शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धनुषा: मेयरका ४ उम्मेदवारसहित सयभन्दा बढीले लिए उम्मेदवारी फिर्ता

शनिबार, १७ वैशाख २०७९, ०८ : ०७
शनिबार, १७ वैशाख २०७९

यही वैशाख ३० हुने स्थानीय तहको निर्वाचनको क्रममा भएको दाबी विरोध तथा उम्मेदवारी फिर्ताको क्रममा धनुषामा मात्रै १ सय भन्दा बढी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

धनुषा जिल्लाभरिमा मात्रै १ सय ९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् । १८ वटा स्थानीय तह रहेकोमा धनुषामा पालिका मेयर, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरू गरी १ सय ९ जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय धनुषाले जनाएको छ ।

धनुषामा एक उपमहानगरपालिका, ११ वटा नगरपालिका र ६ वटा गाउँपालिका रहेकोमा उम्मेदवारी दिनेहरूमध्ये उपमहानगरका दुई जना मेयर, नगरपालिकाका दुई मेयर र गाउँपालिकाका एक जना अध्यक्ष पदका उम्मेदवार सहित १ सय ९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

जनकपुरधाममा उम्मेदवारी दिएकाहरूमध्ये मेयर पदका दुई जना सहित १५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यहाँ मेयर पदमा उम्मेदवारी दिएका वैद्यनाथ साह, नन्दकुमार भगत, उपमेयर पदका उम्मेदवार विश्वनाथ साह सुडी र ११ जना वडाध्यक्ष र एक सदस्य पदमा उम्मेदवारी फिर्ता भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

मिथिला नगरपालिकामा दुई जना मेयरका उम्मेदवार सहित ११ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत दिपक धितालले बताए । उनले मेयरमा नेकपा एमालेबाट बागी भएर उम्मेदवारी दिएका निवर्तमान मेयर हरिनारायण महतो र जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएका चन्देश्वर महतोले उम्मेदवारी फिर्ता लिएको बताए । त्यस्तै वडाध्यक्ष पदका ५ र वडा सदस्य पदका ४ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत धितालले बताए ।

त्यस्तै धनुषाधाममा एक उपप्रमुख पदका उम्मेदवार सहित ७ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत चिरञ्जिवी गौतमले बताए । उनले लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट उपमेयर पदमा उम्मेदवारी दिएकी मेनका कुमारी सिंहले उम्मेदवारी फिर्ता लिएकी छन् । त्यस्तै वडाध्यक्षका २ जना र सदस्य पदका ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

त्यस्तै बटेश्वर गाउँपालिकामा एक गाउँपालिका अध्यक्षका उम्मेदवार सहित ३ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत उद्धव ढोडारीले बताए । बटेश्वरमा अध्यक्ष पदका उम्मेदवार खलेन्द्र बहादुर कटुवालले उम्मेदवारी फिर्ता लिएका छन् । त्यस्तै वडाध्यक्षका १ जना र दलित महिला सदस्य पदका एक जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको उनले बताए ।

त्यस्तै धनौजी गाउँपालिकामा समेत एक गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार सहित ३ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत पोषराज खनालले बताए । उनले  अध्यक्ष पदका उम्मेदवार लक्ष्मण मण्डल र दुईजना वडाध्यक्ष पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।

त्यस्तै विदेह नगरपालिकामा ५ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत अनुज भण्डारीले जानकारी दिए । विदेहमा वडाध्यक्ष पदका २ र महिला सदस्य पदका ३ जनाले उम्मेदवारी फिर्ता लिएकी छन् ।

त्यस्तै हंसपुर नगरपालिकामा एकजना सदस्य र एक दलित सदस्य सहित दुईजनाले उम्मेदवारी फिर्ता लिएको जनाइएको छ । त्यसैगरी सबैला नगरपालिकामा ६ जना वडाध्यक्ष र एक वडा सदस्य पदका उम्मेदवार सहित ७ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत वासुदेव पाण्डेले बताए ।

त्यस्तै क्षीरेश्वरनाथ नगरपालिकामा वडाध्यक्ष पदका ३, सदस्य ४, दलित महिला सदस्य २ र महिला सदस्य १ गरी १० जनाले उम्मेदवारी फिर्ता लिएको जनाइएको छ । त्यस्तै शहिदनगर नगरपालिकामा ७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । शहिदनगर नगरपालिकामा वडाध्यक्ष पदका १, सदस्य २, दलित सदस्य २ र महिला सदस्य २ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत उत्तम प्रसाद खरेलले बताए ।

त्यस्तै नगराईन नगरपालिकामा १४ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत सुदीप कुमार दंगालले बताए । उनले वडाध्यक्ष पदका ४, सदस्य ७ र महिला सदस्य पदका ३ जनाले उम्मेदवारी फिर्ता लिएको बताए । त्यस्तै मिथिला विहारी र कमला नगरपालिकामा वडाध्यक्ष पदका एक÷एक जनाले उम्मेदवारी फिर्ता लिएका छन् । गणेशमान चारनाथ नगरपालिकामा भने ३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

त्यस्तै मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा ३ जना, औरही गाउँपालिकामा ३ वडाध्यक्ष सहित ७ जना, लक्ष्मिनियाँ गाउँपालिकामा ८ जना र जनकनन्दनी गाउँपालिकामा २ जनाले उम्मेदवारी फिर्ता लिएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप