सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मे महिनाको अन्त्यतिर युक्रेनमा अमेरिकी दूतावास पुनर्स्थापना हुने

सोमबार, १९ वैशाख २०७९, २१ : १३
सोमबार, १९ वैशाख २०७९

अमेरिकाले युक्रेनमा यही मे महिनाको अन्त्यसम्ममा आफ्नो दूतावास पुनर्स्थापना गर्ने जनाएको छ । रुसी आक्रमणमा परेको युक्रेनको राजधानी किभमा अमेरिकाले आफ्नो दूतावास फेरि पुनर्स्थापना गर्न लागेको हो । 

गत फेब्रुअरीमा रुसले आक्रमण सुरु गरेपछि सुरक्षाको कारण देखाउँदै अनिश्चितकालका लागि दूतावास बन्द गरेको अमेरिकाले युद्ध नरोकिए पनि अहिले दूतावास पुनर्स्थापना गर्न लागेको अधिकारीहरूले जनाएका छन् । अमेरिकी कूटनीतिज्ञहरूका अनुसार दूतावास पुनर्स्थापनाका लागि आवश्यक गृहकार्य तीव्र रूपमा भइरहेको छ । 

“हामीले चाँडै दूतावास पुनर्स्थापना हुने अपेक्षा गरेका छौँ, त्यसका लागि अमेरिकाको तर्फबाट गर्नुपर्ने गृहकार्य भइरहेको छ,” एक सरकारी अधिकारीले पत्रकार सम्मेलनमा सोमबार भने । युक्रेनमाथि रुसले गरेको आक्रमणको सबैभन्दा चर्को विरोध गर्दै आएको अमेरिकाले रुसी आक्रमणकारीले आफ्नो दूतावासमा पनि आक्रमण गर्ने खतरा रहेको भन्दै दूतावास बन्द गरेर आफ्ना सबै कर्मचारीहरूलाई स्वदेश फिर्ता गरेको थियो । 

अमेरिकाले युक्रेनमाथि रुसले आक्रमण गर्न लागेको आरोप आक्रमण हुनुभन्दा केही दिन अगाडि देखि नै लगाउँदै आएको थियो । तर रुसले भने आक्रमणको तयारी नभएको दाबी गर्दै आएको थियो । अन्ततः फेब्रुअरी २४ मा अमेरिकाको आरोप सत्य साबित भयो । रुसको आक्रमणका कारण अहिलेसम्म युक्रेनमा सयौँको मृत्यु भएको छ भने लाखौँ विस्थापित भएका छन् । 

दुई देशको विवाद चर्किँदै गएपछि युद्धमा परिणत भएको हो । वार्ताको माध्यमबाट तत्काल युद्ध अन्त्य गर्न विश्व समुदायले आग्रह गरेको छ । सर्वत्र आग्रहका आधारमा आक्रमण भएको पहिलो हप्तामा केही चरणमा वार्ता भए पनि सफल हुन नसकेपछि युद्ध अहिले पनि जारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप