अन्तरवार्ता

सम्पत्ति प्रचण्डलाई बुझाएँ, छोरो प्रहरी बन्यो : हेमन्तप्रकाश ओली

‘पार्टीमा हामी बहुमतमै छौं, निर्णयविरुद्ध जानेमाथि कारबाही गर्नुपर्ने हुन्छ’

person explore access_timeचैत २२, २०७८ chat_bubble_outline0

फणीन्द्र नेपाल/वीरेन्द्र ओली


काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’का अनुसार नेकपाको गत चैत ४ गतेबाट १२ गतेसम्म कपिलबस्तुमा बसेको केन्द्रीय कमिटी बैठकमा तीनवटा एजेण्डामा छलफल भयो । त्यस क्रममा महासचिव विप्लवले चुनावलाई उपयोग गरेर जानुपर्ने भनेर पेश गरेको प्रतिवेदन बहुमतबाट अस्वीकृत नै भयो ।



महासचिव विप्लवले ल्याएको प्रस्तावको विपरीत चुनाव बहिस्कार गर्नुपर्छ भन्ने मध्येका एक नेता थिए ओली । बैठकमा महासचिव विप्लवको लाइन फेल भएर ओलीको लाइन पारित भएको छ ।



कपिलवस्तुमा बसेको ११ दिन लामो बैठकमा सबैभन्दा बढी बहस चुनाव उपयोग गर्ने कि बहिस्कार गर्ने भन्नेकै केन्द्रित रहेको ओलीले रातोपाटीलाई बताए । उनले भने, ‘एकातिर चुनावबाट जाँदा भूमरीमा फसिने भयो, अर्कोतिर बहिस्कारमा जाँदा चट्टानमा ठोकिने भयो । चट्टान र भूमरीलाई छलेर जाने बीचको बाटो रोजेका छौँ ।’

हेमन्तप्रकाश जनयुद्धकालका सहिद परिवारससमेत हुन् । उनले आफ्नो व्यक्तिगत सम्पत्ति यसअघि नै प्रचण्डलाई बुझाइसकेको र अहिले आफूसँग केही पनि सम्पत्ति नभएको बताए । उनले भने,  ‘मैले बालाजु बैठकपछि मेरो सम्पति प्रचण्डलाई बुझाएको छु । सर्वहाराकरण गर्ने गरी प्रस्ताव ल्याएँ । साँच्चै होला भनेर मैले बुझाएँ । अरुले बुझाएनन् । अहिले मेरो नाममा केही पनि छैन ।’

प्रस्तुत छ, विद्रोही नेता ओलीसँग रातोपाटीले समसामयिक विषयमा गरेको कुराकानीको सम्पादित अंश–

कपिलबस्तुमा ११ दिन लगाएर नेकपाको केन्द्रीय समिति बैठक बस्यो, जुन बैठकका निर्णय पार्टीले अहिलेसम्म आधिकारिकरुपमा सार्वजनिक पनि गरेको छैन । त्यति लामो बैठकले के के गर्‍यो ?

हाम्रो पार्टीको आठौं केन्द्रीय समितिको १२ औं बैठक चैत ४ गतेदेखि १२ गतेसम्म बस्यो । त्यहाँ महासचिव विप्लवले तीनवटा प्रस्तावहरु राख्नुभएको थियो, जसमा पार्टी महाधिवेशन, एमसीसी र स्थानीयनिर्वाचन सम्बन्धी प्रस्तावहरु प्रस्तुत गर्नुभयो ।

त्यसमा हामीले छलफल गर्दै जाँदा महाधिवेशन फागुनमै गरौं भनेका थियौं । हामीले स्थानीय चुनाव बहिस्कार वा उपयोग गरे पनि कात्तिक–मंसिरमा मात्रै महाधिवेशन गर्न सकिन्छ भन्ने निष्कर्ष निकाल्यौँ । यसमा कुनै दुई मत भएन ।

दोस्रो एजेण्डा एमसीसीका विषयमा थियो । अझै वृहत मोर्चा बनाएर त्यसैका माध्यमबाट एमसीसी विरुद्धको आन्दोलनलाई अगाडि बढाउँ, ताकि यसलाई खारेजीको स्थितिमा लग्न सकियोस् । संसदबाट पारित भए पनि खारेजीको स्थितिमा लगिनुपर्छ भनेर निर्णय गर्यौँ ।

तेस्रो एजेण्डा स्थानीय निर्वाचनका सवालमा अलि धेरै बहस भयो । निर्वाचनको सवालमा सैद्धान्तिकरुपमा कार्यनीतिको विषय हो भन्ने त्यो मार्क्सवादले भनेको कुरा हो । कार्यनीतिको विषय भए पनि आजसम्म आउँदा नेपालको सन्दर्भमा रणनीतिको विषय भएको छ । नेपालको सन्दर्भमा अझ संवेदनशील बनेको छ । यसलाई कार्यनीति बनाएर जाने, उपयोग गर्ने, त्यस क्रममा कम्युनिस्ट पार्टी त्यहीँ फेरि ब्ल्याकहोलमा फसेको जस्तो, कृष्णभीरमा फसेको जस्तो स्थिति जुन बनेको छ, यो स्थितिलाई हेर्दा बहस धेरै भयो ।

चुनावबारे बैठकले गरेको निर्णय के हो ?

बैठकमा बहसको प्रक्रियामा लामो छलफल भयो । हामी ११ दिनको छलफलपछि के निष्कर्षमा पुग्यौँ भने संसदीय व्यवस्थाअन्तर्गत हुने निर्वाचनमा भाग लिँदैनौँ । पार्टी पनि दर्ता गर्दैनौं । यदि आवश्यक प¥यो भने देशभक्तखालका एमसीसी विरोधी र जनपक्षीय खालका उम्मेदवारलाई सघाउने निर्णय भयो ।

बैठकमा तपाईंमाथि आर्थिक हिनामिनाको आरोप पनि लाग्यो भन्ने चर्चा मिडियामा आयो, खासमा के थियो त्यो ?

वैचारिकरुपमा अगाडि बढ्न नसकेपछि प्राविधिक कुरा भिडाइदिने ? कसका कहाँ के थिए, त्यो भिडाइ दिने ? त्यस्ता कुरा गर्ने हो भने त उहाँमै जान्छ ।

उहाँमै भनेको के हो ?

महासचिवमै जान्छ । महासचिवकै दोषहरू हुन्छन् । मैले बैठकमै मेरो केही दोष देखिन्छ भने छानविन गरियोस् भनेको छु । अरु मलाई केही छैन ।

त्यसोभए त्यो निराधार कुरा हो ?

मलाई निराधार कुरा लगाइएको छ । मैले दिनुपर्ने स्पस्टीकरण दिइसकेको छु । मैले बालाजु बैठकपछि मेरो सम्पति प्रचण्डलाई बुझाएको छु । सर्वहाराकरण गर्ने गरी प्रस्ताव ल्याएँ । साँच्चै होला भनेर मैले बुझाएँ । अरुले बुझाएनन् । अहिले मेरो नाममा केही पनि छैन । यही डेरा हो । म सबै पार्टीकै भरमा हो । मेरो केही अरु उत्पादन पनि छैन । ढोँगी कुरा गर्नु पनि हुँदैन । पार्टीको हिसाबले बाँचेको छु । छोराछोरी आफ्नो किसिमको जागिर खाएर पालिइराखेका छन् । एउटा छोरा त विवश भएर प्रहरी पनि भयो । मेरोबारेमा पत्रकार साथीहरुले पनि बुझ्न सक्नुहुन्छ ।

तपाईंकै पार्टीका शीर्षनेताहरुले एमालेसँग चुनावी तालमेल गर्ने भनेर छलफल गरिरहनुभएको छ । यो अवस्थामा तपाईंहरुको चुनावमा भाग नलिने विषयलाई कसरी बुझ्ने ?

यदि कसैले कुनै पार्टीसँग साँठगाँठ गर्ने वा औपचारिकरुपमै भाग लिन पार्टीकै तर्फबाट छलफल गर्छन् भने अराजक क्रियाकलाप हो । अनुशासनहीन क्रियाकलाप हो । त्यस्तो क्रियाकलाप नहोस् भन्नका लागि केन्द्रीय कार्यालयलाई अनुरोध गर्दछु ।

हामीले लिन थालेको नीति चुनाव परम्परागत बहिस्कार पनि होइन । परम्परागत उपयोग पनि होइन । बीचको बाटो अपनाएका छौं । एकातिरबाट चुनावबाट जाँदा भूमरीमा फसिने भयो, अर्कोतिर बहिस्कारमा जाँदा चट्टानमा ठोकिने भयो । चट्टान र भूमरीलाई छलेर जाने बीचको बाटो रोजेका छौँ ।

पार्टीको जनाधार नै नभएकाले यो निर्णय लिनुभएको भन्ने पनि छ नि ?

जनाधार नै नभएको भन्ने होइन । पार्टीको बलियो जनाधार नै छ । नेकपाप्रति जनताको आशाको दियो बलि नै रहेको छ । यद्यपि तपाईंहरुले भन्नु भएजस्तै जति हुनुपर्ने हो, त्यो नहुन सक्छ । अरु चुनावी पार्टीको जस्तो नहुन सक्छ ।

०६९ सालमा विद्रोह गर्दा यो संसदीय व्यवस्था मान्दैनौँ, यो संविधान र कानुन मान्दैनौँ भनेर रत्नपार्कमा संविधान जलाएर अर्को संविधान घोषणा गरेका हौँ । त्यहाँबाट अघि बढेर ०७१ सालमा वैद्यजीले सक्नु भएन, हामीले सक्छौँ भनेर विभाजन गरे अघि बढेका हौँ । त्यसपछि प्रक्रिया एकीकृत जनक्रान्तिको रिहर्सलजस्तै भयो । रिहर्सलको प्रक्रियामा एक दर्जन साथीहरुले सहादत प्राप्त गर्नुभयो । अरु पनि घाइते हुनुभएको छ । हामीले दुई वर्षको प्रतिबन्ध बेहोर्यौँ । त्यसपछि केपी ओली नेतृत्वको सरकारसँग छलफल भएर तीनबुँदे सहमति भयो । तीनबुँदे सहमति पालना पनि भएको छैन । अथवा, सरकारले तीनबुँदे सहमति लागु गरेको छैन । त्यसलाई कार्यान्वयनमा लगेको छैन । साथीहरु बन्दीको रुपमा जेलमै छन् ।

त्यसोभए पार्टीले आधिकारिकरुपमा कुनै पार्टीसँग चुनावी तालमेल गर्दैन ?

चुनावी तालमेल आधिकारिकरुपमा पार्टीले गर्दैन । स्वतन्त्र ढंगले कुनै साथीहरु चुनावमा भाग लिन जान सक्नु हुनेछ । त्यसका लागि पार्टीबाट राजीनामा दिनुपर्ने छ । त्यस्तालाई समर्थन गर्न सकिने भयो । पार्टीले कुनै शक्तिसँग एलाइन्स (गठबन्धन) गर्दैन । यदि कुनै नेताले गरेमा पार्टीले कारवाही गर्छ ।

विप्लवले स्थानीय चुनाव भाग लिने प्रस्ताव गर्नुभएको थियो । तपाईंहरुले फेलै गराइदिनुभयो है ?

कहिलेकाहीँ परिस्थितिको विश्लेषण गर्दा लिडरसिप पनि गलत निष्कर्षमा पुग्न सक्छ । अहिलेको वस्तुस्थिति चुनावमा भाग लिने छैन । अहिले ०४८ सालको स्थिति पनि होइन । सन् १९०६ तिरको दुमा (रुसी संसद) को स्थिति पनि होइन । आजको परिस्थितिमा नेपाल देश हो । सारा कम्युनिस्ट भन्नेहरु संसदीय व्यवस्थामा गएर डुबुल्की मारिरहेको अवस्थामा हामी पनि त्यहाँ डुब्न चाहन्छौँ भन्ने माग बेठिक हुन्छ ।  यो पार्टी सत्ताको विपक्षमा छ । सत्ताको विरोधमा छ ।

हामीले केही दिन पहिले संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भनेर जनमतसंग्रह गर्नुपर्छ भनेका छौँ । हामीले व्यवस्थाकै चुनाव शान्तिपूर्ण तरिकाले गरौँ भनेका छौँ । जनमतसंग्रहमा जानुपर्छ भन्ने ध्यान मोडेर यही व्यवस्थाको चुनावमा जाने भएपछि यसअघिको निर्णयको पनि उल्लंघन हुने भयो ।

अहिलेको परिस्थितिअनुसार भाग नलिएर जाने कुरा संसदीय व्यवस्थाको भण्डाफोर गर्ने र वैज्ञानिक समाजवादी व्यवस्था आवश्यक छ भन्ने कुरा जनताका वीचमा लिएर जानुपर्छ भन्ने छ । त्यसमा धेरै साथीहरु सहमत हुनुभयो । अन्ततः महासचिव कमरेड पनि सहमत हुनुभयो ।

भनिन्छ, महासचिव विप्लव माओवादी केन्द्रसँग चुनावी तालमेल गर्नुपर्छ भन्नेमा हुनुहुन्थ्यो, अर्कातिर प्रवक्ता प्रकाण्डले एमालेसँग तालमेल गर्नुपर्छ भन्ने अनि तपाईंहरु चाहिँ चुनाव बहिस्कार गरेर जानुपर्छ भन्नेमा हुनुहुन्थ्यो । पार्टीभित्रको त्यो अवस्था अहिले पनि कायमै छ कि ? एउटै पार्टी तीनतिर फर्किएको छ है  ?

त्यो आधिकारिक कुरा होइन । अनुमानको भरमा मिडियामा छापिएको पढ्न पाएँ । बाहिर भनिएजस्तो छैन । हामीले कुनै पार्टीसँग तालमेल गरेर जाउँ भन्ने निर्णय भएको छैन । बाहिर तपाईंले भनेको जस्तैगरी आयो । त्यतातिर नजाउँ । पार्टीको आधिकारिक निर्णय चुनावमा भाग नलिने नै हो । किनभने जेलमा भएका बन्दी साथीहरु रिहा भएका छैनन् । साथीहरुलाई जेलमा राखेर यो व्यवस्थाको चुनावमा भाग लिनुहुँदैन । किनकि हाम्रा साथीहरुलाई यही व्यवस्थाले जेलमा हालेको हो ।

हाम्रा पार्टीका १२ जना साथीहरुले ज्यान गुमाउनुभएको छ । उहाँका परिवारहरुले न्याय पाउनुभएको छैन ।  ज्यान गुमाएका साथीहरुलाई सहिद घोषणा गरिएको छैन । तीनबुँदे सहमतिमा राजनीतिक समस्याको समाधान पछि गरौँला भनेर एक नम्बर बुँदामा लेखिएको छ । त्यसो भएकाले अहिले कसैसँग गठबन्धन गर्ने वा कोसँग को जाने भन्ने नीति छैन ।

बैज्ञानिक समाजवाद स्थापना गर्न प्रचण्ड हुँदै मोहन वैद्यहरुसँगबाट छुटेको सात वर्ष भएछ । यो सात वर्षको अवधिमा घुमीफिरी यही संसदीय व्यवस्थामा आउनुभयो । प्रतिवन्ध लागेका बेला १२ जना युवाले ज्यान गुमाए । यसले गर्दा गल्ती गरिएछ, बरु माओवादी केन्द्रमै बसिरहेको भए ठीक हुनेरहेछ भन्ने लाग्दैन ?

सत्य कुराको खोजीमा लाग्दा सही र गलत दुवै हुन्छ । त्यहीँ (माओवादी केन्द्रमै ) रहनु पनि बेठिक हुन्थ्यो । किनभने, त्यसको विरोध गरेपछि पनि त्यही रहनु नैतिकताको विषय पनि रहँदैन ।

संसदीय व्यवस्थाको विरोध हामीले गर्यौँ, त्यो सही थियो । तर, आज सात वर्षको अवधिमा पार्टी फेरि त्यतैपट्टि लागेको धारणा जे बनेको छ, मान्छेहरुले के पनि भन्थे भने प्रचण्ड र बाबुराम हुदैनौ भन्ने के सुनिश्चितता छ ? के ग्यारेन्टी छ ? यस्ता प्रश्नले जनता धेरै पारखी हुँदारहेछन् भन्ने पुष्टि भयो । हामीमा यो किसिमको अवस्था भयो र उहाँहरुले यसरी नै जाने सोच्नुभयो भने हामीले फेरि यहाँबाट पनि विद्रोह गर्नुपर्ने हुन्छ ।

प्रतिबन्धको अवधिमा १२ जना कार्यकर्ताले ज्यान गुमाए, सयौँलाई मुद्दा छ, कति जेलमा छन् । यो हेर्दा कहिलेकाहीँ के भाउँतोमा फसिएछ भन्ने लागेको छैन ?

राज्यसत्ताकै विरुद्ध आवाज उठाइसकेपछि, राज्यसत्ताकै विरुद्ध अघि बढिसकेपछि त स्वभाविकरुपमा जेलनेल हुन्छ । स्वाभाविक रुपमा ज्यान हत्केलामै राखिएको हुन्छ । खुकुरीको धारमै राखिएको हुन्छ । त्यसकारणले यस्ता परिघटना हुने नै भए । यसबाट उपलब्धि कम हुँदा र क्षती बढी हुँदा कहिलेकाहीँ के भयो र कसरी जाने भनेर समीक्षा गर्नुपर्ने हुन्छ ।

क्रान्तिकारीहरु समीक्षा गरेर उज्यालोतिर हेरेरै अघि बढ्छन् । क्रान्तिकारी हुन सकिएन वा गैरमार्क्सवादी नै भइयो भने निराशातिर जाने हुन्छ । किनभने, अँध्यारो बढी देखिन्छ । अँध्यारोभित्र पनि जुनकिरी बलिराखेको हुन्छ नि । जुनकिरीले सानो प्रकाशपुञ्ज झल्काइरहेको हुन्छ । त्यही हेरेर पनि हामी गन्तव्यमा लम्कनुपर्ने हुन्छ ।

तपाईंहरुको पार्टी अहिले रनभुल्लमा छ । कार्यकर्ता रिहा गरिदेऊ भन्दै नेताहरु दैलो–दैलोमा चाहारेको देखिन्छ । तीनबुँदे सहमति पनि त्यस्तै भएको छ । अब कसरी पार लगाउनुहुन्छ ?

पहिलो कुरा हामीले पार्टीको लिडरसिपलाई बीचको बाटोबाट अगाडि जाउँ भनेका छौँ । अहिले मान्नु पनि भएको छ । यो पार्टी समग्र रुपमा रुपान्तरण गर्ने तरिकाले हामी सोच्छौँ । कम्युनिस्ट बनाउने तरिकाले हामी सोच्छौँ । तर, कम्युनिस्ट बन्न मानेन र दलदल नै गन्तव्य स्थान हो भन्ने सोच्यो भने हाम्रो हात छोड्दिनुस भन्छौँ । 

अब कसरी सही ठाउँमा ल्याउनुहोला ? केन्द्रीय समिति बैठकमा गहुँ काटिरहनुभएको छ । त्यो पनि महासचिवकै खेत भनिएको छ....

त्यो पार्टीकै हो । त्यसमा हामी सबै लाग्यौं । उहाँको व्यक्तिगत भए पनि हामीलाई केही छैन । तर, स्थिति धेरै बिग्रिसकेको स्थितिबाट माथि उठाएका छौँ । यही अवस्था रहिरह्यो र महासचिव पनि त्यो कुवाबाट माथि उठ्न सक्नुभएन भने हामीले सोच्नुपर्ने हुन्छ । विकल्प खोज्छौँ ।

त्यो विकल्प भनेको के हो ?

त्यो भनेको वैज्ञानिक समाजवादकै बाटो हो ।

पार्टी विभाजनको बाटोतिर पनि जान सक्छ भन्ने हो ?

होइन । पार्टीमा वैचारिकरुपमा हामी बहुमतमै छौं । पार्टी विभाजन होइन कि पार्टी निर्णयविरुद्ध जानेमाथि कारबाही गर्नुपर्ने हुन्छ ।

तपाईंंहरुको एकीकृत जनक्रान्ति भन्ने एउटा पुस्तक पनि पढियो । त्यसमा प्रायः मिडियामा प्रकाशित आर्टिकलको संग्रह रहेछ । केही सैद्धान्तिक विषय पनि उठाउन खोजिएको छ । त्यसमा सम्रग राजनीति, सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिक लगायतका विषयमा प्रष्ट छैन । यस्तोखालको विचार, बुझाइ र चिन्तनले यो देश र समाजलाई कसरी डोर्याउला ? कसरी रुपान्तरण गर्ला ?

एकीकृत जनक्रान्ति भन्ने हाम्रो पार्टीको कार्यदिशाका रुपमा संश्लेषण गरिएको हो । कार्यदिशा भनेको क्रान्ति गर्ने बाटो हो, क्रान्तिको एउटा प्रक्रिया हो, विधि हो । तपाईंले भनेजस्तै केही कमीकमजोरी छन् । तर, हामीले त्यसका आधारहरु तयार गरेका छौं । त्यहाँ हामीले शत्रु, मित्र पनि तोकेका छौं ।

एकीकृत जनक्रान्ति भनेको प्रचण्डको फ्युजनको कार्यदिशा उहाँहरुले छोड्नुभयो, त्यसलाई हामीले विकसित गरेर ल्याएको हो । त्यसमा दुईवटा कार्यदिशाको समायोजन र विकास गर्न खोजिएको छ । एउटा रुसी मोडल छ, जो सशस्त्र विद्रोह भन्ने थियो । अर्को चिनियाँ मोडल हो । त्यसलाई समायोजन गरेर हामीले एकीकृत जनक्रान्तिको कार्यदिशा तय गरेका हौं । त्यसको गन्तव्य भनेको वैज्ञानिक समाजवाद हो । यसमा केही कन्फ्युजनहरु त छन्, क्लियर गर्नुपर्छ । तर यसलाई विकसित गरेर हामी अगाडि बढ्छौं ।

जनयुद्धको मुख्य भूमिकामा तपाईं पनि हुनुहुन्थ्यो । पछिल्लो समय माओवादी आन्दोलनमा लागेका नेताहरुको अवस्थालाई देख्दा कस्तो लाग्छ ?

मलाई सबैभन्दा बढी चिन्ता लाग्छ । मैले प्रचण्ड, केपी ओली सबैलाई भेटेको छु । त्यसभन्दा तलका धेरै युवा नेतालाई पनि भेटेको छु । उनीहरुलाई भेटका क्रममा मैले तपाईंंहरुमा कतै मार्क्सवादको विचार छ कि छैन ? छ भने हामीले सबै पुराना बाँध भत्काउँ भन्ने प्रस्ताव राखेको छु ।

त्यो सम्भव छ ?

त्यो सम्भावना छ । पुरानै पिँढीका मुख्य नेताबाट सम्भावना छैन । माओवादी केन्द्र र एमालेभित्रका केही युवा नेता यसका लागि तयार हुनुहुन्छ । हाम्रोमा त समस्या छैन । किरणजी, आहुतीजी सबै मिलेर वृहत कम्युनिस्ट एकता गर्यौं भने त्यो सम्भावना छ ।

नेकपा अहिलेसम्मको यो अवस्थामा आइपुग्दा तपाईंहरुको गन्तव्य के हो ? प्रष्ट ढंगले भनिदिनुस् न ?

हाम्रो गन्तव्य वैज्ञानिक समाजवाद ।

समाजवाद नै आउन नसकेका बेला वैज्ञानिक समाजवाद ? त्यो पनि फेरि जनमतसंग्रहबाट भन्नुभएको छ । असम्भव कुरा गरेजस्तो लाग्दैन ? तपाईंले उठाएको वैज्ञानिक समाजवादले हावा खाइसक्यो । वैज्ञानिक समाजवाद कि संसदीय व्यवस्था भन्ने बहस पनि केही छैन....

होइन, होइन । वैज्ञानिक समाजवादको विषयमा चर्चा भइनै राखेको छ । मान्छेहरुले त्यो बारेमा अलिकति चर्चा गर्न नचाहेका हुन् । तर, अन्ततः यो दुनियाँमा पुग्ने भनेको त्यहीँ नै हो । यो भ्रष्टचारको अन्त्य अमेरिकी र भारतीय व्यवस्थाले गर्न सक्दैन । वर्ग विभेदको हल हुँदैन । किनभने, सामुहिक उत्पादन छ, निजी स्वामित्व छ । भनेपछि सामुहिक उत्पादनको सामुहिक स्वामित्व होस् भन्ने मान्छेले चाहन्छ । त्यसबाट नै समस्याको हल हुन्छ ।

नेपालका कम्युनिस्ट पार्टीहरुको इतिहास हेर्दा सुरु सुरुमा निकै चर्को क्रान्तिकारी देखाउने, पछि गएर पुँजीवादमा भासिने गरेको देखिन्छ । जस्तो– मोहनविक्रम सिंहले पनि कम्युनिस्टहरुको उग्रवाद दक्षिणपन्थमा पतन हुन्छ भन्ने गर्नुभएको थियो । नभन्दै तपाईंहरुको पनि लगभग लाइन त्यही देखियो नि ?

यसबाट बचाउन पहिलो कुरा हामीले समाजवाद घरबाटै लागु गर्नुपर्छ । हाम्रो पार्टीको नाम कम्युनिस्ट पार्टी हो । तपाईं कम्युनिस्ट भएकाले पार्टी सदस्य बन्नुभएको हो । अब तपाईंको आचरण कम्युनिस्ट छ कि छैन ? सामुहिक रुपले सोच्नुहुन्छ कि हुँदैन ? आफू मन्त्री भएर डकार्ने, घुस खाएर जाने तर जनता भाँडमा जाउन् भन्ने सोचाइले हुँदैन ।

अर्को कुरा, बत्तिमुनिको अँध्यारो प्रचण्ड हुनुभयो । कम्युनिस्ट हुनुहुन्थ्यो, तर उहाँको वरिपरिका मानिसहरुको आनीबानी बसाल्न सकिएन । त्यसमा हाम्रो पनि कमजोरी होला । त्यसकारण हामी कम्युनिस्ट हुने हो भने हाम्रो वरिपरिको परिवेश पनि कम्युनिस्ट बनाउन सक्नुपर्छ । यदि त्यो परिवेश बनाइएन भने सामाजिक अस्तित्वले मानिसको चेतना निर्धारण गर्ने हो । मानिसको चेतनाले मानिसको अस्तित्व निर्धारण त गर्दैन । त्यसो भएकाले हामीले पारिवारिक रुपमा यहीँबाट, आफू बसेको कमिटीबाटै त्यो लागु गर्नुपर्छ ।

कम्युनिस्ट पार्टीको बैठक भनेको छ– एउटाले एउटा खाएको छ, अर्कोले अर्को खाएको छ । अथवा भनौँ न, त्यहाँ पनि वर्ग र पदअनुसार हुने । उस्तै परे सिट पनि फरक–फरक गरेको छ । हाम्रै पनि देखिन्छ । महासचिवको सिट अग्लो र राम्रो गद्दा जस्तो, सचिवालय सदस्यको अलि माथिजस्तो भएकाले यसलाई हामीले पनि करेक्सन गर्नैपर्छ ।

हामीले प्रचण्डलाई पनि उहाँसँगको व्यवहार गर्ने क्रममा विस्तारै श्रद्धा त बढ्यो, तर श्रद्धा बढे पनि ठिकैमात्र गर्नुपर्छ । चार–पाँचवटा मासुका परिकार बनाउनुपर्ने, खानपिनमा पनि फरक–फरक । बाहिर लड्ने योद्धाहरु खान नपाएर हैरान छन् । योखालको अवस्था थियो नि त ! कुनै न कुनै घाइतेले देखिहाल्छ त्यो फेरि ।

जब तपाईंहरु तीनबुँदे सम्झौता गरेर आउनुभयो, त्यसपछि तपाईंहरुमा पनि त्यो शान सौकतको प्रवृति देखिएको छ । हुनत गहुँ काटेर समाजवादको परिकल्पना गरेको पनि देखियो । तर, आन्दोलनमा साथ दिएकाहरुप्रति नेतृत्वले कुनै चासो राखेको देखिँदैन, किन ?

त्यही त यस्तो भयो । त्यसकारण हामीमा कमजोरी नभएको भनेर दावी गर्ने पक्षमा म छैन । म आफैँ जेलबाट आएको छु । अर्को साथी जेलबाट आएको छ । तर त्यहाँ भेट्न जाँदैन । यो स्थिति छ । मैले कोशिस गरिरहेको छु । एक्लै कोशिस गरेर पनि हुनेरहेन छ । साथीहरु जिम्मेवार ठाउँमा हुनुहुन्छ । जेलभित्र खानपिनको समस्या हुन्छ, त्यो हामीले भोगेका छौँ । त्यहाँ आफ्नो गाँस काटेर अलिकति लगिदिए एकदिन भए पनि मासुसँग त खान्छन् विचराले ।

सेन्ट्रल जेलमा चामल कस्तो छ ? गाई र घोडाले खानेजस्तो दिन्छन् । ठेकेदारहरुले ठगिराखेका छन् त्यहाँभित्र । नाइके र चौकीदारले ठगिराखेका छन् । करौडौँ कमाएर ल्याउँछन् तिनीहरु । यो सबैलाई विचार गर्दा हामीले जसरी बन्दीहरुका बारेमा आवाज उठाउनुपथ्र्यो, त्यो उठाउन सकेनौँ । तर, कसैले भन्दा पनि भन्दैन । उस्तै परे जेल परेको केन्द्रीय कमिटीको मान्छे छैन भने बन्दीहरुको कुरै आउँदैन ।

सहमतिमार्फत शान्तिपूर्ण राजनीतिमा आएसँगै पार्टीमा आएको रुपान्तरणले कति फाइदा भयो जस्तो लाग्छ ?

तीनबुँदे सहमतिपछिको एउटा फाइदा प्रतिवन्ध हट्यो । साथीहरु रिहाइ हुने प्रक्रिया अघि बढ्यो, यो राम्रो कुरा हो । तर, कस्तो भयो भने हाम्रो दैनिक आचरणमा कहीँ न कहीँ गडबडी पैदा भयो । यद्यपि पहिलेजस्तो फोहोर त भएन ।

महासचिव गाउँमा रहने कोशिस पनि गर्नुभयो, त्यसबाट बच्न पनि होला । तर, गाउँमा बसेर मात्रै हुने होइन भन्ने देखियो । यसमा लामो कल्चरको कुरा हुन्छ । त्यसकारण, राजनीतिक सत्ता ढालेर मात्रै हुँदैन । पहिला आदतकै सत्ता ढाल्नुपर्छ । हामीभित्र रहेको सामन्ती पुँजीवादी खराब आदत र आचरण छ, त्यसलाई हामीले व्यवहारबाट हटाउनुपर्छ, त्योबाटोमा हामी कम्युनिस्ट जानुपर्छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।