इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
सारांश
- चार पटकको विश्व विजेता जर्मनीले फिफा विश्वकप २०२६ को छनोट खेलमा नवप्रवेशी कुरासाओलाई ७-१ गोलले पराजित गरेको छ ।
- यस जितसँगै जर्मनीले नयाँ टोलीहरूविरुद्ध आफ्नो पुरानो दबदबा कायम राखेको छ भने कुरासाओ विश्वकप खेल्ने इतिहासकै सबैभन्दा सानो राष्ट्र बनेको छ ।
- कुरासाओका लागि यो खेल ऐतिहासिक बन्यो किनकि उनीहरूले विश्वकपमा आफ्नो पहिलो गोल गरे र विश्वकपमा डेब्यु गर्ने सबैभन्दा सानो राष्ट्र बने ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘इ’ को खेलमा चार पटकको विश्व विजेता जर्मनीले सानदार सुरुवात गर्दै नवप्रवेशी कुरासाओमाथि ७–१ को फराकिलो जित दर्ता गरेको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा आइतबार भएको खेलमा जर्मनीले नवप्रवेशी र कम अनुभवी टोलीहरूविरुद्ध हाबी हुने आफ्नो ऐतिहासिक बिरासतलाई पुनः निरन्तरता दिएको छ ।

जर्मनीका लागि काइ हाभर्ट्जले दुई गोल गरे भने फेलिक्स नमेचा, निको स्लोटरबेक, जमाल मुसियाला, नथ्यानियल ब्राउन र डेनिज उन्डाभले एक–एक गोल थपे । कुरासाओका लागि खेलको २१औं मिनेटमा लिभानो कोमेनेन्सियाले बराबरी गोल फर्काएर केही समय दबाब सिर्जना गरे पनि त्यो पर्याप्त रहेन ।
यो खेल कुरासाओका लागि हारका बाबजुद ऐतिहासिक बन्यो । करिब १ लाख ५६ हजार जनसंख्या भएको कुरासाओ फिफा विश्वकप खेल्ने इतिहासकै सबैभन्दा सानो राष्ट्र बनेको छ । यसअघि यो कीर्तिमान आइसल्याण्डको नाममा थियो । कोमेनेन्सियाले गरेको गोल कुरासाओका लागि विश्वकप इतिहासकै पहिलो गोलको रूपमा दर्ज भएको छ ।

जर्मनीले यस जितसँगै नयाँ टोलीहरूविरुद्ध आफ्नो पुरानो लय र दबाबलाई कायमै राखेको छ। सन् १९५४ मा दक्षिण कोरियालाई ७–२ र टर्कीलाई ७–२ ले नै हराएको जर्मनीले सन् २००२ मा साउदी अरेबियामाथि ८–० को ऐतिहासिक जित निकालेको थियो । यद्यपि, सन् २०१८ र २०२२ को विश्वकपमा समूह चरणबाटै बाहिरिएर केही खस्किएको छवि बनाएको जर्मनीले आफूलाई पुनः लयमा फर्काएको संकेत दिएको छ । पछिल्ला १० खेलमध्ये ९ खेलमा जित निकाल्दै २८ गोल गरेको जर्मनीले आजको फराकिलो नतिजाबाट आफूलाई उपाधि दाबेदारका रूपमा उभ्याएको छ ।

हारका बाबजुद कुरासाओले विश्व फुटबलको सबैभन्दा ठुलो मञ्चमा आफ्नो उपस्थिति र पहिलो गोलमार्फत सुखद स्मृति बटुलेको छ भने जर्मनीले ३ अंकका साथ विश्वकप यात्रालाई बलियो बनाएको छ ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण