बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम खप्तड गोल्डकप : ‘ए’ डिभिजन क्लब फ्रेन्ड्स अन्तिम चारमा

आइतबार, २२ फागुन २०७८, २१ : ४३
आइतबार, २२ फागुन २०७८

धनगढीमा जारी सर्वाधिक धनराशिको पाँचौँ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको आज भएको खेलमा ‘ए’ डिभिजन क्लब फ्रेन्ड्स सेमिफाइनलमा प्रवेश गरेको छ । क्यामरुनको एभेनिर फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदै फ्रेन्ड्स अन्तिम चारमा पुगेको हो ।

फ्रेन्ड्सलाई जीत दिलाउन जमोउल एन्थोनी फ्रान्कोइसले दुई गोल गरे । खेलको ५३औँ मिनेटमा जमोउलले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको ६२औँ मिनेटमा जमोउलले पेनाल्टीमार्फत गोल गर्दै फ्रेन्ड्सलाई २–० को जीत दिलाए । एभेनिरका खेलाडीले लडाएपछि फेन्ड्सले पेनाल्टी पाएको थियो । खेलमा दुई गोल गरेका फ्रेन्ड्सका जमोउल एन्थोनी फ्रान्कोइस ‘म्यान अफ द म्याच’ भए । उनले नगद १० हजार पाए । 

अब फ्रेन्ड्सले सेमिफाइनलमा मछिन्द्र र बागमती युथ क्लबबीचको विजेतासँग खेल्नेछ । सोमबार हुने खेलमा आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लब र हिमालयन शेर्पा क्लब प्रतिस्पर्धा गर्नेछन् । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टोलीको सहभागिता छ । 

प्रतियोगिताको विजेताले २१ लाख र उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । त्यस्तै सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टोलीले जनही नगद २५ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ ले १० हजार पाउने आयोजकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप