शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘स्यानिटरी प्याड र डाइपरमा नेपाल आत्मनिर्भर छ, सरकारले आयात रोक्नुपर्छ’

सरकारले अनुदान दिए निर्यात सम्भव
शुक्रबार, २३ वैशाख २०७९, ११ : १३
शुक्रबार, २३ वैशाख २०७९

नेपालमा पर्याप्त मात्रामा स्यानिटरी प्याड र बेबी डाइपरको उत्पादन हुन्छ । देशमा वर्षमा कूल ४० करोड थान स्यानिटरी प्याड खपत हुन्छ, जसमध्ये २५ करोड थान विदेशबाटै आउँछ । तर, नेपालको उत्पादन क्षमता नै ६० करोड थान छ ।  यस्तै, बेबी डाइपरको उत्पादनमा पनि नेपाल आत्मनिर्भर हुँदा–हुँदै पनि आयात भइरहेको छ । सरकारले आयात निरुत्साहित गर्न आवश्यक नीति लिँदै उत्पादन लागत घटाउन सके स्वदेशको माग धानेर चीन र भारतका ठूलो बजारमा निर्यातसमेत गर्न सकिने अवस्था छ । प्रस्तुत छ, यस विषयमा केन्द्रीत रही नेपाल उद्योग वाणिज्य महासंघका उद्योग समितिका सदस्य डोलराज अधिकारीसँग गरिएको छोटो कुराकानीः

नेपालमा स्यानिटरी प्याड र बेबी डाइपरको बजार स्थिति कस्तो छ ?

नेपालमा स्यानिटरी प्याड र बेबी डाइपर उत्पादन गर्ने झापा, विराटनगर, धनगढी, महेन्द्रनगरलगायत क्षेत्रमा २४ वटा उद्योग छन् । यी उद्योगमा करिब ७ अर्ब रुपैयाँ हाराहारीको लगानी छ, जसबाट २ हजार जनाले प्रत्यक्ष र ३ हजार जनाले अप्रत्यक्ष रोजगारी पाएका छन् । ४० करोड थान प्रतिवर्ष खपत हुन्छ भने उद्योगको उत्पादन क्षमता ६० करोड भन्दा बढी छ । विडम्वना विदेशबाट आयात २५ करोड थान हाराहारी हुन्छ, बाँकी खपत मात्रै स्वदेशी उत्पादनबाट हुन्छ ।

नेपालको उत्पादन क्षमता हुँदा–हुँदै ठूलो परिमाणमा आयात हुने गरेको छ भन्नुभयो । कस्तो छ आयातको स्थिति ?

गत आर्थिक वर्ष २०७७÷७८ मा १ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको स्यानिटरी प्याड आयात भएको थियो । यस्तै, सोही अवधिमा १ अर्ब ६२ करोड रुपैयाँको डाइपर आयात भएको थियो । यसै गरी, चालू आर्थिक वर्षको ९ महिनामा ९३ करोडको स्यानिटरी र १ अर्ब ५३ करोडको डाइपर आयात भएको छ । यसमा ९० प्रतिशत आयात भारतबाट हुँदै आएको छ । यस्तै, चीन, हङकङ, ताइवान र बेलायतबाट समेत यसको आयात हुने गरेको छ ।

सरकारले आयातलाई निरुत्साहन नगर्दा विदेशबाट ठूलो परिमाणमा आयात भइरहेको छ । नेपाललाई चाहिने मागअनुसारको उत्पादन यहीं भइरहँदा सरकारले आयात रोक्न वेवास्ता गरिरहेको छ । वर्षमा स्यानिटरी प्याड र बेबी डाइपर गरेर करिब ३ अर्ब हाराहारी रकम बाहिरिन्छ । यो रकम देशमै राख्न सके ब्यालेन्स अफ पेमेन्टमा परेको चापलाई समेत थेग्न सकिन्थ्यो ।

यहाँ उत्पादन हुने स्यानिटरी प्याड र बेबी डाइपरको कच्चा पदार्थ कताबाट आउँछ ?

नेपाल यी दुई वस्तुको तयारी उत्पादनमा आत्मनिर्भर भएपनि कच्चा पदार्थको उत्पादनमा आत्मनिर्भर छैन । क्यानडा, सिंगापुर, भारत र चीनबाट कच्चा पदार्थ आयात गर्नुपर्छ । यहाँ कच्चा पदार्थ उत्पादनका लागि ठूलो लगानी आवश्यक चाहिन्छ । एउटा उद्योग खोल्न १ अर्ब रुपैयाँ हाराहारीमा हुन्छ । तर, कच्चा पदार्थको उत्पादन गर्न २०÷२५ अर्बको लगानी आवश्यक पर्छ । यस्तो, स्थितिमा नेपालमा कच्चा पदार्थको उत्पादन सहज छैन । तर, सरकारले आवश्यक सहयोग गरेमा उत्पादन सम्भव पनि छ ।

सरकारले के गर्यो भने स्यानिटरी प्याड र बेबी डाइपरको आयात रोकिन्छ ?

यहाँ उत्पादन हुने वस्तुको लागत बढी छ । त्यसैले नेपालमै उत्पादन हुने वस्तुको लागत घटाउन सकेमा मात्रै आयात पूर्ण रूपमा घटाउन सकिन्छ । सरकारले उद्योग खोल्न चाहिने जग्गा उपलब्ध गराउनुपर्छ । यस्तै, उद्योगलाई दिइने बैंकको ब्याजदर निश्चित र अन्य कर्जाको तुलनामा सस्तो हुनुपर्यो । यसै गरी, बिजुलीमा उत्पादनमूलक उद्योगहरूलाई अनुदानको व्यवस्था दिनुपर्छ । यस्तै, विदेशबाट यी वस्तुको कच्चा पदार्थ आयात गर्दा ५ प्रतिशत भन्सार लाग्छ । तयारी वस्तु आयात गर्दा १५ प्रतिशत भन्सार दर छ । कच्चा पदार्थको भन्सार दर अझै घटाउन सकेमा मात्र लागत घट्न सक्छ ।

यसो हुन सकेमा आयातित वस्तुको तुलनामा स्वदेशी उत्पादनको मूल्य कम पर्न आउँछ । जसकारण, विदेशी उत्पादनको सट्टा स्वदेशी उत्पादन प्रयोग हुन सक्छ । तर, नेपाली उत्पादन भन्दै सरकारले प्रचार मात्रै गरिरहेर प्रयोगमा नआउन सक्छ । किनकि, स्वदेशीको तुलनामा विदेशी उत्पादन सस्तो भएपछि उपभोक्ताले त्यही रोज्छन् ।

नेपाल भारत र चीनजस्ता दुई विशाल बजारसँग जोडिएको छ । यता उत्पादन गरेर ती दुई ठूला बजारमा निर्यात गर्न सम्भव छैन ?

भारतमा १ अर्ब ३० करोड र चीनमा त्योभन्दा बढी जनसंख्या छ । यी मुलुकमा उत्पादन हुने परिमाण नेपालको तुलनामा बढी हुन्छ । ठूलो परिमाणमा उत्पादन गर्दा उत्पादन लागत पनि स्वतः न्यून हुन्छ । तर, पनि नेपालमा उत्पादन गरेर भारत र चीन निर्यातको सम्भावना छ । यसका लागि सरकारले केही नीतिगत व्यवस्था गरिदिनुपर्छ ।

विदेशबाट कच्चा पदार्थ आयात गर्दा भन्सार दर १ प्रतिशत हुनुपर्छ । बिजुलीमा अनुदान र उत्पादनमूलक उद्योगका लागि स्थिर ब्याजदर कायम गर्न सकेमा भारत र चीनका विशाल बजारमा निर्यात सम्भावना छ । अन्यथा, निर्यात सहज छैन ।

नेपालमा स्यानिटरी प्याड र बेबी डाइपरको उत्पादन इतिहास कस्तो छ ?

यहाँ स्यानिटरी प्याडको प्रयोग दुइ दशक अघिदेखि भएको हो । तर, व्यापक रूपमा प्रचलनमा आउन थालेको १२÷१३ वर्ष मात्रै भएको छ । विराटनगरको जस्मिन हाइजिन उद्योग पहिलो स्यानिटरी उद्योग हो । यो खुलेको १२÷१३ वर्ष भयो । त्यस यता नेपालमा अहिले सानाठूला गरेर २४ वटा यस्ता उद्योग छन् । र, यीमध्ये ४ वटा ठूला उद्योग हुन् ।

तपाईंको उद्योग एजी हेल्थ इन्डस्ट्रीको उत्पादन कस्तो छ ?

एजी हेल्थ इन्डस्ट्री खुलेको ५ वर्ष भयो । यो रुपन्देहीको मदौलियामा छ । र, यसबाट प्रतिमिनेट ४५० पिस बेबी डाइपर उत्पादन गर्छ भने प्रतिमिनेट ७ सय पिस स्यानिटरी प्याड उत्पादन गर्छ । यो उच्च प्रविधियुक्त उद्योग हो । र, यो उद्योगले कूल ४ सय जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । एजी हेल्थ इन्डस्ट्रीले सगुन बेबी डाइपर र सगुन स्यानिटरी प्याड उत्पादन गर्दै आइरहेको छ । करिब २ बिघा जमिनमा फैलिएको यो उद्योगमा १ अर्ब रुपैयाँको लगानी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप