सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

भानुगृहलाई साझा सांस्कृतिक धरोहरका रूपमा संरक्षण गर्न उपराष्ट्रपतिको आह्वान

सोमबार, २९ असार २०८३, ०८ : १०
सोमबार, २९ असार २०८३

सारांश

  • उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै नेपाली साहित्यमा उहाँको योगदानको स्मरण गरेका छन्।
  • भानुभक्तले वाल्मीकि रामायणलाई नेपाली भाषामा अनुवाद गरी भाषा, संस्कृति र नैतिक मूल्यहरूलाई जनमानसमा पुर्‍याएको उपराष्ट्रपतिले उल्लेख गरेका छन्।
  • उनले भानुगृहलाई साझा सांस्कृतिक धरोहरका रूपमा संरक्षण र प्रवर्धन गर्न सबैलाई एकजुट भई लाग्न आह्वान गरेका छन्।

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्। सोमबार एक सन्देश जारी गर्दै उनले भानुजयन्तीको शुभकामना दिएका हुन्।

उपराष्ट्रपति यादवले भानुभक्त आचार्यले नेपाली साहित्यलाई नयाँ आयाम प्रदान गर्दै जनमानसमा भाषा, संस्कृति र नैतिक मूल्यहरूको गहिरो चेतना जगाएको उल्लेख गरेका छन्। भानुभक्तको काव्य-साधना र सामाजिक दृष्टिकोणले नेपाली साहित्यलाई मात्र नभई राष्ट्रिय जीवनलाई पनि उज्यालो बनाएको उनको भनाइ छ। यस जन्मजयन्तीको अवसरले साहित्य, संस्कृति र राष्ट्रिय पहिचानको संरक्षण तथा प्रवर्धनमा दृढ संकल्पसहित अघि बढ्न प्रेरणा प्रदान गर्ने उनले विश्वास व्यक्त गरेका छन्।

वाल्मीकि रामायणलाई नेपाली भाषामा सरल र सहज ढङ्गले प्रस्तुत गरेर भानुभक्तले नेपाली भाषालाई धार्मिक, सांस्कृतिक र नैतिक मूल्यहरूसँग जोड्ने कार्य गरेको सन्देशमा उल्लेख छ। यस योगदानले नेपाली भाषालाई जनसाधारणसम्म पुऱ्याउने मार्ग प्रशस्त गरेको र भानुभक्तका रचनाले सत्य, धर्म, कर्तव्य र मानवतावादको मार्गमा अडिग रहन निरन्तर प्रेरणा दिने उनले बताए।

उनका अनुसार ‘रामायण’, ‘घाँसी’ र ‘प्रश्नोत्तर मालिका’ जस्ता कृतिहरूले समाजमा श्रम, निष्ठा र उत्तरदायित्वको महत्त्वलाई उजागर गरेका छन्। साधारण व्यक्तिको कर्मठता र समर्पणले समाजमा अमर योगदान दिन सक्ने सन्देश भानुभक्तका कविताले दिएको उल्लेख गर्दै उनले ती रचनाहरूले नेपाली सांस्कृतिक गौरवलाई जीवन्त राख्दै भावी पुस्तालाई आफ्नो भाषा र साहित्यप्रति गर्व गर्न उत्प्रेरित गर्ने जनाए।

आजको विश्वव्यापीकरण र डिजिटल युगमा भानु जयन्तीले नेपाली साहित्य र संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने अवसर प्रदान गर्ने उनको भनाइ छ। शैक्षिक संस्था, साहित्यिक संघ-संगठन तथा सम्पूर्ण नेपाली समुदायले आदिकविका रचनालाई जीवन्त राख्न सक्रिय पहल गर्नु आजको आवश्यकता भएको कुरामा उनले जोड दिएका छन्। 

सन्देशको अन्त्यमा उनले भानु जयन्तीले तनहूँको चुँदीरम्घास्थित भानुगृहलाई साझा सांस्कृतिक धरोहरका रूपमा संरक्षण र प्रवर्धन गर्न सबैलाई एकजुट भई लाग्न अभिप्रेरित गरोस् भन्दै शुभकामना व्यक्त गरेका छन्।

746648866_1030182862728735_3574184837199798931_n (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप