सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

मिडिया क्षेत्र कमजोर हुँदा लोकतन्त्रमाथि खतरा बढ्छ : मुख्यमन्त्री आचार्य

सोमबार, ०१ असार २०८३, १५ : ३७
सोमबार, ०१ असार २०८३

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सञ्चार क्षेत्र लोकतन्त्रको मेरुदण्ड भएकाले यसको संरक्षण, प्रवर्द्धन र सुदृढीकरणमा प्रदेश सरकार सधैँ प्रतिबद्ध रहेको बताएका छन्।

नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिले सञ्चारमाध्यममाथि भइरहेको आर्थिक नाकाबन्दी हटाउन माग गर्दै लुम्बिनी प्रदेशको प्रशासनिक केन्द्रको मूल गेटमा सोमबार धर्ना दिएपछि मुख्यमन्त्री आचार्यसँग भएको भेटघाटमा उनले पत्रकारहरूका जायज मागप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए।

मुख्यमन्त्री आचार्यले मिडिया क्षेत्र कमजोर हुँदा लोकतन्त्र नै कमजोर हुने र निरङ्कुशता हाबी हुने खतरा बढ्ने समेत बताए । 

सही र गलत विषयबारे जनतालाई सचेत गराउने तथा समाजको आँखा खोल्ने महत्त्वपूर्ण भूमिका सञ्चार क्षेत्रले निर्वाह गरिरहेको समेत उनले बताए।

उनले सङ्घीय सरकारले जारी गरेको विज्ञापन सम्बन्धी परिपत्रका कारण निजी सञ्चारमाध्यमहरू समस्यामा परेको उल्लेख गर्दै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्रै दिने व्यवस्था व्यवहारिक नभएको बताए । 

भेटघाटका क्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य लिला शाह, लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईं, दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदी लगायतले सञ्चार क्षेत्रले भोगिरहेका समस्या तथा आर्थिक सङ्कटका विषयमा धारणा राखेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप