फगत एउटा सपना
-महेश फुयाल
म अरब पस्न सकिन
त्यहाँ त,
पैसा टिप्न पाइन्छ भन्थे
मलाई लाग्थ्यो, मैले नसके
सेतेले टिप्छ, हुत्तेले टिप्छ
तर ती मेरा सारथी
अब्बल रहेनन्
तिनीहरु त रातो बाकसमा
सधंैंका लागि प्यारा भए ।
एउटा सपना, जुन मेरो थियो
सेतेको थियो, हुत्तेको थियो
पाखुरी चलाउने,
गाउँमै सुन फलाउने
पेटभरी खाजा खाने
ठुल्ढुङ्गामा पलेटी कसेर
डकार मार्ने
अब त खै
त्यो आउला जस्तै लाग्दैन ।
उजेलीको झुत्रेको बर्को
उग्लिएको बाको फेटा,
फेर्ने सपना
हात्तीछाप चप्पल
नलगाउने भाइको त्यागलाई
अब छविले मौन रहनुपर्ने भयो
किनकि टाइसुटमा
अफिस जाने उसको
सपना अपुरो भयो
ऊ इलम नपाएर
जिन्दावाद र मुर्दावादमै
अल्झिरह्यो ।
पखेरो बारीमा झिलुङ्गे
नफलेको कति भयो ?
त्यहाँ त वनमारा फलेछ
बोक्सी फूल फलेछ
दौडेर एक सासमा
पल्लाघर पुग्ने बाटो
छोपिएछ, विरानो भएछ ।
गट्टी खेल्ने नयाँ घरको आँगन
हगी, झुमा, बुथी
चुङ्गी खेल्ने घुरेन
आज नचिनिने भएछ
एक थाँक्रो
मकै फलाउने गैरी बारी
माले र फुर्के गोरु
नार्ने पर्खाइमा छ ।
चप्लेटीका सबै सल्लाहरुको
खोटो निकालिएछन्
डढेलो लागेर सबै सुकेछन्
मेरी आमाले
पूजामा, सरादमा
दुना, बोती गाँस्ने
सालका पात त
अग्राखका थाम भएछन्
चिलाउने, उत्तिस
सबै बटम बनेछन्
कोही छ फुटे, सात फुटे
नौ फुटे, कोही बाह्र फुटे ।।
विरौटाको मार्सी धान
सयलेको मास
गोधुलीमा किस्ने, साइँला दाइ,
भरिमाया, मिश्रीसँगै
मुरी धानका ढोक्रा बोकेर
खाजा खाना नपाएको
सुठुनी र करेला खाँदै
उकालो लागेको बिर्सिएर
हुत्ते अरब पस्यो
सेते सहर बस्यो
म सपनीमै रुमल्लिई रहें ।
न्याउलीको आवाज सुनिन
तारीका खोलाको पानी सुकेछ
बिच्छे गोरु चर्ने
रतुली र पेटारी बाख्रो चर्ने
खरुकी मासिएछ
दाँइ हाल्ने खलो देखिन ।
मियो भाँचेर
फुर्के गोरु भागेको यादले चिमोट्यो
माइली आमा र माइला बा
भरे भोलिको भएका
अप्सरा भाउजु
छोरो पढाउन सहर बसेकी
कोरियाबाट हर्के दाइले
पठाएको पैसाले
माइला बाको पटुका फेरिएनछ
गानो गएको बेला
तातो पानी दिने माइली आमा
आफै थला परेकी
माइला बाका आँखा रसाए ।
पूर्णी गाई
सात बेतकी हुन्थी
माली, फुर्की, कैली
कोरली पाउँथी
सात मुरेमा कति धान फल्थ्यो
साः खोला खेतका
हिलोआलीका ती याद बगिरहे
अब त्यो एउटा सपना भयो ।
फगत एउटा सपना भयो ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यदि विश्वकप लिग हुन्थ्यो भने फ्रान्स च्याम्पियन, अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो हुने थिए
-
भारतको अध्यक्षतामा ब्रिक्स यातायात मन्त्रीहरूको बैठक सम्पन्न, मन्त्रीस्तरीय घोषणापत्र पारित
-
पुनर्जीवनको पर्खाइमा हेटौँडा कपडा उद्योग, दाबी अनुसार छैन चहलपहल
-
ट्रम्पको दाबी, ‘मेरो लोकप्रियता ५९ प्रतिशत पुग्यो, बजारमा महँगी पनि घट्यो’
-
बारामा पोखरीमा डुबेर बालिकाको मृत्यु
-
भानुगृहलाई साझा सांस्कृतिक धरोहरका रूपमा संरक्षण गर्न उपराष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण