बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

शुद्धोधन गाउँपालिकामा पुनः मतगणना गर्न माग गर्दै आयोगमा निवेदन

बिहीबार, ०५ जेठ २०७९, २० : ३७
बिहीबार, ०५ जेठ २०७९

रुपन्देहीको शुद्धोधन गाउँपालिका–१ मा मतगणना प्रतिनिधी र कर्मचारीको विवरण फरक परेको भन्दे काँग्रेसका उम्मेदवार जंगबहादुर यादव पक्षले  निर्वाचन आयोगसँग  पुनः मतगणनाको माग गरेका छन् । शनिबार बेलुका सम्पन्न मतगणनाको वास्तविक तथ्यांक फेरबदल गरी कर्मचारीले जितेको उम्मेदवारलाई १ मतले पराजित घोषणा गरेको भन्दै यादवले  आयोगसँग पुनः  मतगणनाको माग गरेका हुन् ।

निर्वाचन काँग्रेसले जितेपनि मतपरिणाम घोषणा गर्दा जनता समाजवादी पार्टीका उम्मेदवार उदयराज गढेरिया विजय भएको भनेर झुटो विवरण घोषणा गरिएको यादवले जिकिर गरेका छन् । काँग्रेसका तर्फबाट मतगणनामा बसेका प्रतिनिधि दिलीप यादवका अनुसार मतगणना सकिँदा जनता समाजवादीका उम्मेदवार उदयरजा गढेरियाको ९८७ मत र काँग्रेसका जंगबहादुर यादवको ९८८ मत थियो । सोही अनुसार काँग्रेस उम्मेदवार विजयी भएको भन्दै विजय जुलुसको तयारी समेत गरियो । तर, मतगणनामा खटिएका कर्मचारीले कम्युटर प्रिण्ट गरेको कागजमा गडरियाको ९९२ र यादवको ९९१ मत रहेको विवरण सार्वजनिक गरे । त्यसपछि विजय जुलुस रोकियो । 

कर्मचारीले प्रिन्ट गर्ने बेला झुटो तथ्यांक राखेर प्रिन्ट गरेको काँग्रेस पक्षको आरोप छ । ‘पहिला ९८७ र ९८८ मत कर्मचारीले प्रिन्ट गर्ने बेलामा ९१ र ९२ कसरी भयो रु’, काँग्रेस उम्मेदवार यादवका भाइ सूर्यमान यादव भन्छन्, ‘पहिला जोड्दा हामी अगाडी थियौँ, तर निर्वाचनका कर्मचारीले उनीहरुलाई एकमतले जितायो र घोषणा पनि गरिहाल्यो ।’ उक्त वडामा कुल २ हजार ८९२ मत खसेको थियो ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाममा जसपाको ९९२ र काँग्रेसको ९९१ एमालेको २१२, राप्रपाको ४४४, माओवादी १०२ र स्वतन्त्रको ९ मत गरी जम्मा २ हजार ७५० मत मात्र देखिएको छ । निर्वाचन अधिकृतको कार्यालयले बदरमतको तथ्यांक सार्वजनिक गरेको छैन । काँग्रेस उम्मेदवार पक्षले बदर मतको विवरण माग्दा समेत नदिएको यादवको गुनासो गरे । ‘उम्मेदवार र उम्मेदवारका प्रतिनिधिले माग्दा बदर मतको विवरण त दिनुपर्ने हो’, उनले भने ‘तर जानकारी दिँदैनन, हामी अलमल्ल परियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप