शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

खेलकुदलाई चलायमान बनाउन बाध्यकारी अवस्थामा नवौँ खेलकुद

चुनावमा खटिनु पर्दा विभागीय टोलीलाई असर
सोमबार, ०५ वैशाख २०७९, ०९ : ०४
सोमबार, ०५ वैशाख २०७९

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठ २२ गतेबाट पोखरामा हुँदैछ । प्रतियोगिताको मिति गत फागुनमा तोकिए पनि सदस्य–सचिवको विवादका कारण समयमै हुन सकेन । सरकारले प्रतियोगिता जेठमा आयोजना गर्ने निर्णय गर्‍यो । अब प्रतियोगिताका लागि लामो समय छैन । चुनावी माहौल र परीक्षाको बीचमा हुन लागेको नवौँ खेलकुदका लागि तयारी चुनौतीपूर्ण छ । प्रदेशका खेलाडीदेखि विभागीय टोलीहरूलाई चुनावको समयमा खेलाडी तयार पार्न सहज छैन । 

स्तरीय खेलाडीको आगमनमा धेरै तयारी चाहिन्छ । हतारमा सुन्दर खेल पस्कन सम्भव छैन । भौतिक पूर्वाधार र बजेटको कुराले प्रदेशका खेलाडीहरूलाई पिरोलेको छ । यता विभागीय टोलीहरू आफूसँग पर्याप्त भौतिक पूर्वाधार भए पनि चुनावी माहौलमा भरसक खेलकुद प्रतियोगिता नहोस् भन्ने धारणामा छन् । किनभने सरकारले नै नेपाल पुलिस, सशस्त्र प्रहरी र आर्मीलाई चुनावमा परिचालन गरेको हुन्छ । विभागीय टोलीका धेरै जसो खेलाडीहरू जागिरे छन् । 

राष्ट्रिय खेलकुदको तयारीको विषयमा आइतबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा तीन विभागीय र सातै प्रदेशका सदस्य–सचिवहरूको बैठक बस्यो । बैठकले नवौँ खेलकुद प्रतियोगिताका विषयमा छलफल गरेको थियो । 

चुनावी माहौलमा असहज 

स्थानीय तहको चुनाव आगामी वैशाख ३० गते हुँदैछ । विभागीय टोलीमा रहेका खेलाडीहरू धेरै जागिरे हुन्छन् । राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सबै खेलाडीलाई विभागीय टोलीले बिदा दिन सक्ने अवस्था पनि छैन । तयारी र छनोटका लागि समय दिँदा खेलाडीहरू चुनावको समयमा भाग लिन सक्ने छैनन् । एपीएफका खेलकुद म्यानेजर विजय केसीले चुनावको समयमा राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदा असहज हुने बताए । उनले खेलाडीहरूलाई सुरक्षाका लागि खटाएको अवस्थामा खेलकुद प्रतियोगिता गर्दा धेरै समस्या आउने भए पनि निर्धारित समयमा खेलकुद प्रतियोगिता हुनैपर्ने भएकाले आफूहरू केही लचिलो भएको बताए । केसीले सदस्य–सचिवसँग आफ्नो समस्या राखे पनि त्यो विषयमा छलफल हुन बाँकी रहेको बताए । आज सबैले आआफ्नो धारणा राखेको र त्यसको जवाफ सदस्य–सचिवले दिने बताए । ​

बाध्यकारी अवस्थामा प्रदेश 

नवौँ राष्ट्रिय खेलकुदका लागि संघीय सरकारले नै निर्णय गरिसकेपछि अहिले प्रदेश सरकार बाध्यकारी अवस्थामा छ । तर, खेलाडी छनोट र प्रतियोगिताको तयारीका लागि भने प्रदेश खेलकुद परिषद् पूर्ण रूपमा तयार देखिँदैनन् । कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव विश्वमित्र संज्यालले राखेपले नै गरेको निर्णयलाई आफूहरूले पालना गरेर जति समय छ, त्यही समयमा गर्न सक्ने बताए । 

‘मन्त्रीपरिषद्को निर्णयले नै नवौँ खेलकुदको मिति तोक्यो । हाम्रो तयारी धेरै छैन । कमै समयमा सम्भावित खेलमा केही पदक आशा छ । अन्य खेलमा सहभागिताको नाममा मात्र सहभागिता जनाउनेछौँ । हामी दसौँ राष्ट्रिय खेलकुदको तयारीका लागि अघि बढेका छौँ । त्यसैमा धेरै फोकस छ,’ संज्यालले रातोपाटीसँगको कुराकानीमा भने । 

यता वाग्मती प्रदेश भने नवौँ खेलकुदका लागि तयारी भएको बताउँछ । प्रदेश खेलकुद प्रतियोगिता गरेर सकेको बागमती प्रदेशले नवौँ खेलकुदका लागि आठ खेलका खेलाडी छनोट गरिसकेको छ । अन्य खेलका लागि पनि खेलाडी छनोट गर्ने तयारीमा बागमती प्रदेश छ । वाग्मती प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव सूर्य भण्डारीले राखेपले तोकेको समयमा आफूहरू तयारी गर्न सक्ने बताए । ‘आठ खेलको खेलाडी छनोट भइसकेका छन् । बाँकी खेलको तयारी पनि हामी समयमा नै गर्नेछौँ,’ भण्डारीले रातोपाटीसँगको कुराकानीमा भने । 

गण्डकी प्रदेशको तयारी कस्तो छ ? 

गण्डकी प्रदेश पनि अहिले नवौँ खेलकुदका लागि तयारी अवस्थामा छ । नवौँका लागि गण्डकीमा लगभग खेलकुद पूर्वाधार तयार छन् । फेन्सीङ र पौडीका लागि पूर्वाधार तयार नभएपनि अन्य सबै खेलको लागि तयार भएको प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशका सदस्य–सचिव तेजबहादुर गुरुङले बताए । 

‘नवौँ खेलकुद प्रतियोगिता पुरानो अवस्थामा हुने सम्भावना छैन । यस्तो अवस्थामा प्रतियोगिता हुनु नै ठूलो कुरा हो । तयारीका लागि लामो समय नभएपनि हामी सफलतापूर्वक सम्पन्न गर्नेछौँ,’ उनले भने । गुरुङले गण्डकी प्रदेशका ११ जिल्लामा एक–एक खेल प्रतियोगिता गर्ने लक्ष्य लिएको जनाए । उनले सबै जिल्लालाई अपनत्वको आभास होस् भन्ने उद्देश्यले सबै जिल्लामा प्रतियोगिता गर्ने लक्ष्य लिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप