बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टोकियोले पुरुषहरूलाई कार्यालयमा हाफपाइन्ट्स लगाउन प्रोत्साहित गर्‍यो, समकक्षी महिला दिक्क

बुधबार, ०६ साउन २०८३, १० : ५९
बुधबार, ०६ साउन २०८३

सारांश

  • टोकियो महानगर सरकारले गर्मीमा कर्मचारीहरूलाई हाफपाइन्ट्स लगाउन प्रोत्साहन गरेको छ ।
  • यो नीतिले काम गर्ने वातावरण सहज बनाए पनि महिलाहरूले यसलाई अन्यायपूर्ण मानेका छन् ।
  • गर्मीबाट बच्न जापानमा विभिन्न नयाँ उत्पादन र उपकरणहरू लोकप्रिय बन्दै गएका छन् ।

टोकियो । यस सिजन तापक्रम बढ्दै जाँदा जापानमा पुरुषहरूले कार्यालयमा पहिलेभन्दा धेरै छोटो लुगा लगाउन थालेका छन् । टोकियो महानगर सरकारले कम्पनीका कर्मचारीहरूलाई परम्परागत सुट र टाई त्यागेर टी–सर्ट, स्पोट्र्स जुत्ता (ट्रेनर्स) र हाफपाइन्ट्स जस्ता आरामदायी पोसाक लगाउन प्रोत्साहन गरिरहेको छ ।

टोकियोकी गभर्नर युरिको कोइकेले अप्रिलमा ‘टोकियो कूल बिज’ अभियान सुरु गरेकी थिइन् । यसअघि उनले सुरु गरेको गर्मीयाममा चिसो रहन प्रेरित गर्ने अभियानलाई अझ विस्तार गर्ने उद्देश्यका साथ यो पहल गरिएको हो । 

अहिले यो अभियान जापानको वार्षिक गर्मीयामको परम्पराका रूपमा परिचित भइसकेको छ  । करिब चार महिना बितिसक्दा कार्यालयमा हाफपाइन्ट्स (सट्र्स) लगाउन दिने नयाँ नीतिप्रति मिश्रित प्रतिक्रिया देखिएको छ ।

केही टिप्पणीकारहरूले यसलाई सहज र आरामदायी वातावरणमा काम गर्न सहयोगी भएको बताएका छन् । तर केहीले यो नीति महिलामाथि अन्यायपूर्ण भएको तर्क गरेका छन्, किनभने महिलाले खुट्टाको केही भाग देखाउँदा अझै पनि अझ टिमिक्क पारेर लगाउन् भन्ने अपेक्षा गरिन्छ । 

अर्कोतर्फ, केही महिलाले पुरुष सहकर्मीहरूको खुट्टाको रौँ हेर्न बाध्य हुनुपरेको अनुभवलाई ‘लेग हेयर ह्यारासमेन्ट’ भनेका छन् । यसलाई जापानी सामाजिक सञ्जालमा ‘सुनेहारा’ भन्ने नयाँ शब्दले पनि चिनाउन थालिएको छ, जसले सहकर्मीको खुट्टाको रौँ हेर्नुपर्दा हुने असहजतालाई जनाउँछ ।

‘हाम्रो उद्देश्य कडा गर्मीमा मानिसहरूलाई थप विकल्प उपलब्ध गराउनु हो, उनीहरूलाई के लगाउने भनेर निर्देशन दिनु होइन । कार्यालयको पोसाक कसैलाई आपत्तिजनक नहुने हो भने कुनै समस्या हुनु हुँदैन,’ टोकियो महानगर सरकारका वातावरणसम्बन्धी अधिकारी नोबोरु वातानाबेले बीबीसीसँग भने ।

जुन महिनामा गरिएको गोरिल्ला क्लिनिकको सर्वेक्षणअनुसार ५३.५ प्रतिशत उत्तरदाताले गर्मीयाममा कार्यालयमा हाफपाइन्ट्स लगाउने पक्षमा नरहेको बताए भने ४६.५ प्रतिशतले नयाँ सिफारिसलाई समर्थन गरेका थिए । कार्यालयमा सट्र्स लगाउने कुराको विरोध गर्नेहरूका लागि, पुरुष र महिलादुवैमा मुख्य चिन्ता शरीरको बनावट र शरीरको रौँसँग सम्बन्धित थियो ।

 क्लिनिकका अनुसार सर्वेक्षणमा महिलाको सहभागिता पुरुषभन्दा उल्लेखनीय रूपमा बढी थियो, जसले पुरुष सहकर्मीको खुला खुट्टा देख्न महिलाहरू बढी अनिच्छुक रहेको सङ्केत गर्छ ।

d8fcccf0-84d6-11f1-8a1f-271692b35cb6.jpg

हालका वर्षहरूमा विशेषगरी स्टार्टअप र प्रविधि कम्पनीहरूमा काम गर्ने धेरै जापानी कर्मचारीहरूले अनौपचारिक पोसाक लगाउन थालेका छन् । तर यस वर्ष टोकियो सरकारको सिफारिसले त्यसलाई सामाजिक रूपमा अझ स्वीकार्य बनाएको छ । त्यसका बाबजुद पनि केही पुरुषहरू आफ्ना खुट्टाको रौँका कारण असहज महसुस गरिरहेका छन् ।

गोरिल्ला क्लिनिकका निर्देशक अकिफुमी फुनात्सुले हालका दिनमा सौन्दर्यका लागि मात्र नभई ‘सट्र्स लगाउँदा सामाजिक शिष्टाचार’ का रूपमा पनि धेरै ग्राहकहरू लेजर हेयर रिमुभल गराउन आएको बताएका छन् । उनका अनुसार धेरै महिलाले ‘पुरुषको खुट्टामा कम रौँ हुनुपर्छ’ भन्ने धारणा राख्ने भएकाले पुरुषहरू वरपरका मानिसलाई असहज नबनाउन खुट्टाको रौँ हटाउन थालेका छन् ।

गभर्नर कोइकेले पहिलो पटक सन् २००५ मा जापानकी वातावरण मन्त्री हुँदा गर्मीयाममा हल्का पोसाक लगाउने अभियान सुरु गरेकी थिइन् । उनले ‘कूल बिज’ नामक राष्ट्रिय ऊर्जा बचत अभियान सुरु गर्दै कार्यालयका कर्मचारीहरूलाई आधा बाहुलाको सर्ट लगाउन प्रोत्साहन गरेकी थिइन् ।

त्यतिबेला सरकारका शीर्ष नेताहरू पनि यस अभियानमा सहभागी भएका थिए । तत्कालीन प्रधानमन्त्री जुनिचिरो कोइजुमीलाई टाई र कोटबिना सार्वजनिक कार्यक्रममा देखिन थालेपछि अभियानले व्यापक चर्चा पाएको थियो ।

पछि सन् २०११ को मार्चमा तोहोकु भूकम्प र सुनामीपछि सरकारले ‘सुपर कूल बिज’ अभियान सुरु गर्‍यो, जसले कार्यालय र घर दुवैमा ऊर्जा खपत घटाउने उद्देश्यसहित पोसाकसम्बन्धी मापदण्डलाई अझ विस्तार गर्‍यो ।

विश्वका अन्य धेरै देशझैँ जापानले पनि पछिल्ला महिनाहरूमा रेकर्ड तोड गर्मीको सामना गरिरहेको छ । मध्यपूर्वको अस्थिरताका कारण ऊर्जा मूल्य बढिरहेका बेला यो चुनौती अझ गम्भीर बनेको छ ।

मौसमविद्हरूले यस वर्ष अत्यधिक गर्मी पर्ने चेतावनी दिएका छन् । जापान मौसम विज्ञान एजेन्सीले तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको दिनलाई जनाउन ‘कोकुशो–बि’ अर्थात् ‘अत्यन्त गर्मीको दिन’ भन्ने शब्द प्रयोग गर्दै जनचेतना फैलाइरहेको छ ।

फायर एन्ड डिजास्टर म्यानेजमेन्ट एजेन्सीका अनुसार जुलाई ६ देखि १२ सम्मको सात दिनमा जापानमा तापघातका कारण सात जनाको मृत्यु भएको छ भने ४ हजार ५८० जनालाई अस्पताल भर्ना गर्नुपरेको छ ।

प्रशस्त पानी पिउने र एयर कन्डिसनर चलाउनेजस्ता सरकारी सिफारिसका अतिरिक्त जापानीहरूले गर्मीबाट बच्न नयाँ–नयाँ उत्पादन र उपकरणहरू प्रयोग गर्न थालेका छन् ।

बिल्ट–इन पङ्खा भएका लुगा, एकपटक प्रयोग गरेर फाल्न मिल्ने भिजेका तौलिया, पराबैजनी किरण र ताप रोक्ने छाता तथा हातमा बोक्न मिल्ने साना पङ्खाजस्ता सामग्रीहरू देशभरका पसलमा निकै लोकप्रिय बनेका छन् ।

जापान एकेडेमिक नेटवर्क फर डिजास्टर रिडक्सनका विज्ञहरूले शरीरलाई गर्मी सहन अभ्यस्त बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् । 

उनीहरूका अनुसार शरीरलाई उच्च तापक्रममा अभ्यस्त हुन केही साताको समय लाग्ने भएकाले वर्षायामकै बेला गर्मीको तयारी सुरु गर्नुपर्छ र तापघातबाट बच्ने उपाय अपनाउनुपर्छ ।

जापानमा अत्यधिक आर्द्रता पनि हुने भएकाले पसिना सजिलै सुक्दैन । यसले शरीरको तापक्रम घटाउने प्राकृतिक क्षमतामा कमी ल्याउने भएकाले गर्मीको असर अझ बढी हुने विज्ञहरू बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप