शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

फरक एजेन्डा बोकेको फरक पार्टी चुनावी मैदानमा, चुनाव चिह्न ‘लव’

शुक्रबार, १६ वैशाख २०७९, १७ : १२
शुक्रबार, १६ वैशाख २०७९

देशको राजनीतिमा विभिन्न दल विभिन्न एजेण्डा बोकेर क्रियाशील छन् । कोही गणतन्त्र पक्षधर छन् भने कोही राजसंस्थासहित हिन्दु राष्ट्रको एजेण्डा बोकेर राजनीतिमा सक्रिय छन् । यस्तैमा आमूल परिवर्तन (एपी) मसिह पार्टी नेपाल पनि पृथक एजेण्डासहित स्थानीय तहको चुनावमा होमिएको छ ।

क्रिश्चियन धर्मावलम्बीको बाहुल्यता रहेको यो दलले काठमाडौं महानगरपालिका, पोखरा लेखनाथ नगरपालिका लगायत देशका करिब २५ नगरपालिकामा उम्मेदवार खडा गरेको पार्टीका अध्यक्ष पास्टर भरत गिरीले रातोपाटीलाई जानकारी दिए ।

२०७३ सालमा निर्वाचन आयोगमा दर्ता भएको यो पार्टीमा १०७ सदस्यीय केन्द्रीय समिति छ भने ३३ जनाको सचिवालय छ । यो दलले देशभर रहेका करिब ३० लाख क्रिश्चियन धर्मावलम्बी, ४० लाख दलित समुदाय र ५० प्रतिशत जनजाति समुदायलाई आफ्नो मुख्य आधार मानेको अध्यक्ष गिरीले बताए ।

कहाँ-कहाँ उम्मेदवारी ?
आमूल परिवर्तन  मसिह पार्टी नेपालका तर्फबाट काठमाडौं महानगरपालिका सहित देशका विभिन्न स्थानीय तहमा उम्मेदवारी दर्ता भएको छ । काठमाडौं महानगरपालिकामा प्रमुखका लागि सो पार्टीबाट रुपा सुवालले उम्मेदवारी दिएकी छन् भने पोखरा महानगरपालिका प्रमुखमा मुना बानियाँ, उपप्रमुखका लागि सो दलका कास्की जिल्ला अध्यक्ष पदम बहादुर गुरुङले उम्मेदवारी दिएका छन् ।

यस्तै, सुनसरीको धरान उपमहानगरपालिका प्रमुखका लागि लोकेन्द्रबहादुर डंगोल र वराहक्षेत्र नगरपालिका प्रमुखका लागि भोलामान जिमीले उम्मेदवारी दिएको सो पार्टीले जनाएको छ । नुवाकोटको बेल्कोटगढी नगरपालिका प्रमुख पदमा सोम तामाङसहित केही वडामा पनि उम्मेदवारी दर्ता भएको अध्यक्ष गिरीले रातोपाटीलाई जनाए । उनका अनुसार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका प्रमुखका लागि नेत्रबहादुर तामाङ र उपप्रमुख पदका लागि लक्ष्मी न्यौपानेले उम्मेदवारी दिएकी छन् ।

यीसहित देशका २५ हाराहारी स्थानीय तहका लागि आफ्नो दलले उम्मेदवार खडा गरेको गिरीको भनाइ छ ।

२०७४ को संघीय चुनावमा आएको मतअनुसार २२ औं स्थानमा

एपी मसिह पार्टी २०७३ सालमा स्थापना भएको अध्यक्ष भरत गिरीले रातोपाटीलाई बताए । २०७४ सालको संघ र प्रदेशसभा निर्वाचनमा ५९ जना उम्मेदवार उठाएको र उनीहरुले पाएको मतका आधारमा आफ्नो पार्टी ४९ दलमध्ये २२ औं नम्बरमा आएको उनको दाबी छ ।

२०७४ को स्थानीय तहको चुनावमा भने पार्टीले चुनाव चिह्न पाइ नसकेकाले  केही स्थानीय तहमा स्वतन्त्र उम्मेदवार उठाएको उनले बताए । सोही वर्ष भएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावपछि पार्टीले गति लिएको उनको भनाइ छ ।

यस्तो छ जितको आकलन

सो दलका अध्यक्ष गिरीले तेह्रथुमको लालीगुराँस नगरपालिकामा दलको उपस्थिति राम्रो रहेको बताए, जहाँ पार्टीको तर्फबाट डेविड हाङ्ग मादेनले नगर प्रमुखको रुपमा उम्मेदवारी दिएका छन् । यस्तै नुवाकोटको बेलकोट गढी नगरपालिकाको वडा नम्बर ४ मा पनि संगठन बलियो भएकाले अन्य दलसँग कडा प्रतिस्पर्धा हुने उनले बताए । काभ्रेको पाँचखालमा २ वटा वडा जित्ने उनको दाबी छ ।

उनले भने, ‘अरु दलको चुनाव जित्ने आधार पैसा हो, हामी पैसा खर्च गर्न सक्ने अवस्थामा छैनौँ, धेरैमा एक कप चिया खुवाउन सकौँला । तर अरु पार्टीको मासुभात खाएर वा पैसा लिए पनि हामीलाई इमानदार पार्टीको रुपमा भोट हालिदिए हुन्थ्यो भन्ने हाम्रो भनाइ छ ।’

उनले आफ्नो पार्टीको आधार भनेको देशभर रहेका ३० लाख क्रिश्चियन समुदाय, ४० लाख दलित समुदाय र देशमा रहेका ५० प्रतिशत जनजाति समुदाय रहेको दावी गरे ।

काठमाडौं महानगरकी उम्मेदवार सुवालको प्रतिबद्धता : सडक कुकुरलाई नपुङ्सक बनाउनेदेखि मगन्तेलाई कारवाही गर्नेसम्म

एपी मसिह पार्टीको तर्फबाट काठमाडौं महानगरका प्रमुखका लागि उम्मेदवारी दिएकी रुपा सुवालले विभिन्न प्रतिवद्धता जनाएकी छन् । उनका प्रतिबद्धता यस प्रकारका छन्–

–महिला हिंसाको अन्त्य गर्नेछु

–काठमाडौं सहरमा भएको हरेक चोक र गल्ली–गल्लीमा फालिएको फोहोरको व्यवस्थापन गर्नेछु

–काठमाडौ सहरमा भएका भुस्याहा कुकुरहरूलाई सुई हानेर नपुङ्सक बनाई त्यसको बिगबिगीलाई रोकथाम गर्नेछु  

–सडक र पेटीहरूमा नाबालक बच्चाहरुलाई धुलोमा छोडेर बच्चाको नाउँमा सर्वसाधारणबाट पैसा असुल्ने जोकोहीलाई कडाभन्दा कडा कारबाही गर्नेछु

–काठमाडौं महानगरपालिकाको प्रत्येक जनताको छोराछोरीहरूलाई स्वास्थ्य, शिक्षा सित्तैमा र वृद्धवृद्धा भएपछि महानगरपालिकाले नै गाँस–बास’कपासको व्यवस्थापन गर्नेछु

–एक घर एक रुख बिरुवाको व्यवस्थापन गर्नेछु

–विदेश पलायन भएका सबै महानगरवासी युवाहरुलाई घर फर्काइ क्षमता अनुसारको रोजगारको व्यवस्था गरी महानगरपालिकाको विकासमा दिनको २ घण्टा श्रमदान गर्न लगाउँछु ।

स्वर्ग जान चाहने र ईश्वरको डर भएको मान्छेमात्र इमानदार नेता हुन्छ : अध्यक्ष गिरी

हाल देशमा क्रियाशील ठूला राजनीतिक दलका नेता इमानदार नभएका कारण देशमा भ्रष्टाचार बढेको, विकास निर्माणको काम नभएको, जनताले सुख नपाएको अध्यक्ष गिरीको दाबी छ । क्रिश्चियन धर्ममा आवद्ध नेताहरु स्वर्ग जान चाहने र ईश्वरको डर मान्ने भएका कारण इमानदार हुने उनले बताए ।

उनले भने, ‘यूरोप र अमेरिका विकसित हुने तर यता जनताको लागि विकास गर्छु भनेर मान्छे मारेर, जेल बसेर आएका नेताहरुले पनि जनताका लागि भनेका कुरा पूरा नगरेपछि के रहेछ त भनेर अनुसन्धान गर्दा के देखियो भने हृदयमा इमानदार हुने भनेको अँध्यारोमा एकान्तमा पनि मलाई कसैले देख्छ, उसले भनेको मानेन भने म अनन्तको आगोमा पर्नुपर्छ । हामी त स्वर्गको अनन्त सुखमा बस्ने भनेर हिँडेका छौँ । स्वर्गमा सुखमा बस्ने भनेर हिँडेको मान्छेले यहाँ गलत काम त गर्दैन ।’

त्यो खालको मन भएको नेता हिजो यूरोप र अमेरिकाले पाएका कारण नै ती देश अहिले धनी र विकसित भएको उनको भनाइ छ । उनले इसाई समुदाय, दलित समुदाय र जनजाति समुदायलाई लक्षित गरेर पार्टीलाई अगाडि बढाएको बताए । साथै पार्टीको सिद्धान्त आध्यात्मिक भौतिकवाद रहेको उनको भनाइ छ ।

उनले भने, ‘मैले यसो विचार गरेँ, ३० लाख बढी त हाम्रो इसाई जनसंख्या पनि छ । कानुनमा जातीय विभेद उन्मुलन गरे पनि व्यवहारमा त भएको छैन । दलित प्रथा हटाउनुपर्ने छ । अर्को बहुसंख्यक एकल धर्मका मान्छेले मात्र धेरै सुविधा पाएका छन् । यहाँ कुनै जाती र धर्मले धेरै सुविधा पाउने अरुले नपाउने अवस्था छ ।’

कसैले १३ हजार नपाएर अस्पतालबाट हाम्फाल्नुपर्ने अवस्था छ कसैले १३ करोड खर्च गरेर उपचार गर्न सक्ने अवस्था रहेका कारण यो देशले एउटा इमानदार नेता खोजेको उनको भनाइ छ । ‘त्यो इमानदार नेता भनेको ईश्वरको डर मान्ने नेता हो । त्यसका लागि त चर्चबाटै नेता ल्याउनुपर्ने हुन्छ,’ उनले भने, ‘म हिजो ११ वर्षदेखि राजनीतिमा लागेकाले मलाई राजनीतिबारे केही त थाहा छ । त्यसकारण ईश्वरको डरमा रहेर जनताको पक्षमा काम गर्नुपर्छ भनेर हामी लागेका हौँ ।’

को हुन् अध्यक्ष गिरी

२०३६ सालदेखि २०५४ सालसम्म माले तथा एमालेमा लागेर कम्युनिस्ट राजनीति गरेका गिरीले ५० सालमा आएर धर्म परिवर्तन गरी हिन्दूबाट क्रिश्चियन बनेका थिए । कम्युनिस्ट राजनीतिमा लागेर अघि बढ्न नसक्ने अवस्था देखेपछि उनले पार्टी छाडेका थिए । आध्यात्मिक बाटोमा लागेपछि पनि मरेपछिका लागि चिहानको व्यवस्था, क्रिसमशका बेला सार्वजनिक बिदा लगायतका अधिकारका लागि उनले संगठन बनाउन थालेका थिए ।

क्रिश्चियन धर्मावलम्बीका लागि चिहानको व्यवस्थाका लागि दबाव दिन  २०६४ सालमा ‘नयाँ संविधानमा ख्रिष्टियन सुझाव समिति’ भन्ने संस्था बनाएर विभिन्न निकायमा ज्ञापन पत्र बुझाउने काम गरेका थिए उनले । सो समितिको विकासका रुपमा पार्टीको जन्म भएको उनले बताए ।

गत फागुन ५ गते पार्टी स्थापनाको ५ बर्ष पुगेको अवसरमा सो दलले महाधिवेशन गरेको थियो । महाधिवेशनबाट आगामी ५ वर्षका लागि अध्यक्षमा गिरी नै निर्वाचित भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप