम्भिर खेलबाड र गैरजिम्मेवारपनको शिकार भइरहेको भन्दै २४ लाख खोप हराउँदा समेत सरकारले त्यसलाई छानविन नगरेकोमा आपत्ति जनाए ।

उनले सरकारले एमसीसी संसदमा टेबल गरे सभामुखले रोक्न नमिल्ने पनि बताए । ‘सभामुखले रोक्न मिल्दैन, अनाधिकृत बलमिच्याई गरेका छन् सभामुखले । यो गठबन्धनको पदलोलुपता हो । पहिलेको सभामुखले पनि अनाधिकृत क्रियाकलाप गरेको हो अहिलेकाले पनि त्यही गरिरहेका छन् । त्यस्तो अनाधिकृत क्रियाकलाप गर्ने सभामुखकहाँ कोही मान्छे पुग्छन् भन्दा सरम लाग्छ । सरकार यसप्रति गम्भिर होस भन्न चाहन्छु’, ओलीको आग्रह छ ।

‘संसद कोमा र भेन्टिलेटरमा’
अध्यक्ष ओलीले गठबन्धन सरकार बनेको सात महिना देशको महत्वपूर्ण समय बर्बाद भएको पनि बताए । उनले यो समयमा कतिपय कुराहरु देश पछाडि फर्केको आरोप लगाए । ‘व्यवस्थापिका संसद चलेको छैन ।

विरोधकाबीच तानाशाही अधिनायकवादी पेलानका साथ, भत्ता पचाउने हिसाबले मात्रै संसद अस्तित्वमा छ’, ओलीले भने, ‘सरकार गैरजिम्मेवार ढंगले चलेको छ ।’ उनले आफुहरु संसद बैठकमा सहभागी हुने वातावरण बनाउ भनेर भनिरहे पनि नसुनेको बताए । ‘पार्टी फोड्ने कार्यमा सभामुख सहभागी हुन्छन् । मोर्चाबन्दीमा सामेल हुन्छन् । र हाम्राविरुद्ध मुद्दा चलाउन अदालत जान्छन् । यस्तो अवस्थामा संसद निरर्थक भइरहेको छ । संसदलाई निस्प्रभावी बनाएर राखिरहने । संसद कोमा र भेन्टिलेटरमा छ । अग्रगमनकारी संसदलाई निरर्थक बनाएर राख्नुभएको छ’, ओलीको भनाइ छ ।

उनले सरकारले देशलाई गम्भिर कुटनीतिक अप्ठेरोमा फसाउँदै लगेको भन्दै शक्ति राष्ट्रको खेल मैदान बन्ने अवस्था आएको समेत बताए । ‘अहिले अर्थतन्त्रका सूचक कहाँ पुगेका छन् ?’ उनले प्रश्न गर्दै भने, ‘म सरकारलाई आग्रह गर्न चाहान्छु, भन्न चाहान्छु नेपाली जनताले जान्न पाउनुपर्छ, अहिले अर्थतन्त्रको अवस्था के छ । देश डुब्दैछ’, उनले ६ महिनामा व्यापार घाटा ५५ प्रतिशत बढेको भन्दै योबाट नै अवस्था बुझ्न सकिने बताए ।

उनले अर्थतन्त्रको यो हालत दशककै पहिलो पटक न्युन भएको, सुन तस्करी मौलाएको भन्दै यस्ता कुरामा सरकार मौन रहेको आरोप लगाए ।

माधव नेपालको पार्टीसँग तालमेल र एकता नगर्ने
अध्यक्ष ओलीले एमाले फुटाएर अर्को पार्टी गठन गरेका माधव नेपालको पार्टीसँग चुनावी तालमेल र पार्टी एकता हुनै नसक्ने भन्दै एमाले एक्लै चुनाव लड्ने बताए । ‘हामी एक्लै लड्छौ, एक्लै विजय हासिल गछौ’, ओलीको भनाइ छ । हाम्रो पार्टी फुटाउने, सरकार गिराउने, जालझेल, षडयन्त्र र तिक्डम गर्ने तत्वहरुसँग कुनै चुनावी तालमेल र पार्टी एकता हुदैन, भ्रम नराखे हुन्छ । उनीहरुलाई नो इन्ट्री ।’

स्थानीय निर्वाचन मिनी जनमत संग्रह

अध्यक्ष ओलीले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सामान्य निर्वाचनमात्रै नभएको भन्दै यसको धेरै ठूलो अर्थ रहेको समेत बताए । ‘यो निर्वाचन निर्वाचन मात्रै होइन । यो मिनी जनमत संग्रह नै हो ।’ उनले यही निर्वाचनमार्फत एमालेले जनतालाई सचेत गराउँदै जनताको विचारमाथिको संगठित अभियानलाई अघि बढाउने बताए ।  ‘यो अभियानले एमालेले अघि सारेको सुखी नेपाली सम्मृद्ध नेपालको सपना पुरा गर्न मद्दत पुग्छ’ ओलीको भनाइ छ ।  

विगतको जस्तो सपना नदेख्न चेतावनी

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान सरकार स्थानीय तह निर्वाचनप्रति सकारात्मक नहुनुमा विगतमा एमालेले ल्याएको परिणाम रहेका पनि बताए । उनले भने, ‘एमालेको बर्चस्व यिनीहरुलाई बिझाइरहेको छ । अब आउँदो निर्वाचनमा बहुमत जित्छौ । के गर्लान् विचराहरु ?’ ओलीको भनाइ छ ।

उनले चेतावनीको शैलीमा भने, ‘म भन्न चाहान्छु–भाग्ने उम्किने ठाउँ छ भने खोजे हुन्छ । आउने संघीय र प्रदेश निर्वाचनमा पनि बहुमत ल्याउँछौ ।’ उनले कसैलाई निर्वाचनबाट भाग्न नदिने भन्दै अबको निर्वाचनमा बत्ति निभाएर र मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न चेतावनी दिए । ‘हामी कसैलाई निर्वाचनबाट भाग्न दिने छेनौ, मतपत्र च्यातेर र बत्ति निभाएर जित्ने सपना नदेखे हुन्छ ।’ उनले एमाले जनप्रतिनिधिहरुले स्थानीय तहमा अत्यन्तै राम्रो काम गरेको भन्दै उनीहरुको प्रशंसा गर्दै उनले औचित्य र आवश्यकता पुष्टि गर्नेगरी भएका कामप्रति धन्यवाद व्यक्त गरे ।

सबैको दबावले मिति घोषणा
अध्यक्ष ओलीले एमाले सहित सबै पक्षको दवावले मात्रै सरकारले बैशाख ३० गते स्थानीय तह चुनावको मिति तोक्न बाध्य भएको बताए । उनले स्वभाविक र साधारण हिसाबले मात्रै नभई जन दवावका कारण बाध्य भएर मिति घोषणा गरेपनि सरकारले निर्वाचन नगर्न षड्यन्त्र गर्न सक्ने खतरा बाँकी नै रहेको बताए । उनले सरकारलाई मिति घोषणा गर्न बाध्य पारेपछि संविधान कार्यन्वयन हुन नदिने र गलत जालझेलबाट सत्ता कब्जा गर्ने, षडयन्त्रलाई परास्त गर्न सफलता मिलेको समेत बताए ।

‘हाम्रो पार्टीको, बौद्धिक क्षेत्र, निर्वाचन आयोग र सबैको चर्को दवावले सरकार निर्वाचन मिति घोषण गर्न बाध्य भएको हो’, ओलीको भनाइ छ । ‘प्रतिगमनसम्म देशलाई पुर्याउने, स्थानीय तहहरुको अवधि नथप्ने, प्रतिगमनका आधार तयार गर्नेहरु अहिलेकै गठबन्धनमा छन् र त्यो धन्दा र संयुक्त प्रयास प्रकट भइरहेको छ,’ ओलीको आरोप छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप