बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेसका चार नेताविरुद्ध अन्तर्घातको आरोपमा उजुरी

मङ्गलबार, २४ जेठ २०७९, ०७ : ५०
मङ्गलबार, २४ जेठ २०७९

स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेर आधिकारिक उम्मेदवार हराएको भन्दै नेपाली कांग्रेस प्रदेश–१ का महामन्त्री भूपेन्द्र राईसहित चार जनाविरुद्ध अनुशासन समितिमा उजुरी परेको छ । ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पार्टी आधिकारिक उम्मेदवारलाई हराउन महामन्त्री राई, दिप्रुङ चुइचुम्मा गाउँपालिका सभापति अमृत गिरी, प्रदेश सदस्य पूर्णबहादुर खड्का र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा सभापति रामचन्द्र राईविरुद्ध कांग्रेस खोटाङको अनुशासन समितिमा उजुरी परेको हो । 

चार नेताविरुद्ध कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार भएका नइन्द्र राई, उपाध्यक्षका उम्मेदवार रमा कटुवालसहित सात वडाका वडाध्यक्ष पदका उम्मेदवारले कारबाहीका लागि समितिमा उजुरी दिएका हुन् । पराजित उम्मेदवारहरूले पार्टीको विधान २०१७, (संशोधन सहित) धारा ३४ उपधारा ४ को क, ख र ग आकर्षित हुनेगरी कारबाही गर्न माग गरेका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा महामन्त्री राई भने विजयी भएका थिए ।  गाउँपालिकामा यस पटक नेकपा एमालेका लोकेन्द्र राई विजय भए । 
त्यसपछि महामन्त्री राईमाथि अन्तर्घातको आरोप लागेको हो ।

महामन्त्री राईमाथि आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार दिन कार्यकर्ता उक्साएको, विपक्षी दल एमाले नेता र उम्मेदवारसँग गोप्य बैठक बसेर पार्टीको आन्तरिक रणनीति तथा गोपनीयता भङ्ग गरी आर्थिक लेनदेन र चलखेल गर्दै मतदाता तथा कार्यकर्ता भड्काएको उजुरी उल्लेख छ ।

उजुरीमा गुट खडा गरी अन्तर्घात गराउँदै आधिकारिक उम्मेदवारलाई लज्जास्पद पराजय गराएको, पदको दुरुपयोग गरी हरेक वडामा अधिवेशनको नकारात्मक विषयवस्तुबारे दुष्प्रचार गरी कार्यकर्ता वा मतदातालाई भड्काएको आरोप पनि छ । पार्टीको चुनावी सभामा सहभागी हुन उदासिनता देखाएको, संलग्न चुनावी सभामा विवादास्पद अभिव्यक्ति दिएको आरोप पनि पराजित उम्मेदवारहरूले लगाएका छन् । 

यस्तै, गिरीमाथि आधिकारिक उम्मेदवारविरुद्ध दुष्प्रचार गरेको, पदीय जिम्मेवारीलाई वहन नगरको, विपक्षी पार्टीका नेता र उम्मेदवारसँग बैठक बसेर गोपनीयता तथा रणनीति ‘एक्सपोज’ गराएको, आधिकारिक उम्मेदवारविरुद्ध वितृष्णा फैलाएको जस्ता आरोप लागेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप