सिमरा विमानस्थलको धावन मार्ग मर्मतको काम सुस्त
सिमरा विमानस्थलको धावन मार्ग मर्मतको काम समयमै सम्पन्न नहुने देखिएको छ । जेठ २४ गतेदेखि धावन मार्ग मर्मतको काम सुरु गरेको ठेकेदार कम्पनीले असार १२ गतेभित्र काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । तर अहिलेसम्म ४० प्रतिशत काम पनि पूरा हुन सकेको छैन ।
एक हजार १९० मिटर धावनमार्ग मर्मतसम्भार, विमानस्थलको चारैतर्फ तारजाली र नाला निर्माणको ठेक्का लिएको सप्तकोशी जलाधार प्रालिले हालसम्म ६० मिटर धावनमार्ग मात्रै कालोपत्र गरेको छ । असार १२ गतेभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म ४० प्रतिशत पनि काम नभएको विमानस्थल कार्यालयले जनाएको छ ।
‘ठेकेदारले कामको गति बढाएन भने असार महिनाभर हवाई उडान प्रभावित हुने देखिन्छ,’ सिमरा विमानस्थल प्रमुख भुवन भट्टले भने, ‘अहिलेसम्म ६० मिटर धावनमार्ग कालोपत्रे गर्ने काममात्रै भएको छ, ठेकेदारले यही स्पिडमा काम ग-यो भने एक महिना लाग्छ, तर काम बढाएर दिनमा २५ ट्रक माल (आस्पाल) ल्याएर कालोपत्रे गर्दा कम्तीमा १५ दिनमा सकिन्छ ।’

विमानस्थलको धावनमार्ग कालोपत्रे गर्ने, विमान पार्किङ्ग क्षेत्र मर्मतसम्भार, विमानस्थलको चारैतर्फ तारजाली लगाउने र विमानस्थल आसपासमा नाला निर्माणका लागि सप्तकोशी जलाधारले विमानस्थलसँग १० करोडमा ठेक्का सम्झौता गरेको हो । विमानस्थल मर्मतसम्भारको काम लामो समयदेखि ओझेलमा पर्दै आएको थियो । बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अवधारणा आएपछि सिमरा विमानस्थल मर्मत सम्भार तथा पुनर्निर्माणको सम्पुर्ण काम ओझेलमा परेको विमानस्थलका कर्मचारीले जनाए ।
जेठ २४ गतेदेखि धावनमार्ग मर्मतसम्भारको काम सुरु गरेको ठेकेदार कम्पनीले तोकिएको समयभित्र काम सम्पन्न नगर्दा सिमरा विमानस्थलवाट हुने उडानहरु निर्धारितभन्दा अतिरिक्त समयमा पनि प्रभावित हुने सम्भावना बढेको छ ।
‘ठेकेदारको आन्तरिक कारणले ढिलो भएको हो, हाम्रो कारणले होइन, हामीले त छिटोभन्दा छिटो काम सम्पन्न गर्न दबाब दिएका छौं, अहिले दैनिक १० ट्रक आस्पाल ल्याइरहेको छ, यिनीहरुले ल्याउनुपर्ने २० ट्रक जति हो,’ विमानस्थल प्रमुख भट्टले भने ।
वर्षौंदेखि जीर्ण अवस्थामा रहेको सिमरा विमानस्थल मर्मत सम्भारका लागि जेठ २४ गतेदेखि दैनिक उडानको समय समेत कटौती गरिएको सिमरा विमानस्थलले जनाएको छ । हाल सिमरा–काठमाडौं हवाई उडान बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म मात्रै हुँदै आएको छ । ४ वटा विमान कम्पनीले दैनिक १२ देखि १४ वटासम्म उडान भर्दै आएकोमा हाल दैनिक ५ देखि ६ वटामात्रै उडान हुने गर्दछ ।
सिमरा विमानस्थलका एक कर्मचारीका अनुसार विमानस्थलको मर्मतसम्भारको सम्पूर्ण जिम्मा लिएको सप्तकोशी जलाधार प्रालिले पेटी ठेकेदारको रुपमा पप्पु कन्स्ट्रक्सनलाई प्रयोग गरेको छ । पप्पु कन्स्ट्रक्सन यसअघि नै समयै निर्माण सम्पन्न नगर्ने ठेकेदार कम्पनीका रुपमा कारवाहीमा परेको थियो । ‘यही गतिले काम गर्दा हामीले टार्गेट गरेको समयमा काम सक्न असम्भव नै देखिन्छ,’ विमानस्थल प्रमुखले भने ।

हाल काठमाडौं–सिमरा रुटमा उडान कटौती भएका कारण हाल हवाई भाडादर बढेको छ । दुई सातादेखि सिमरा–काठमाडौं हवाई भाडा ४ हजार नाघेको बुद्ध एयरलाइन्सका कर्मचारीले जनाएका छन् ।
विमानस्थलभित्र सवारी पार्किङ, यात्रु प्रतीक्षालय, भीआईपी कक्ष अत्यन्तै साँघुरो छ । एकैपटक २ वा सोभन्दा बढी विमान आउँदा यात्रुहरुलाई प्रतीक्षालयमा बस्ने ठाउँको समेत अभाव हुने गर्दछ । बारा–पर्साको औद्योगिक क्षेत्र तथा आर्थिक नगरी वीरगन्जसँगै जोडिएको कारण सिमरा विमानस्थलबाट हवाई यात्रा गर्ने यात्रुको चाप अत्याधिक हुने गर्दछ । सामान्य अवस्थामा दैनिक एकहजार ५ सय यात्रु सिमरा–काठमाडौं आउजाउ गर्ने गर्दछन् ।
पछिल्लो समय सिमरा–पोखरा हवाई उडान समेत सुरु भएपछि पोखरा हुँदै मुक्तिनाथ दर्शन गर्न जाने भारतीय पर्यटकको संख्या समेत ह्वात्तै बढेको छ ।
सप्तकोशी जलाधार प्रालिका ईन्जिनियर निरञ्जन कुमार यादवले धावनमार्गमा लगाईएको पुरानो पेन्ट निकाल्न र ठेक्का सर्वे गर्न समय लागेको बताउँछन् । ‘अहिलेसम्म धावनमार्गको कालोपत्रे गर्ने काम ४० प्रतिशत सकिएको छ, पानी परेन भने बाँकी काम समयभित्र सक्न हामी प्रयास गरिरहेका छौं,’ इन्जिनियर यादवले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण