शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘राप्रपा नेपाल’ ब्युँताउँदै कमल थापा, साइत हेरेर घोषणा गर्ने

आइतबार, ०१ फागुन २०७८, ११ : ३०
आइतबार, ०१ फागुन २०७८

राप्रपा परित्याग गरेका कमल थापाले पुरानो राप्रपा नेपाल ब्युँताउने तयारी गरेका छन् । गत मंगलबार पार्टी परित्याग गरेपछि नयाँ पार्टी दर्ताको प्रक्रियामा रहेका थापाले राप्रपा नेपाल नै ब्युँताउन लागेका हुन् । 

राप्रपा उच्च स्रोतका अनुसार पार्टीका लागि विभिन्न नामबारे छलफल हुँदा राप्रपा नेपाल नै ब्युँताउन उपयुक्त भएको धेरैको सुझाव आएको थियो । ‘नयाँ नाममा पार्टी दर्ता गर्नेभन्दा पनि हाम्रो पार्टी राप्रपा नेपाल नै हुने भयो,’ ती नेताले रातोपाटीलाई भने, ‘त्यो पार्टी पहिले नै दर्ता छ । निर्वाचन आयोग दर्ताकै लागि भनेर हामी जानुपर्ने अवस्था छैन ।’

तत्कालीन राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि खाली भएको सो पार्टी लाक्पा तामाङको नाममा रहेको छ । यस विषयमा कमल थापाले तामाङसँग छलफल गरिसकेको र अब थापाकै नेतृत्वमा सो पार्टीलाई गति दिने समझदारी पनि भइसकेको ती नेताको भनाइ छ ।

गणतन्त्र स्थापनापछि तत्कालीन राप्रपा नेपाल हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डा बोकेर राजनीतिमा उदाएको थियो । दोस्रो संविधानसभा निर्वाचनमा राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डाको बलमा सो पार्टीमा २४ सिट जितेको थियो भने पछि तत्कालीन राप्रपासँग एकता भएपछि नयाँ पार्टी ‘राप्रपा’ बनेको थियो । 

​यसअघि कमल थापा समूहभित्र ‘राष्ट्रिय एकता पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्ने छलफल पनि भएको थियो । तर अहिले राप्रपा नेपाल नै ब्युँताउने तयारी भएपछि अब प्रक्रिया अर्को चरणतर्फ जाने भएको छ । यता थापानिकट नेता उद्धव पौडेलले राष्ट्रिय एकता पार्टीलगायतका विभिन्न नाममा छलफल भइरहेपनि कुन हुने भन्नेबारे अझै पनि अन्तिम रूप दिन बाँकी रहेको जिकिर गरे । ‘राप्रपा नेपाल नै ब्युँताउन लाग्नुभएको हो ? ,’ भन्ने प्रश्नमा चाहिँ उनले ३–४ वटा नामबारे छलफल भएकाले ठ्याक्कै भन्न नसक्ने बताए । उनले आज दिउँसो २ बजेका लागि धुम्बाराहीमा बैठक बोलाइएको र त्यो बैठकले अन्तिम रूप दिएपछि अघि बढिने बताए ।  यता थापानिकट अर्का नेता राजाराम बर्तौलाले साइत हेराएर पार्टी बनाउने बारे अघि बढ्न लगाएको जानकारी दिए ।

कमल थापाले गत मंगलबार गृह जिल्ला हेटौँडामा पुगेर राप्रपा परित्याग गरेका थिए । आइतबार मात्रै थापाले नयाँ सिर्जना बाध्यता भएको बताएका छन् । उनले पार्टीमा बस्ने वातावरण नबनाउने र बाहिर निस्कँदा पनि भ्रम फैलाइएको भन्दै कटाक्ष गरे । उनले औपचारिक रूपमा पार्टीबाट अलग भइसकेको अवस्थामा पार्टी फुटायो, कसम तोड्यो भनेर कोलाहल मच्चाउनुको अर्थ नभएको पनि बताएका छन् । 

‘म राप्रपाबाट औपचारिक रूपमा अलग भैसकेको अवस्थामा पनि कमल थापाले पार्टी फुटायो, फुटाउँदै छ, कसम तोड्यो भनेर कोलाहल मच्चाएको देख्दा उदेक लाग्छ,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘पार्टी भित्र बस्ने, टेक्ने ठाउँ नदिने। बाहिर निस्कँदा पनि सुख नपाउने ? राप्रपाबाट अलग भएपछि म चुपचाप बस्न मिलेन । नयाँ सिर्जना बाध्यता हो।’ गत निर्वाचनमा निर्मल निवासले आफूलाई चुनाव हराएको कमल थापाको बुझाइ छ । त्यो विषयमा पार्टीमा छलफल हुन नसकेपछि थापाले पार्टी नै परित्याग गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप