शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

म्यादी प्रहरी बन्न सीटअपदेखि पुसअपसम्म (तस्बिरहरू)

यसरी गरिँदैछ छनोट
बुधबार, १६ चैत २०७८, १५ : ०४
बुधबार, १६ चैत २०७८

आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि १ लाख म्यादी भर्नाका लागि छनोट प्रक्रिया जारी रहेको छ । मंगलबारदेखि छनौट प्रक्रिया सुरु भएको हो भने आवश्यक प्रक्रिया पुरा गरेर चैत २२ गते नतिजा प्रकाशित गरिनेछ । विभिन्न जिल्लाबाट छानिने म्यादी प्रहरीको चैत २८ गतेदेखि प्रशिक्षण सुरु हुनेछ । 

राजधानीको कीर्तिपुरस्थित ल्याबरोटरी स्कुल परिसरको चौरमा बुधबार म्यादीका लागि छनौट प्रक्रिया धमाधम हुँदै थियो । उचाइ नाप, स्वास्थ्य परीक्षणदेखि दौड, पुसअपदेखि आवश्यक प्रक्रिया पुरा गरेर म्यादी छनौट प्रक्रिया चलिरहेको थियो । 

आवश्यक दरबन्दी भन्दा धेरै सङ्ख्यामा आवेदन परेकाले छनौट प्रक्रिया प्रतिस्पर्धात्मक बनेको छ । प्रतिस्पर्धाबाट फिट हुने युवालाई म्यादी भर्ना गर्ने गरी छनोट चलिरहेको हो । 

म्यादी प्रहरीमा भर्ना हुनेका लागि यसपटक सरकारले सेवा सुविधामा केही वृद्धि गरेको छ ।  प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्यावधि बढीमा ४० दिन हुनेछ ।  उनीहरूको तलब नेपाल प्रहरीको जवान सरह हुनेछ । उनीहरूको आधारभूत तलब मासिक २२ हजार ६८० रुपैयाँ हुनेछ भने ४० दिनको कुल तलब बैंक खातामा ३० हजार २४० रुपैयाँ जम्मा गरिने छ । 

यस्तै खाद्यान्न बापत ७ हजार २०० र पोशाक तथा अन्य सामान खरिद गर्ने गरी ६ हजार थप भत्ता उपलब्ध गराइनेछ । यसबाहेक निर्वाचनको क्रममा खटिने म्यादी प्रहरीलाई खटिएको ठाउँमा आउने जाने तयारी स्वरूप १ हजारका लागि तयारी खर्च उपलब्ध गराइने प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै बीमा लगायतका सुविधा पनि हुनेछ ।

निर्वाचनका लागि म्यादीमा भर्ना हुन देशभरबाट २ लाख ९३ हजार ३१४ जनाले आवेदन दिएका छन् । म्यादीमा भर्ना हुन दरखास्त दिएकाहरूले एकजना प्रहरी जवान बराबरको शारीरिक योग्यता पुरा गर्नुपर्छ । पुरुषको उचाइ ५ फिट २ इन्च र महिलाको उचाइ कम्तीमा ५ फिट हुनुपर्छ । पुरुषको तौल ५० किलो र महिलाको तौल ४८ किलो हुनुपर्छ । 

म्यादीमा छनोट हुन तोकिएको समयमा १ किलोमिटर दौड पुरा गर्नुपर्छ । ४० वर्षभन्दा कम उमेरकाहरुले ५ मिनेटमा दौड पुरा गर्नुपर्छ भने सो भन्दा माथिको उमेर समूहकाले ७ मिनेटमा दौड पुरा गर्नुपर्छ । 

मेडिकल परीक्षण गर्दा रतन्धो भएका र ट्याटु खोपेका उम्मेदवार छनोट चरणबाटै बाहिरिन्छन् । बोली स्पष्ट नभएका र बेरिङ परीक्षणमा फेल हुनेहरू छनोट चरणबाट बाहिरिन्छन् । तर, म्यादी प्रहरीमा भर्ना हुन लिखित परीक्षा दिनुपर्दैन । मेडिकल परीक्षण र दौडमा पास भएपछि अन्तर्वार्ता लिइने गरी व्यवस्था मिलाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप