शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

तालिम प्रतिष्ठान बनाउने श्रम मन्त्रालयको तयारी

मङ्गलबार, २९ चैत २०७८, १० : ११
मङ्गलबार, २९ चैत २०७८

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दीर्घकालीन रोजगारी सिर्जना तथा सीप विकासका लागि अधिकारसम्पन्न तालिम प्रतिष्ठान बनाउने तयारी अघि बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ललितपुरको भैंसेपाटीस्थित व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान, भैंसेपाटीलाई पुनर्संरचना गरी अधिकारसम्पन्न संस्थाका रुपमा विकास गरिने बताएका हुन् । 

प्रतिष्ठानमा आयोजना गरिएको छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले एक दर्जन बढी सरकारी निकायले उस्तै प्रकारको तालिम कार्यक्रम संचालन गरे पनि परिणाममुखी नभएकोले गुणस्तरीय र अन्तर्राष्ट्रिय मापदण्डको तालिम प्रदान गर्न नीतिगत तथा कानुनी व्यवस्थाका लागि तयारी अघि बढाइएको बताए ।

मुलुकमा लाखौँ युवा बेरोजगार भएर बस्नुपर्ने विद्यमान अवस्था अन्त्यका लागि मन्त्रालयले सीप विकास गरी दीर्घकालीन रोजगारी सिर्जना गर्न अधिकारसम्पन्न स्वायत्त तालिम प्रतिष्ठानको अवधारणा अघि बढाएको हो । ठुलो संख्यामा श्रमशक्तीलाई सीपयुक्त बनाउने, एकीकृत तथ्याङ्क प्रणाली विकास गर्ने र स्वदेशी तथा विदेशी रोजगारदातासँग समन्वय गरी युवाहरुलाई रोजगारीमा आवद्ध गराउने मन्त्रालयको योजना छ । मन्त्री श्रेष्ठले प्रतिष्ठानको स्तरोन्नती गरी सीप परीक्षण तथा प्रमाणीकरणको व्यवस्था समेत गरिने बताए ।

मन्त्रालयका सचिव एकनारायण अर्यालले राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा माग भएअनुसार सीपयुक्त जनशक्ति उत्पादनका लागि प्रतिष्ठानलाई अधिकारसम्पन्न बनाउनुपर्ने बताए । प्रतिष्ठानलाई गुणस्तरीय, विश्वसनिय र प्रतिस्पर्धी बनाउन नीतिगत, कानुनी तथा संरचनागत सुधार आवश्यक रहेको सचिव अर्यालले बताए ।

प्रतिष्ठानका कार्यकारी निर्देशक प्रेमलाल लामिछानेले आफ्नै प्रत्यक्ष व्यवस्थापन तथा तालिम प्रदायक संस्थामार्फत आधारभूत तालिम, उद्यमशील तालिम, प्रशिक्षक प्रशिक्षण गरी ३ लाख १० हजार भन्दा धेरैलाई प्रतिष्ठानले तालिम प्रदान गरेको बताए । तालिम संचालनको छुट्टै नीति तथा कानुनको अभावले सीप विकास तालिम व्यवस्थित हुन नसकेको लामिछानेले बताए । तालिम प्रदायक र रोजगारदाताबीच समन्वयको अभाव साथै तालिम प्रदायक संस्थाहरूबीच पनि समन्वयको हुन नसकेको भन्दै उनले एकद्वार प्रणाली विकास गर्नुपर्ने बताए । प्राविधिक तथा व्यावसायिक शिक्षा र सीप तालिम कार्यक्रमहरु अहिले विभिन्न मन्त्रालय, विभाग तथा अन्य सरकारी तथा गैरसरकारी निकायहरुले संचालन गरेपनि  लगानीअनुसार प्रतिफल भने प्राप्त गर्न सकेको देखिँदैन । सीप विकास तालिम कार्यक्रमलाई गुणस्तरीय तथा प्रतिस्पर्धी बनाउन यसलाई व्यवस्थित गर्नुपर्ने आवाज उठिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप