शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

एनएसएल, एन्फा र ए डिभिजन लिग क्लबबीचको विवाद के हो ?

मङ्गलबार, ०८ चैत २०७८, १३ : ००
मङ्गलबार, ०८ चैत २०७८

नेपाली फुटबलमा नयाँ आयाम ल्याउने भन्दै सुरु भएको नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणमा सुरु हुन नपाउँदै विवादको घेरामा छ । खेलाडी अनुबन्धको विषयमा विवाद हुँदा अहिले एनएसएल गएको आइतबारका लागि राखिएको टाइसिट ड्र पनि स्थगित भयो । 

एन्फाले टाइसिट ड्र रोख्न दिएको निर्देशन आफूहरूले पालना गरेर स्थगित गरेको नेपाल स्पोर्टस म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्माले बताएका थिए । एन्फाले अब यो विवाद समाधानका लागि कस्तो प्रयास चाल्छ भन्ने हेर्न बाँकी नै छ । विवाद समाधानका लागि एन्फाले बुधबारका लागि छलफल गर्न मिति दिएको शर्माले बताए । यता ए डिभिजन लिग क्लबहरू एनएसएल फिफा र एएफसीको नियमविपरीत भएको भन्दै खेलाडी अनुबन्धको विषयलाई छिटो सुल्झाउन दबाब दिइरहेका छन् । 

यसरी सुरु भएको थियो विवाद 

नेपाल सुपर लिग (एनएसएल)ले गत फागुन १७ गते दोस्रो संस्करणको अक्सनका लागि २४२ खेलाडीको नाम सार्वजनिक गर्‍यो । विभिन्न तीन क्याटेगोरीमा खेलाडीको नाम सार्वजनिक भयो । अक्सनका लागि खेलाडीको नाम सार्वजनिक गर्दा एनएसएलले ए डिभिजन लिगका क्लबहरूसँग छलफल गरेन । 

पहिलो सिजन कोरोना महामारीका कारण ए डिभिजन लिग नहुँदा खेलाडीहरू कुनै क्लबसँग अनुबन्ध थिएनन् । उक्त समयमा अक्सनका लागि खेलाडी सार्वजनिक गर्दा कुनै किसिमको विवाद आएन । 

एनएसएलले यो सिजन पनि क्लबसँग छलफल गर्न जरुरी ठानेन । एनएसएलका लागि खेलाडीको नाम सार्वजनिक भएको दोस्रो दिन ए डिभिजन लिगका क्लबहरूले विरोध जनाए । 

ए डिभिजन लिग खेलेका आठ क्लबले विरोध जनाए । विरोध जनाउने क्लबहरूमा लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब, न्युरोड टिम एनआरटी, मनाङ मर्स्याङ्दी, सातदोबाटो युथ क्लब, थ्री स्टार क्लब, सङ्कटा क्लब, जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब थिए । 

आठ क्लबले प्रेस विज्ञप्ति निकाल्दै क्लबको अनुमति बिना क्लबमा कानुनी रूपमा आबद्ध खेलाडीको अक्सन गर्न लागेको भन्दै ध्यानाकर्षण गरे । 

खेलाडीको सूची सार्वजनिक हुँदा एन्फाले उचित सम्बोधन नगरी बेवास्ता गरेको आरोप लगाए । आठ क्लबले ए डिभिजन क्लबसँग छलफल गरेर मात्र खेलाडी अक्सन गर्न अनुरोध समेत गरे । 

फागुन १९ गते बसेको एन्फाको आकस्मिक बैठकले एनएसएलको अक्सनलाई रोक्ने निर्णय गर्‍यो । महासचिव इन्द्रमान तुलाधरले सोही निर्णय अनुसार परिपत्र गरे । एनएसएलको अक्सन रोकिएन उल्टै कार्यक्रममा एन्फाकै सदस्य तथा राष्ट्रिय टिमका व्यवस्थापक मधुसूदन उपाध्याय सहभागी भए । 

राष्ट्रिय फुटबलको सर्वोच्च एन्फाको निर्देशनविपरीत अक्सन गरिए पनि एन्फाले कुनै कारबाही नगर्दा क्लबहरू झनै आक्रोशित भए । खेलाडी रिलिज नै नगरेका ए डिभिजनका चार क्लबले पत्रकार सम्मेलन नै गरेर एन्फामाथि प्रश्न तेर्स्याए । 

चर क्लबहरूको एउटै माग थियो, अक्सनमा समावेश गर्न खेलाडीहरूलाई रिलिज गरिनुपर्छ । तर, उक्त माग सम्बोधन हुन सकेन । एनएसएलले चैत ६ गते (आइतबार) का लागि राखेको खेल तालिका सार्वजनिक (टाइसिट ड्र) कार्यक्रम स्थगित गर्न एन्फाले ४ गते पत्र पठायो । 

उक्त पत्रपछि एनएसएलले टाइसिट ड्र कार्यक्रम स्थगित भएको बतायो । टाइसिट ड्र नै नभएको एनएसएल कहिले हुने भन्ने अनिश्चित छ । एनएसएल चैत २६ देखि ज्येष्ठ ७ गतेसम्म हुने भनिएको थियो । 

हामी सहमतिमा जान चाहान्छौँ :  एनएसएल 

एनएसएलको आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले आफूहरू क्लबसँग सहमति गरेर अघि बढ्न राजी भएको बताएको छ । 

एनएसएलका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्माले ए डिभिजन लिगका क्लबहरूको मागहरूलाई सम्बोधन गर्दै चाँडै नै निचोड निकाल्ने योजना रहेको बताएका छन् । 

दुई पक्षबीचको सहमतिका लागि एन्फाले बाटो पहिलाउनु पर्ने आयोजकको माग छ । त्यसकै लागि एन्फाले बुधबारका लागि आफूहरूलाई समय दिएको शर्माले बताए । 

‘हामी क्लबहरूसँग सहमतिमा जान तयार छौँ । त्यसका लागि एन्फाले दुबै पक्षलाई छिटै नै छलफलमा बोलाएर विवाद सुल्झाउने वातावरण मिलाउनु पर्‍यो,’ शर्माले रातोपाटीसँगको कुराकानीमा भने । 

ए डिभिजन लिग क्लबहरू के भन्छन् ? 

ए डिभिजन लिग क्लबहरू आफूहरूले एनएसएल रोक्न नचाहेको र नियम अनुसार चल्न मात्र भनेको बताउँछन् । न्युरोड टिम एनआरटीका अध्यक्ष सुन्दर जोशीले आफूहरू छलफल गरेर मात्र अघि बढ्ने बताए ।

‘एनएसएल रोक्ने हाम्रो मनसाय होइन् । नियम अनुसारअघि बढ्नु पर्छ भन्ने हाम्रो माग हो । एन्फाले त्यसका लागि छुट्टै समिति गठन गरेको छ । बुधबार छलफलमा पनि बोलाएको छ सायद सहमति हुन्छ होला,’ जोशीले रातोपाटीसँगको कुराकानीमा भने । 

त्यस्तै थ्री स्टार क्लबका महासचिव सन्जिव शिल्पकारले पनि आफूहले एनएसएललाई फिफा र एफसीको नियमअनुसार अघि बढ्न मात्र भनेको बताए । 

गत सोमबार भएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । ‘रिलिजबिना कुनै पनि अर्को क्बलले खेलाडी अनुबन्ध गर्न पाउँदैन । तर, एनएसएलमा भने फुटबलको नियमविपरीत खेलाडी अनुबन्ध गरिएको छ । नियम अनुसार जाँदा हामीलाई कुनै आपत्ति छैन । 

एन्फाको धारण के छ ? 

एन्फाले एनएसएल र ए डिभिजन लिगबीचको विवाद समाधानका लागि अध्यक्ष कर्मा छिरिङ शेर्पाको संयोजकत्वमा समिति गठन गरेको छ । 

उक्त समितिले पहिले एनएसएललाई एन्फाले अक्सन रोक्न दिएको निर्देशन किन पालना नगरेको भन्दै स्पष्टीकरण सोधेको छ । 

एनएसएलले अब मंगलबारसम्म एन्फालाई स्पष्टीकरण बुझाउने छ । त्यसपछि मात्र एन्फा अघि बढ्ने विवाद समाधान समितिका सदस्य तथा एन्फाका वरिष्ठ उपाध्यक्ष पङ्कज नेम्वाङले बताए । 

‘हामीले एनएसएललाई एन्फाको निर्देशनको पालना नगरी अक्सन गर्नुको कारण स्पष्टीकरण मार्फत सोधेका छौँ, त्यसको जवाफ आएपछि हामी अगाडी बढ्ने छौँ । बुधबार एनएसएल र ए डिभिजन लिगसँगको छलफलपछि पनि केही समाधान निस्कनेछ,’ नेम्वाङले रातोपाटीसँगको कुराकानीमा भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप