शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

वानेश्वरमा ओलीको भाषण : अनिल शर्मा कलिलो भए छिप्पिएको म छु (फोटोफिचर सहित)

मङ्गलबार, १२ मङ्सिर २०७४, १८ : १२
मङ्गलबार, १२ मङ्सिर २०७४

काठमाडौं–एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं क्षेत्र नम्बर १ का वाम गठबन्धनका उम्मेदवार अनिल शर्माको जित सुनिश्चित रहेको बताएका छन् । 
राजधानीको नयाँ वानेश्वरमा मंगलबार आयोजित  वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले सोहि क्षेत्रका कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले ‘कलिलो उम्मेदवार’ भन्दै हिँड्ने गरेको भन्दै अनिलसँग छिप्पिएको केपी ओली पनि सँगै रहेको हेक्का राख्न चेतावनी दिए । 
‘अनिल शर्मा कलिलो भयो भनेर प्रकाशमानजी हिँड्ने गर्नु भएको सुनेको छु’, उनले भने, ‘अनिल शर्मा कलिलो भए साथमा  छिप्पिएको म सँगैछु । ’
उनले अनिल शर्माले   क्षेत्र नम्बर एकको विकासका लागि योजना ल्याउने र आफूले बजेट  दिने समेत बताए। 
अनिल शर्मामा छलकपट केहि नरहेको  बताउँदै ओलीले अगाडि भने, ‘अनिल शर्मा अघिअघि हिँड्दै गर्दा हामी पछिबसेर उनलाई पूर्ण सहयोग गछौं,  अनिलले विकास गर्छन् । उनको जिम्मा म लिन्छु ।’


 सो क्षेत्रका  कांग्रेस उम्मेदवार प्रकाशमान सिंह र विवेकशील साझा पार्टीका रविन्द्र मिश्रप्रति आक्रामक देखिएका ओलीले   विकासका लागि  वाम गठबन्धन रोज्न आग्रह समेत गरे । 
रवीन्द्र मिश्रप्रति इगित गर्दै उनले राजनीति  समाचार पढ्नुजस्तो सजिलो नभएको बताए । ‘राजनीति अर्काको समाचार पढेजस्तो होइन । नलेखिएको कुराहरु लेख्नुपर्ने ठाउँ हो’, उनले भने, ‘ तरपनि जागिर छाडेर आउनु भएको छ । त्यो राम्रो हो ।  उनले विवेकशील साझा पार्टीमा  युवाहरुको पनि सहभागिता देखिनुचाँहि सकारात्मक रहेको  बताउँदै  भने, ‘भाईबैनीहरु  पनि राजनीति सिक्दैछन् । त्यो चाहिँ खुसी लागेको छ ।’   


देशमा नाकाबन्दी लाग्दा  प्रकाशमानले युएनमा गएर नाकाबन्दी नै लागेको छैन भन्ने अभिव्यक्ति दिएको आरोप समेत ओलीले लगाउँदै  उनलाई जनताले राम्ररी चिनेको टिप्पणी गरे । 
अव  वाम गठबन्धनको दुई तिहाई आउने र देश विकासमा लाग्ने भन्दै ओलीले कांग्रेस त्यही बुझेर हतोत्साहित बनेको आरोप लगाए । ‘कांग्रेस देश दौडाहामा लागेको छ ।   तर न योजना छ न कार्ययोजना छ’, ओलीले भने, ‘कम्युनिष्टले जिते लोकतन्त्र समाप्त हुन्छ भन्छन् । त्यसपछि बोल्ने  केहि कुरा हुँदैन, जय नेपाल भनेर टुंग्याउँछन् ।’

यस्तै  एमाले नेता माधव नेपालले कम्युनिष्ट मिल्दा कांग्रेसमा छट्टपटाहट भएको भन्दै  आफूबारे कुप्रचार समेत गर्न थालिएको बताए । 
यसैगरी माओवादी केन्द्रका नेता जनार्दन शर्माले देशका भ्रष्टाचारी  र अपराधीहरु खोज्नलाई उज्यालो अभियान थालिएको भन्दै  बाम गठबन्धन समृद्धिका लागि भएको बताए । 


यस्तै क्षेत्र नम्बर १ का वाम गठबन्धन उम्मेदवार अनिल शर्माले आफूले जनतासामु सपना नबाँड्ने भन्दै जनताको आधारभूत आवश्यकता परिपूर्तिमा लाग्न भने कुनै कसर बाँकी नराख्ने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप