बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आईजीपी नियुक्तिमा असन्तुष्टि जनाउँदै २ एआईजी बिदामा

सोमबार, १९ वैशाख २०७९, १२ : ३५
सोमबार, १९ वैशाख २०७९

सरकारले धिरज प्रताप सिंहलाई २९ औँ प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेसँगै उनका प्रतिस्पर्धी दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बिदामा बसेका छन् ।

आईजीपीको प्रतिस्पर्धामा रहेका एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापाले लामो बिदा लिएका हुन् । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सिंहलाई आईजीपीमा नियुक्त गरेको थाहा पाएपछि दुवैले पेस गरेका थिए ।

अवकाशमा जानुअघि निवर्तमान आईजीपी शैलेश थापा क्षेत्रीले उनीहरूको बिदा स्वीकृत गरेका छन् । प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतका अनुसार वरीयताको एक नम्बरमा रहेका एआईजी पोखरेलले १ महिना लामो बिदा लिएका छन् । सहकुल थापाले १० दिनको घरबिदा लिएका छन् ।

​आईजीपीका प्रतिस्पर्धीहरू एउटै मितिमा प्रहरीमा भर्ना भए पनि फरक समयमा एआईजीमा बढुवा भएका थिए । विश्वराज पोखरेललाई २०७७ मङ्सिर २५ मा केपी शर्मा ओली नेतृत्वको सरकारले एआईजीमा बढुवा गरेको थियो । सहकुल थापा २०७८ असार २४ मा एआईजी भएका हुन् ।

२०७८ चैत १७ मा धिरज प्रताप सिंह र रवीन्द्र बहादुर धानुकलाई वर्तमान मन्त्रिपरिषद्ले एआईजीको दरबन्दी थपेर बढुवा गरेको थियो । एआईजीको वरीयता अनुसार विश्वराज अन्य प्रतिस्पर्धी भन्दा १६ महिना सिनियर थिए । सहकुल बहादुर थापा नवनियुक्त आईजीपी सिंहभन्दा ९ महिना सिनियर छन् । आईजीपी सिंह र रवीन्द्र बहादुर धानुकलाई सरकारले १ महिनाअघि  एआईजीमा बढुवा गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप