शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

ब्याटलग्राउण्ड दमक : राम थापाले तोड्लान् एमालेको आधिपत्य ? (भिडियो अन्तरवार्ता)

गठबन्धनसँग चुनावी तालमेल स्थानीय आवश्यकता र परिस्थितिको उपज : राम थापा
शुक्रबार, २३ वैशाख २०७९, १२ : ०५
शुक्रबार, २३ वैशाख २०७९

वैशाख ३० गते तय भएको स्थानीय तह निर्वाचनले झापाको दमक नगरपालिकाको माहोल निकै गर्माएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर भएकाले दमकको चुनावी प्रतिस्पर्धामा धेरैको ध्यान खिचिएको छ । जसरी चितवनको भरतपुर राजनीतिको केन्द्र बनिरहेको छ, झापाको दमकपनि उसैगरि गर्माएको देखिन्छ । 

विशेष गरेर दमकमा ५ दलीय गठबन्धनसँग राप्रपाले चुनावी तालमेल गरेसँगै त्यहाँको राजनीति फरक ढंगबाट अघि बढेको छ । राप्रपासहितको ‘महागठबन्धन’ एकातिर र एमाले अर्कातिर हुँदा दमक नगरपालिकाको स्थानीय तहको निर्वाचन निकै प्रतिस्पर्धात्मक हुुने त्यहाँका स्थानीयहरुको बुझाइ छ ।

ग्राउण्ड जिरो रिपोर्टिङ अन्तर्गत रातोपाटी टिम दमक पुग्दा स्थानीय मतदाता राम भण्डारीले भने, ‘यसपटक मेयर पदको चुनावी प्रतिस्पर्धा निकै रोचक हुुने देखिन्छ, एमाले प्रतिस्पर्धी गीता अधिकारी र राप्रपाका राम थापाको प्रतिस्पर्धा निकै गम्भीर होला जस्तो लाग्छ।’ 

नेकपा एमालेका तर्फबाट २०७४ बाट उपमेयर बनेकी गीता अधिकारी यस पटक मेयर बन्ने दौडमा छिन् भने २०७४ को स्थानीय तहको निर्वाचनमा मेयरतर्फ दोस्रो मत प्राप्त गरेका राप्रपाका राम थापा गठबन्धन तर्फका मेयरका प्रतिस्पर्धी हुुन् । २०७४ को निर्वाचनमा दोस्रो बनेको राप्रपासँग तेस्रो बनेको माओवादी र चौथो मत प्राप्त गरेको काँग्रेस सँगै छ । यस्तै एमालेबाट छुट्टिएको नेकपा नेकपा एकीकृत समाजवादी र जसपाको मतपनि आफ्नै पक्षमा आउने भएकाले आफ्नो जित निश्चित रहेको दावी थापाको दाबी छ । 

चुनावी घरदैलो अभियान अन्तरगत दमक नगरपालिका वडा नम्बर ९  स्थित बगान चौरमा भेटिएका थापाले आफ्नो जित निश्चित रहेको जिकिर गरे । ‘कुुनै संकोच नमानी गत स्थानीय निर्वाचनको तथ्यांकलाई आधार मान्ने हो भने एमालेको ११ हजार र गठबन्धन तर्फको २०/२१ हजार मतान्तरको अवस्थामा छौं । त्यसैले तथ्यांक आफै बोल्छ कि हामी कति सशक्त छौं।’

उनले दमक नगरपालिकामा पाँच दलीय गठबन्धनसँग चुनावी तालमेल गर्नु दमकको बाध्यता नभएर स्थानीय आवश्यकता र परिस्थितिको उपज रहेको पनि प्रष्ट पारे । थापाले भने, ‘चुनावी तालमेलको कुुरा बाध्यता होइन आवश्यकता हो । दमकमा मात्र नभएर राप्रपाले तीन ठाउँमा तालमेल गरेको छ । त्यसमा दमक, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्र कचनकवल र चितवनको भरतपुर रहेको छ र यो बाध्यता नभएर स्थानीय आवश्यकता र परिस्थितिको उपज हो ।’

दमकमा विकास निर्माणको गति अत्यन्तै कमजोर रहेको र नगरपालिका सेवा गर्ने भन्दा शासन गर्ने थलोको रुपमा रहेकाले यसलाई मुक्त गर्ने गठबन्धनको मुख्य लक्ष्य रहेको थापाको भनाइ छ । उनले भने, ‘दमकमा जसरी एमालेको वर्षौंदेखिको आधिपत्य छ त्यसलाई एकजुट भएर तोड्न आवश्यक थियो, त्यसैले हामी सबै दल एकैठाउँमा सम्मिलित भएका हौं।’
उनले स्थानीय तहमा चुनावी तालमेल गर्नु कुनै राजनीतिक उद्देश्य प्राप्तिका लागि नभएको जिकिर गरे ।  नगरको विकास गर्ने एकमात्र लक्ष्य लिएर दलहरूसँग सौहार्दपूर्ण तालमेल गरेको उनले स्पष्टोक्ति छ । 

उनै दमक नगरपालिकाको गठबन्धन तर्फबाट मेयर पदका उम्मेदवार राम थापासँग चुनावी घरदैलो अभियानकै क्रममा गरिएको भिडियो संवादः 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप