शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेसभित्र महानगर र उपमहानगरको भागबण्डा : केन्द्रभन्दा प्रदेशमा सन्तुलन मिलाउन कठिन

शुक्रबार, ०९ वैशाख २०७९, १६ : २९
शुक्रबार, ०९ वैशाख २०७९

नेपाली काँग्रेसभित्र आसन्न स्थानीय स्थानीय तह निर्वाचनको टिकट वितरणको चर्को हिसाब किताब भइरहेको छ । सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला समूहबीच पालिका प्रमुख–उपप्रमुखको टिकटका लागि हानथाप छ । सत्ता गठबन्धनभित्र महानगर र उपमहानगरपालिकामा सिट बाँडफाँट टुंगिएपछि काँग्रेसमा आन्तरिक भागबण्डाबारे छलफल सुरु भएको छ । यसबारे बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा काँग्रेस शीर्ष नेताबीच छलफल भएका थियोे । आज पनि बालुवाटारमा भएको छलफलमा भागबण्डामा कुरा नमिल्दा आजका लागि बोलाइएको कार्यसम्पादन समितिको बैठक स्थगित गरिएको छ । उक्त बैठक शनिबार ११ बजे बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकमा महानरपालिका प्रमुख–उपप्रमुखको उम्मेदवार तय गर्ने प्रवक्ता प्रकाशशरण महतको भनाइ छ ।

सत्ता गठबन्धनभित्र चुनावी तालमेलका क्रममा काँग्रेसको भागमा तीन महानगरपालिका मेयर र उपमेयर परेको छ । काँग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका प्रमुखमा गठबन्धनबाट साझा उम्मेदवार खडा गर्ने छ । यस्तै भरतपुर, पोखरा र वीरगञ्ज महानगरपालिका उपप्रमुखमा काँग्रेसले गठबन्धनबाट साझा उम्मेदवारी दिने छ ।

महानगरपालिकाको मेयर–उपमेयरका लागि काँग्रेसभित्र सभापति शेरबहादुर देउवा, नेता प्रकाशमान सिंह र शेखर कोइराला पक्षबीच हानथाप छ । काँग्रेसको शेखर कोइराला समूहले काठमाडौं र ललितपुर महानगरपालिकामा चासो राखेको छैन । काठमाडौं महानगरपालिकामा नेता प्रकाशमान सिंहको विशेष चासो छ भने विराटनगर महानगरपालिकामा शेखर समूहको मुख्य चासो छ ।

शेखर कोइरालाको गृहनगर समेत रहेकाले उक्त समूहले विराटनगरलाई प्राथमिकतामा राखेको छ । ‘विराटनगर महानगरपालिकाको मेयर कसलाई दिने भन्ने कुुरा सभापतिले सोध्नुभयो भने पार्टीभित्र सन्तुलन हुन्छ । देशभर सन्देश जान्छ,’ शेखर समूहका एक नेताले भने । 

​ललितपुरमा केन्द्रीय सदस्यहरु उदय शम्शेर राणा, जितजंग बस्नेत र मदन अमात्यको समन्वयमा सभापति शेरबहादुर देउवाले निर्णय लिने अवस्था छ । काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले तीन महानगरमा प्रमुख र उपप्रमुखको उम्मेदवार तय गर्दैछ ।

आन्तरिक भागबण्डामा रस्साकस्सी बढेपछि काँग्रेसभित्र प्रदेशमा भइरहेको आन्तरिक छलफलबाट बहुमतको प्रयोग गरेर जाने संकेत देखिएको छ । प्रदेशमा सन्तुलन नमिल्ने र पार्टीको जित्न सक्ने उम्मेदवारले टिकट नपाउने खतरा छ । काँग्रेस विधान अनुसार उपमहानगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवारको टिकट प्रदेश संसदीय समितिले दिने व्यवस्था छ ।

धरान, इटहरी, कलैया, बुटबल, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरमा गठबन्धनका तर्फबाट मेयरमा काँग्रेसका उम्मेदवार हुनेछन् । यस्तै काँग्रेसले जीतपुर सिमरा, घोराही, जनकपुर र हेटौंडा उपमहानगरमा उपमेयरका उम्मेदवार खडा गर्नेछ ।

महानगरपालिकामा संस्थापन पक्षको हात माथि भए पनि उपमहानगरमा शेखर कोइराला समूह हाबी हुने देखिन्छ । लुम्बिनी प्रदेश सभापतिमा शेखर कोइराला समूहका अमरसिंह पुन छन् ।

बुटबल, तुलसीपुर र नेपालगञ्जको मेयरको टिकट वितरणमा लुम्बिनी प्रदेश सभापति पुन हावी हुने छन् । यस्तै, घोराहीको उपमेयरको टिकट पनि लुम्बिनी प्रदेशले नै दिने छ । लुम्बिनी प्रदेशबाट पार्टीभित्रको सन्तुलन मिल्नेमा शेखर पक्ष विश्वस्त छ ।

शेखर कोइरालालाई गृह प्रदेशमा भने कृष्णप्रसाद सिटौला पक्षसँग डर छ । नेपाली काँग्रेस प्रदेश १ का सभापति सिटौला निकट उद्धव थापा छन् । धरान र इटहरी उपमहानगरपालिका प्रमुखको उम्मेदवार कोइराला पक्षले पाउने सम्भावना न्यून छ । धरान र इटहरीमा सभापति शेरबहादुर देउवा र सिटौला निकटले टिकट पाउने सम्भावना रहेको काँग्रेसका एक नेताले बताए ।

मधेस प्रदेशका महानगर र उपमहानगरपालिकामा सभापति देउवा र नेता विमलेन्द्र निधि पक्षबीच उम्मेदवारका लागि प्रतिस्पर्धा हुने छ । नेपाली काँग्रेस मधेस प्रदेश सभापति देउवा पक्षका कृष्ण यादव छन् । कलैया उपमहानगरपालिका मेयर, जीतपुर सिमरा र जनकपुर उपमहानगरपालिकाको उपमेयरको टिकट प्रदेश संसदीय समितिले वितरण गर्ने छन् । मधेस प्रदेशमा जनकपुर उपमहानगरपालिका निधि पक्षलाई दिनुपर्ने चर्को दबाब छ ।

निधि पक्षले जसपालाई मेयर छोडेको भन्दै विद्रोहको चेतावनी दिइरहेको छ । यस्तै सुदूरपश्चिम प्रदेशको एक मात्र धनगढी उपहानगरपालिका मेयरमा संस्थापन पक्ष निर्विकल्प जस्तै छ । सभापति शेरबहादुर देउवाको गृह प्रदेशमा उनी पक्षीय वीरबहादुर बलायर पार्टीको प्रदेश सभापति छन् ।

शेखर समूहले सभापति जितेको गण्डकी प्रदेश र देउवा पक्षीय सभापति रहेको कर्णाली प्रदेशमा उपमहानगरपालिका छैन । उक्त प्रदेशमा नगरपालिकाको मेयरका लागि देउवा र शेखर समूहबीच हानथाप छ । महानगर र उपमहानगरमा पार्टीभित्रको शक्ति सन्तुलन मिलाउनभन्दा नगरपालिका र गाउँपालिकामा गाह्रो रहेको पार्टीका एक पदाधिकारीले रातोपाटीलाई बताए ।

काँग्रेसमा नगरपालिकाको मेयर र उपमेयरको टिकट प्रदेश र गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवारी जिल्ला संसदीय दलले टुंग्याउने व्यवस्था छ । प्रदेश र जिल्लामा संस्थापन पक्ष हाबी छ । ७ मध्ये पाँच प्रदेश र ७७ जिल्ला मध्ये ४३ जिल्ला सभापति देउवा पक्षका छन् ।

शेखर कोइराला पक्षका एक नेताले केन्द्रभन्दा प्रदेश र जिल्लाबाट बढी पेलानमा परिने चिन्ता प्रकट गरे । ‘नगरपालिका टिकट वितरण प्रदेश संसदीय समितिले गर्छ । गाउँपालिका जिल्ला संसदीय समितिले गर्छ । पहिला सबै काठमाडौं आउँथ्यो । काठमाडौंमा आउँदा सन्तुलन हुन्थ्यो । केन्द्रमा नेताहरुले एकदमै अव्यवहारिक कुरा गर्न सक्दैनन्,’ उनी भन्छन्, ‘अर्को कुरा समूहका हिसाबले पनि सन्तुलन हुन्थ्यो । तर अहिले टिकट वितरण तलतल गयो । प्रदेश र जिल्लामा छलफल गर्दा बहुमत र सम्बन्ध प्रयोग गरेर पार्टीको सन्तुलन तलमाथि पर्ने अवस्था छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप