आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : सरकारको आर्थिक नीतिप्रति एमालेसम्बद्ध पूर्व अर्थमन्त्रीहरुको कडा आलोचना, चुनावी तयारीमा दलहरु

आइतबार, २७ चैत २०७८, २१ : ५५
आइतबार, २७ चैत २०७८

आज २०७८ चैत २७ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलको खाका बनाउने जिम्मा शीर्ष नेतृत्वलाई, धमाधम उम्मेदवार छान्दै एमाले, कमल थापाकै गृहजिल्लामा राप्रपाको शक्ति प्रदर्शन, सरकारको आर्थिक नीतिप्रति एमालेका तीन पूर्व अर्थमन्त्रीको यस्तो आरोप, विप्लवको १२ बुँदे सर्कुलर, स्थानीय तहको निर्वाचनबारे के भनियो ? नेकपा एकीकृत समाजवादीले वैशाख ८ गतेभित्र उम्मेदवार टुङ्ग्याउने, पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनहरुको चेतावनी लगायत छन् ।

१. सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलको खाका बनाउने जिम्मा शीर्ष नेतृत्वलाई
सत्तारुढ पाँच दलीय गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिले स्थानीय तह निर्वाचनमा हुने तालमेलको मोडालिटी टुंगो लगाउने जिम्मा शीर्ष नेतृत्वलाई दिएको छ । आइतबार बसेको बैठकले तल्लो तहबाट आएको सुझावमा छलफल गर्दै तीन सुझाव र प्रतिवेदन शीर्ष तहको बैठकमा पेस गर्ने निर्णय गरेको हो । यसैबीच सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचन लगायत समसामयिक विषयमा सोमबार संयुक्त अपिल जारी गर्ने भएको छ ।

​२. धमाधम उम्मेदवार छान्दै एमाले
स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले धमाधम उम्मेदवार छान्न थालेको छ । एमालेले केही स्थानीय तहमा उम्मेदवार चयन गरेको हो । तल्लो कमिटीबाट सर्वसम्मत सिफारिस गरिएका आधारमा एमालेले ती स्थानीय तहका लागि उम्मेदवारको टुंगो लगाएको हो । आकांक्षी बढी भएका स्थानीय तहमा भने एमालेले सबै आकांक्षीको नामसहित उम्मेदवारीका लागि माथिल्लो निकायमा सिफारिस पठाएको छ ।

​३. कमल थापाकै गृहजिल्लामा राप्रपाको शक्ति प्रदर्शन
राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न सहरमा शक्ति प्रदर्शन गर्ने क्रमलाई निरन्तरता दिएको छ । यसै क्रममा राप्रपाले आइतबार कमल थापाको गृह जिल्ला मकवानपुरमा शक्ति प्रदर्शन गरेको हो । हालै सम्पन्न महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका थापा राप्रपाबाट अलग भएर अहिले राप्रपा नेपालको नेतृत्व गरिरहेका छन् । राजेन्द्र लिङदेनको नेतृत्वमा रहेको राप्रपाले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै दैनिकजसो विभिन्न सहरमा शक्ति प्रदर्शन गर्दै आएको छ । 

४. सरकारको आर्थिक नीतिप्रति एमालेका तीन पूर्व अर्थमन्त्रीको यस्तो आरोप
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नौ महिनाअघि आफूले सरकार छोड्दा देशको अर्थतन्त्रका सबै सूचक राम्रो रहे पनि वर्तमान गठबन्धन सरकारको गलत कार्यनीति र कार्यशैलीका कारण मुलुकको अर्थतन्त्र सङ्कटोन्मुख अवस्थामा पुगेको दावी गरेको छ । आइतबार एमालेका तीनजना पूर्व अर्थमन्त्रीले पत्रकार सम्मेलन गर्दै मुलुकको हालको अर्थतन्त्रको अवस्था र आफ्नो नेतृत्वको सरकारले छोडेको अर्थतन्त्रको फेहरिस्त सुनाएका थिए ।

५. विप्लवको १२ बुँदे सर्कुलर, स्थानीय तहको निर्वाचनबारे के भनियो ?
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय समिति बैठकपछि मातहतका निकायमा सर्कुलर पठाएको छ । कपिलवस्तुमा सम्पन्न केन्द्रीय समिति बैठकले लिएका निर्णयहरु कार्यान्वयन गर्ने उद्देश्यका साथ विप्लवले पार्टीका इन्चार्ज र सेक्रेटरीलाई सर्कुलर पठाएका हुन् । सर्कुलरमा नेताहरुको कार्यविभाजन, सम्पत्ति विवरणको खोजी, पार्टी हित विपरितका गतिविधि गर्नेलाई कारबाहीदेखि केही नेताको कारबाही फिर्तासम्मका विषय छन् । सर्कुलरमा स्थानीय तहको निर्वाचनका सन्दर्भमा पार्टीको धारणा पनि समेटिएको छ ।

६. नेकपा एकीकृत समाजवादीले वैशाख ८ गतेभित्र उम्मेदवार टुङ्ग्याउने
नेकपा एकीकृत समाजवादीले आगामी वैशाख ८ गतेभित्र स्थानीय तहमा उम्मेदवारी दिनेहरूको नामावली टुंगो लगाउने भएको छ । चैत २६ र २७ गते बसेको समाजवादीको सचिवालय बैठकले उम्मेदवारको सम्बन्धमा टुंगो लगाउन समय तालिका निर्धारण गरेको हो । 

७. पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध विद्यार्थी संगठनहरुको चेतावनी
देशका प्रमुख विद्यार्थी संघ सङ्गठनहरुले अन्तर्राष्ट्रिय बजारको कारण देखाएर पेट्रोलियम पदार्थको मूल्यवृद्धि जारी राखे निर्णायक सङ्घर्षमा जान बाध्य हुने चेतावनी दिएको छ । विद्यार्थी सङ्गठनहरूको आइतबार सम्पन्न संयुक्त बैठकले पटक पटक र बेलगाम रूपमा भइरहेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको सन्दर्भमा सरकारको ध्यानाकर्षण गर्न गराएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले अर्थतन्त्रमा देखिएको समस्या छिट्टै समाधान गर्नु पर्ने बताएका छन । उनले नेपाल चेम्बर अफ कमर्सको ७१ औ वार्षिकोत्सवमा बोल्दै अर्थतन्त्रको समस्या समाधान गर्नु पर्ने बताएका हुन । 

स्थानीय तह निर्वाचन आउन अब ३३ दिन मात्र बाँकी छ । १३ दिनपछि मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन तालिका छ । अधिकांश राजनीतिक दलहरूले पार्टीको नीति तथा कार्यक्रम समेटिएको घोषणापत्र सार्वजनिक गरेका छैनन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप