बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चिनियाँ विदेशमन्त्रीको राजनीतिक भेटघाट : के–के भयो कुराकानी ?

विदेशमन्त्री वाङ स्वदेश फिर्ता
आइतबार, १३ चैत २०७८, १४ : १९
आइतबार, १३ चैत २०७८

तीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् । विदेशमन्त्री वाङ आइतबार अपरान्ह स्वदेश फर्किएका हुन् । विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कर्मचारीले विदाई गरेका छन् ।

स्वदेश फर्कनुअघि विदेशमन्त्री वाङ यीले आइतबार विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गरे । विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष केपी शर्माओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुसँग भेटवार्ता गरेका हुन् ।

​भेटवार्तामा नेताहरुले दुई देशबीचको मैत्री सम्बन्धका बारेमा चर्चा गर्दै नेपालको भूमिमा चीन विरोधी गतिविधि हुन नदिने प्रतिवद्धता दोहोर्याएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटवार्तामा उनीहरूबीच युगौँ पुरानो नेपाल–चीन मैत्रीबारे विचारविमर्श भएको थियो ।

ऐतिहासिक कालदेखिको नेपाल र चीनबीचको असल सम्बन्ध यस प्रकारका उच्चस्तरका भ्रमणले बहुआयामिक दुई पक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास राष्ट्रपतिले व्यक्त गरेकी छन् । साथै उनले नेपालको सामाजिक–आर्थिक विकासमा चीनले निरन्तर सहयोग गर्दै आएकामा हार्दिक कृतज्ञता व्यक्त गरेकी छन् ।

त्यस्तै एमाले अध्यक्ष ओलीले बेल्ट एण्ड रोड (बीआरआई) अवधारणासँग जोडिएका सडक, रेल, सिँचाइ, शिक्षा र स्वास्थ्यका परियोजनालाई अगाडि बढाउन चीन सरकारलाई आग्रह गरेका छन् ।

शिष्टाचार भेटवार्ताका क्रममा कोरोनाका कारण प्रभावित भएका चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनका क्रममा रहेका नेपाली विद्यार्थीलाई सहज रुपमा फर्कने वातावरण बनाइदिन आफूहरुले आग्रह गरेको एमाले नेता राजन भट्टराईले जानकारी दिए । भेटवार्तामा अध्यक्ष ओलीले दुई देशबीचको मैत्री सम्बन्धका बारेमा चर्चा गर्दै नेपालको भूमिमा चीन विरोधी गतिविधि हुन नदिने प्रतिवद्धता दोहोर्याएका छन् । 

कोरोना कहरका समयमा चीन सरकारका तर्फबाट नेपाललाई उपलब्ध गराइएको सहयोगप्रति एमालेले धन्यवाद समेत दिएको छ । तातोपानी र रसुवागढी नाकाको नियमित सञ्चालनका लागि समेत एमालेले विदेशमन्त्री वाङसँग आग्रह गरेको छ । एमालेले गरेको आग्रहलाई विदेशमन्त्री वाङले सकारात्मक रुपमा लिँदै नेपालको विकास र समृद्धिका लागि सहयोग गर्न आफूहरु तयार रहेको बताएका छन् ।

विआरलगायतका परियोजनासँग जोडिएका विषयलाई अगाडि बढाउन र त्यसलाई नियमित गर्न चीन सरकारका तर्फबाट सहयोग रहने विदेशमन्त्री वाङको भनाइ थियो । भेटवार्तामा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेललगायत नेताको सहभागिता थियो । 

विदेशमन्त्री वाङले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग पनि शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्तामा अध्यक्ष प्रचण्डले बेल्ट एण्ड रोड (बीआरआई) अवधारणा अन्तर्गत अगाडि बढाउन लागिएका  भौतिक पूर्वाधारसँग जोडिएका परियोजनालाई शीघ्र कार्यान्वयनमा ल्याउन चीन सरकारसँग अनुरोध गरेका छन् । 

नेपालको आर्थिक र सामाजिक विकासका लागि महत्वपूर्ण मानिएका ती आयोजना समयमा अगाडि बढ्दा त्यसले सकारात्मक प्रभाव पर्ने भन्दै त्यसका लागि पहल गरिदिन चिनियाँ विदेशमन्त्री वाङ यीमार्फत चीन सरकारलाई आग्रह गरिएको माओवादी नेता शक्ति बस्नेतले जानकारी दिए । 

भेटवार्तामा कोरोना महामारीका कारण लामो समयदेखि नियमित हुन नसकेको तातोपानी र रसुवागढी नाकालाई सहज रुपमा सञ्चालन हुने वातावरण बनाइदिन आफूहरुले चिनियाँ विदेशमन्त्रीको ध्यानकर्षण गराएको जानकारी बस्नेतले दिए । 

सो अवसरमा नेपाल चीन सम्बन्धमा विविध आयामका बारेमा कुराकानी भएको जनाइएको छ । नेपालको आर्थिक विकाससँग जोडिएको बीआरआई र चीनका तर्फबाट प्रतिबद्धता जनाइएका परियोजना अगाडि बढ्छ भन्नेमा आफूहरु विश्वस्त रहेको अध्यक्ष प्रचण्डको भनाइ थियो । 

अध्यक्ष प्रचण्डले दुई देशबीचको मैत्री सम्बन्धका बारेमा चर्चा गर्दै नेपालको भूमिमा चीन विरोधी गतिविधि हुन नदिने प्रतिवद्धता समेत दोहोर्याएका छन् । भेटवार्तामा अध्यक्ष प्रचण्डले भने, ‘नेपाल सधैँ एक चीन नीतिको पक्षमा अडिग रहेको र यहाँको भूमि कुनै पनि देशविरुद्ध प्रयोग हुन दिँदैनौँ ।’  

नेपालको चीनतर्फ बढ्दो व्यापार घाटालाई कम गर्न पनि सहयोग गरिदिन माओवादीका तर्फबाट चिनियाँ विदेशमन्त्रीलाई आग्रह गरिएको थियो । कोरोनाका कारण नाका सहज नहुँदा व्यापार घाटा थप चुलिएको सन्दर्भमा आवश्यक नीतिगत एवं प्राविधिक रुपमा देखिएका समस्या समाधान गर्न आग्रह गरिएको नेता बस्नेतले जानकारी दिए । कोरोना कालमा चीन सरकारका तर्फबाट नेपालले प्राप्त गरेको सहयोगप्रति माओवादी नेतृत्वले चीन सरकारलाई विशेष धन्यवाद समेत दिएको छ । 

माओवादी शीर्ष नेतृत्वको आग्रहलाई सकारात्मक रुपमा लिँदै चिनियाँ विदेशमन्त्रीले नेपालको आर्थिक एवं सामाजिक विकासमा चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले नजिकको छिमेकी र परम्परागत मैत्री सम्बन्ध भएकाले पनि नेपालको चासो र विकास प्रतिको तीव्र इच्छालाई चीन सरकारले सदैव समर्थन गर्दै सहयोग गरेको र त्यो निरन्तर रहने बताएका थिए । भेटवार्तामा माओवादीका नेता नारायणकाजी श्रेष्ठ, नेता बस्नेत, अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्ल लगायतको सहभागिता थियो ।

चिनियाँ विदेशमन्त्री वाङले शनिबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए । त्यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो । सोही क्रममा विभिन्न नौ बुँदे समझदारी गरिएको थियो । 

तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार काठमाडौं आएका विदेशमन्त्री वाङ आइतबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप