आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : सर्वोच्चमाथि ओलीको हमला, एनआरएनएमा ‘दुर्घटना’

शुक्रबार, २७ फागुन २०७८, २२ : ३५
शुक्रबार, २७ फागुन २०७८

आज मिति २०७८ साल फागुन महिनाको २७ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।

१. सर्वोच्चमाथि ओलीको हमला

एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा कसैले नपत्याउने गोरु ब्याएको टिप्पणी गरेका छन् । अहिले सर्वोच्च अदालतमा गोरु ब्याएको मात्रै नभइ ५ वटा बाच्छा समेत जन्माएको टिप्पणी गरे । बिहीबार पोखरामा प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले संविधान बाहिर गएर प्रगतिशील सरकारलाई सर्वोच्चले ढाल्ने काम गरेको आरोप लगाए ।

उनले सर्वोच्चमाथि हमला गर्दै सत्ता गठबन्धनको पनि चर्को आलोचना गरे ।

२. एनआरएनएमा दुर्घटना

विदेशमा रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) मा विभाजन आएको छ । सामाजिक संस्थाको रुपमा रहेको एनआरएनएमा चर्को राजनीति हुँदा उक्त संस्था अन्ततः विभाजित बन्न पुगेको हो ।

विशेषगरी चुनावको मुखमा काँग्रेस र एमाले गरी एनआरएनएका अभियन्ताहरु कित्ताकाट हुँदा विवाद चर्किँदै विभाजनको अवस्था निम्तिएको हो । एमाले निकटका अध्यक्ष कुमार पन्त र उनको समूह तथा अध्यक्षका प्रत्यासी कुल आचार्य बीचको बढ्दो अन्तरद्वन्द्वले करिब २० वर्षे इतिहास बोकेको संस्था विभाजित बनेको हो ।

​३. स्वास्थ्य मन्त्रालयको निर्णय

स्वास्थ्य मन्त्रालयले कोभिड–१९ संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरूलाई पीसीआर टेस्ट अनिवार्य नगराउन सम्बन्धित सबै स्वास्थ्य संस्था तथा अस्पतालहरूलाई निर्देशन दिएको छ ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फागुन २३ गतेको निर्णयानुसार स्वास्थ्य मन्त्रालयले अस्पतालहरुलाई यो सर्कुलर गरेको हो ।

​४. देउवा–विप्लव भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपाका महासचिव विप्लव लगायतका साना कम्युनिस्ट पार्टीलाई विरोधका नाममा अराजक गतिविधि नगर्न आग्रह गरेका छन् । उनले शान्तिपूर्ण विरोधका कार्यक्रम गर्न विप्लवसँगको भेटमा आग्रह गरेको बालुवाटार स्रोतले जनाएको छ ।

​५. माओवादीका प्रदेश सांसदले छाडे पार्टी

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभाका सांसद ठम्मर बहादुर बिष्टले पार्टी परित्यागको घोषणा गरेका छन् । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बिष्टले माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यता विपरित संसदबाट एमसीसी पारित गरेकाले आफूले पार्टी परित्याग गरेको बताए ।

​६. पल शाहका म्यानेजर समातिए

बलात्कार आरोपमा थुनामा रहेका अभिनेता पल शाहका म्यानेजरलाई प्रहरीले पक्राउ गरेको छ । पल शाहको आर्थिक कारोबार लगायत व्यवस्थापनको जिम्मेवारी लिएका कृष्णप्रसाद जोशीलाई पक्राउ गरिएको जिप्रका तनहुँका डिएसपी युवराज खड्काले रातोपाटीलाई बताए ।

​७. ठेकेदारहरुको चुनाव सुरु

देशभरका निर्माण ठेकेदारहरू यतिबेला छाता संस्था निर्माण व्यवसायी महासंघ (एफक्यान)का लागि भावी नेतृत्व खोजीमा लागेका छन् । ३ वर्षसम्म महासंघ हाँक्ने नेतृत्व चयन हुने चुनाव नजिकिँदै गर्दा व्यवसायीहरू दुई कित्तामा बाँडिएर आफूअनुकूल पदाधिकारी चुन्न प्रतिष्पर्धामा छन् ।

यतिबेला सिङ्गो महासंघ संरचना फागुन २८ गते  हुने निर्वाचनमा होमिएको हो । महासंघको अधिवेशन शुक्रबारदेखि सुरु भएको छ। 

​८. कोरोना अपडेट

पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७९८१ जनामा गरिएको नमूना परीक्षणमा ७७ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा  १ जना संक्रमितको मृत्यु भएको छ भने १८९ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

​९. फोहोर व्यवस्थापनबारे निर्णय

​मन्त्रिपरिषद्को बैठकले बन्चरेडाँडा ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापन क्रममा उत्पन्न हुने प्रभाव न्यूनिकरण गर्न उच्चस्तरीय समिति बनाउने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषद्को बैठकले सो क्षेत्रका स्थानीयसँग विगतमा भएका सम्झौता कार्यान्वयन गर्न पनि सरकार तयार रहेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताएका छन् ।

१०. यो पनि...

नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले वर्तमान गठबन्धनसँग एमाले एक्लै लड्न सक्षम रहेको बताएका छन् । उनले आगामी वैशाख ३० को स्थानीय तहको निर्वाचनमा एमाले एक्लै भएपनि गठबन्धनसँग लड्न सक्षम भएको बताएका हुन् ।

​चालु आर्थिक वर्षको मौद्रिक नीतिसँगै अर्थवार्षिक समीक्षामार्फत समेत नियन्त्रण गर्ने नीति लिएसँगै शेयर धितो कर्जामा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म यस्तो कर्जा लगानी ७ प्रतिशतले घटेको हो  ।  यद्यपि, अन्य हाइयर पर्चेज (घरजग्गा, गाडी लगायत) का क्षेत्रमा जाने कर्जा भने समीक्षा अवधिमा अधिकतम २५ प्रतिशतसम्मले वृद्धि आएको जनाएको छ ।

​जसपाको कार्यकारिणी समितिको बैठकले दुईटा राजनीतिक प्रतिवेदन बारेमा छलफल गरेको छ । शनिबारदेखि बस्ने जसपा संघीय परिषद् तथा केन्द्रीय समितिको बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनको बारेमा छलफल गरेको कार्यकारिणी समितिका सदस्य मनिष सुमनले बताए ।

​भक्तपुरमा फेरि बर्डफ्लू भेटिएको छ । जिल्लाको सूर्यविनायक नगरपालिका–१० स्थित जगतलक्ष्मी सुजखुले सञ्चालन गरेको सुवाल पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको हो ।

​गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होइ यान्छीले शिष्टाचार भेटघाट गरेका छन् । गृह मन्त्रालयमा भएको भेटघाटमा दुई देशबीचको आपसी सम्बन्ध अझै सुदृढ गर्ने विषयमा छलफल भएको थियो ।

​नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीको पदाधिकारी चयन भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी प्रशिक्षण तथा अभिमुखीकरण भेलाले पदाधिकारीको टुङ्गो लगाएको हो । 

​राप्रपा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले देशलाई संकटबाट मुक्त गर्न ताजा जनादेशको विकल्प नरहेको दाबी गरेका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले देशलाई संकटबाट मुक्त गर्न ताजा जनादेशको विकल्प नरहेको दाबी गरेका हुन् ।

थप समाचार



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप