गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
सारांश
- खोटाङको विकट गाउँमा हुर्किएका दीपेश कार्कीले भारतको पियर-टु-पियर लेन्डिङ प्लेटफर्म 'लेन्देनक्लब' स्थापना गरेका छन्।
- उनले गाउँको 'सापटी' चलनलाई प्रविधिमा ढालेर भारतमा ३ करोडभन्दा बढी ग्राहकलाई सेवा दिने प्लेटफर्म बनाएका हुन्।
- दीपेशले छात्रवृत्ति र भारतको अध्ययनले आफ्नो उद्यमशीलताको यात्रालाई कसरी आकार दिएको अनुभव बाँडेका छन्।
काठमाडौँ । खोटाङको विकट गाउँमा हुर्किएका दीपेश कार्की अहिले भारतको अग्रणी ‘पियर–टु–पियर लेन्डिङ’ (व्यक्तिबाट व्यक्तिमा ऋण लगानी गर्ने) प्लेटफर्म लेन्देनक्लबका सहसंस्थापक हुन्। उनको यो कम्पनीले हाल ३ करोडभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।
हालै नेपालस्थित भारतीय दूतावाससँग आफ्नो अनुभव साट्दै उनले भारत सरकारले प्रदान गर्ने छात्रवृत्ति र त्यहाँको अध्ययनले आफ्नो उद्यमशीलताको यात्रा कसरी तय गर्यो भन्ने बेलीबिस्तार लगाएका छन्।
खोटाङ जिल्लाको हौचुरस्थित एक शिक्षक परिवारमा जन्मिएका दीपेशको बाल्यकालको धेरै समय विराटनगरमा अध्ययन गर्दै बित्यो। उनका बुवाआमा दुवै स्कुलका शिक्षक थिए। तर, शिक्षकको कमाइले मात्र परिवारको आवश्यकता र छोराहरूको सपना पूरा गर्न असम्भव थियो। त्यसैले गाउँका अन्य धेरै परिवारजस्तै उनका बुवाआमा पनि खेतीपाती गर्थे। दिउँसो स्कुल पढाउने र बाँकी समय खेतबारीमा काम गरेर उब्जनी बेच्दै उनीहरूले दीपेश र उनका भाइलाई राम्रो शिक्षा दिएका थिए।
आफ्नो विद्यार्थी जीवनको धेरै समय सामान्य होस्टेल र घरबाट टाढाका स्कुलमा बिताएको दीपेश सम्झन्छन्। प्रशस्त सुखसुविधा नपाए पनि आफूहरू अनुशासन, इमानदारी, लगनशीलता र शिक्षाले जीवन बदल्न सक्छ भन्ने विश्वासका साथ हुर्किएको उनी बताउँछन्।
सानैदेखि ग्याजेट, मेसिन र विशेषगरी हवाईजहाजप्रति उनको ठुलो लगाव थियो। उनी आफूलाई कहिल्यै पनि सबैभन्दा धेरै पढ्ने विद्यार्थी मान्दैनन् तर उनीभित्र नयाँ कुरा जान्ने भोक सधैँ हुन्थ्यो। सामानहरू खोल्ने, परीक्षण गर्ने र ती कसरी काम गर्छन् भनेर बुझ्न उनलाई असाध्यै मन पर्थ्यो। उनी पाइलट वा एरोनटिकल इन्जिनियर बन्न चाहन्थे तर परिवारको आर्थिक अवस्थाले त्यो सम्भव थिएन।
सन् २००७–०८ मा जब उनले कम्पेक्स छात्रवृत्ति पाए, तब उनको जीवनले नयाँ मोड लियो। छात्रवृत्ति परीक्षामा २०औँ स्थान हासिल गर्दै उनले भारतको नेसनल इन्स्टिच्युट अफ टेक्नोलोजी (एनआईटी) कुरुक्षेत्रमा पूर्ण छात्रवृत्तिमा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ पढ्ने अवसर पाए। सायद आफ्नो सम्पूर्ण परिवार र आफन्तको घेरामा पूर्ण छात्रवृत्तिमा उच्च शिक्षा हासिल गर्ने उनी पहिलो व्यक्ति थिए। छात्रवृत्तिको तयारी गर्दा आफूले दैनिक तीन घण्टा मात्र सुतेर कडा मेहेनत गरेको उनी स्मरण गर्छन्।
एनआईटी कुरुक्षेत्रको अध्ययनपछि उनले उद्यमशीलताको बाटो रोजे। सुरुमा उनले ‘पाइपआइसो’ नामक इन्जिनियरिङ सफ्टवेयरको सहस्थापना गरे। पछि मुम्बईमा आफ्ना साझेदार भाविन पटेलसँग मिलेर ‘लेन्देनक्लब’ सुरु गरे। अहिले यो प्लेटफर्म विश्वकै ठुला पियर–टु–पियर लेन्डिङ प्लेटफर्ममध्ये एक बनिसकेको छ।
लेन्देनक्लब स्थापनाको प्रेरणा उनले आफ्नै गाउँको बाल्यकालबाट पाएका थिए। उनको पुर्ख्यौली गाउँमा कुनै बैंक वा वित्तीय संस्था थिएनन्। मानिसहरूलाई स्वास्थ्य उपचार, खेतीपाती, शिक्षा, आपत्कालीन अवस्था वा पारिवारिक कामका लागि पैसा चाहियो भने छिमेकी, आफन्त र समुदायका विश्वासिला मानिसहरूको भर पर्थे।
फाइनान्स भनेको के हो भनेर बुझ्नुभन्दा धेरै अघि नै उनले सम्बन्ध, विश्वास र समुदायमार्फत पुँजीको प्रवाह कसरी हुन्छ भनेर देखेका थिए। पछि इन्जिनियरिङ पढेर प्रविधिको ज्ञान पाएपछि उनले गाउँको त्यही परम्परागत अवधारणालाई आधुनिकीकरण गरेर ठुलो स्तरमा लैजान सकिन्छ भन्ने बुझे। खोटाङमा विश्वासका आधारमा हुने लेनदेनलाई प्रविधिमार्फत लाखौँ मानिससम्म पुर्याउने प्रयास नै लेन्देनक्लब भएको उनी बताउँछन्।
कुरुक्षेत्र पुगेपछिको अनुभव उनका लागि आँखा खोल्ने खालको थियो। त्यहाँ उनले भारतभरिका विद्यार्थी, गैरआवासीय भारतीय र विदेशी विद्यार्थीहरूसँगै ठुलो क्याम्पस, उन्नत प्रयोगशाला र नयाँ प्रविधिहरूसँग साक्षात्कार गर्ने मौका पाए।
शिक्षा कक्षाकोठाभन्दा धेरै बाहिरसम्म फैलिएको हुन्छ भन्ने सबैभन्दा ठुलो पाठ उनले त्यहीँ सिके। त्यहाँ उनले ‘सूर्यकिरण एरोमोडेलिङ क्लब’ को संस्थापक सदस्य बनेर उड्डयनप्रतिको आफ्नो बाल्यकालको सपनालाई पुनः जोडे। उनी कलेजकै पहिलो प्रमाणित आरसी (रिमोट कन्ट्रोल) फ्लायरसमेत बनेका थिए। यसका अलावा विभिन्न क्लब र कार्यक्रमहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दा सिकेको टिमवर्क र समस्या समाधानको सीपले पछि उनलाई उद्यमशीलतामा ठुलो मद्दत गर्यो।
भारतको स्टार्टअप इकोसिस्टम र त्यहाँको डिजिटल रूपान्तरणले आफ्नो कम्पनीलाई हुर्काउन महत्त्वपूर्ण भूमिका खेलेको दीपेशको भनाइ छ। भारतमा डिजिटल पहिचान प्रणाली, वित्तीय समावेशीकरण र डिजिटल भुक्तानीको पूर्वाधारले सेवा प्रवाहको तरिका नै परिवर्तन गरिदिएको छ।
लेन्देनक्लब जस्ता फिनटेक कम्पनीहरूका लागि यो रूपान्तरणले नवप्रवर्तनको जग बसाल्यो। साथै भारतीय रिजर्भ बैंक (आरबीआई) ले पियर–टु–पियर लेन्डिङका लागि बनाएको प्रगतिशील नीतिले पनि कम्पनीको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको उनी बताउँछन्।
आफ्नो सफलतामा कलेजका मेन्टर, सिनियर र प्राध्यापकहरूको ठुलो हात रहेको दीपेश स्विकार्छन्। पहिलो स्टार्टअप पाइपआइसो चलाउँदा उनले प्रविधि बनाउनुभन्दा त्यसलाई बेच्न धेरै गाह्रो हुन्छ भन्ने सिकेका थिए। निरन्तरता र लामो अवधिको सोचले मात्र सफलता दिने उनको बुझाइ छ। ‘कुनै पनि समस्या त्यति बेलासम्म मात्र ठुलो लाग्छ, जतिबेलासम्म त्यसलाई साना टुक्रामा बाँडेर समाधान गर्ने तपाईंको दृढता त्यो समस्याभन्दा ठुलो हुँदैन,’ उनी भन्छन्।
हाल कम्पेक्स छात्रवृत्ति पाइरहेका र भविष्यमा पाउन चाहने नेपाली विद्यार्थीहरूलाई दीपेश छात्रवृत्तिलाई केवल डिग्री हासिल गर्न मात्र प्रयोग नगर्न सुझाव दिन्छन्। ‘यसलाई आफ्नो दायरा फराकिलो बनाउन प्रयोग गर,’ उनी भन्छन्, ‘विश्वव्यापी रूपमा सिक, विश्वव्यापी रूपमा निर्माण गर र आफ्नो ठाउँमा योगदान देऊ।’
नेपालमा अथाह सम्भावना रहेको भन्दै दीपेशले अबको अध्याय नवप्रवर्तन, अनुसन्धान र उद्यमशीलताको हुनुपर्नेमा जोड दिएका छन्। ‘हामीले नेपाललाई सगरमाथा, बुद्ध, पशुपतिनाथ र गोर्खालीको देश भनेर मात्र होइन, विश्वस्तरीय विद्वान, अनुसन्धानकर्ता, नवप्रवर्तक र उद्यमी उत्पादन गर्ने देशका रूपमा पनि चिनाउनुपर्छ,’ उनले भने।
दीपेश अहिले पनि दुवै देशका नीति निर्माता, उद्यमी र नियामकहरूसँग जोडिएर काम गरिरहेका छन्। खोटाङको एउटा दुर्गम गाउँको शिक्षक परिवारको केटोले छात्रवृत्ति पाएर विश्वकै ठुलो डिजिटल लेन्डिङ पूर्वाधार बनाएको आफ्नो अनुभवलाई अब दुवै देशका आगामी पुस्ताका लागि अवसर सिर्जना गर्न प्रयोग गर्ने उनको धोको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप २०२६ : रङ्गशाला सफा गरेर जापानी समर्थकले जिते विश्वकै मन
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
-
‘गंगा रानी’का रोशन बन्दै वर्षाको जोडी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण