आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

अस्पताल अलग हुँदैमा मदन भण्डारी प्रतिष्ठान हेटौँडाबाट सर्दैन : मन्त्री लामा

बिहीबार, २४ चैत २०७८, ०६ : ५०
बिहीबार, २४ चैत २०७८

बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडाबाट सार्न खोजिएको भन्दै फैलाएको हल्ला गलत भएको बताएका छन् । उनले हेटौँडा अस्पतालबाट अलग गरेर प्रतिष्ठानलाई छुट्टै स्वायत्त संस्थाको रूपमा आफ्नै अस्पताल सहितको भौतिक संरचना निर्माण गरी सञ्चालनमा ल्याउने योजना रहेको उनले बताए । उनले प्रतिष्ठान कुनै पनि अवस्थामा हेटौँडाबाट नसर्ने बताए ।

मकवानपुरका राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरूसँग मन्त्रालयमा छलफल गर्दै मन्त्री लामाले प्रतिष्ठान हेटौँडाबाट सार्न खोजेको भन्ने कुरा भ्रम मात्रै भएको जिकिर गरेका हुन् । प्रतिष्ठानका लागि हेटौँडामा नै जग्गा प्राप्त गरेर संरचना बनाउने प्रक्रिया अघि बढेकोले अन्यत्र सर्ने कल्पना नगर्न उनले आग्रह गरे । हेटौँडा अस्पतालको अहिलेकै संरचना र अवस्थामा चिकित्सा शिक्षाका मास्टर्स तहको अध्ययन गराउन सकिने अवस्था नभएकाले नजिकैको अस्पताल भरतपुरलाई अध्ययनका लागि वैकल्पिक व्यवस्था मिलाइएको उनको भनाई छ ।

उनले हाल प्रतिष्ठानमा स्नातक तहका ३ विषयको कक्षाहरू हेटौँडामा नै सञ्चालन भइरहेको र उनीहरूको प्रयोगात्मक कक्षा मात्र भरतपुर अस्पतालमा हुने बताए । प्रतिष्ठान बागमती प्रदेशको गौरव भएकाले यसलाई व्यवस्थित गर्न प्रदेश सरकारबाट २० करोड र संघीय सरकारबाट संरचनाका लागि ९५ करोड रुपैयाँ बजेट उपलब्ध भएकोले हेटौँडामा पूर्वाधार विकासको कामका लागि तयारी भइरहेको उनको भनाई छ ।

उनले अघिल्लो सरकारले जग्गा समेत प्राप्ति नगर्दा काम अघि बढाउन समस्या भएकाले यसको यथाशीघ्र समाधान गरिने बताए । हेटौँडा अस्पताललाई बागमती प्रदेशकै नमुना अस्पताल बनाउन प्रदेश सरकारले विगतमा पनि बजेट उपलब्ध गराएको र अहिले पनि उपकरण र जनशक्ति थप गर्नेतर्फ काम भइरहेकोले अस्पतालको सेवा झन् प्रभावकारी बनाइने उनको आग्रह छ ।

उनले अफवाह र भ्रममा नपर्न र प्रतिष्ठान र अस्पताललाई थप प्रभावकारी र व्यवस्थित गर्न राजनैतिक दलहरूको समेत बुझाइ आवश्यक रहेकाले उपलब्ध गराउन आग्रह गरे । प्रतिष्ठानको ऐनले पुरानो सामाजिक विकास मन्त्रालयको परिकल्पना गरेको लगायतका विषयमा सुधार गर्नुपर्ने भएकाले पनि अध्यादेश आवश्यक भएको बताए । सरोकारवालाहरूको माग अनुसार हेटौँडा अस्पताललाई थप सशक्त बनाउन प्रतिष्ठानबाट अलग गरिएको उनको भनाई छ ।

प्रतिष्ठान अहिलेकै अवस्थामा भने चल्न नसक्ने भएकाले यसलाई प्रभावकारी ढङ्गबाट अघि बढाउन प्रतिष्ठानसम्बन्धी अध्यादेश ल्याएको बताउँदै मन्त्री लामाले प्रतिष्ठान स्थापनाकाल देखि ३ वर्षसम्ममा देखिएका समस्यालाई पनि अहिले समाधानको काम भइरहेको बताए ।

छलफलमा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, काँग्रेस मकवानपुरका सभापति बुद्ध लामा, सचिव भीमसेन महत, माओवादी केन्द्र मकवानपुरका सचिव भीम पाख्रिन, राप्रपा नेपाल मकवानपुरका गुरुप्रसाद सापकोटा, मन्त्रालयका सचिव बद्रीबहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप