शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक

शनिबार, ०९ साउन २०८३, ०९ : ००
शनिबार, ०९ साउन २०८३

सारांश

  • चलचित्र ‘बा : एक योद्धा’को सार्वजनिक टिजरमा मुख्य पात्र दिव्यदेव पन्त रगतले लतपतिएको अवस्थामा देखिन्छन् ।
  • टिजरले एउटा सुन्दर परिवारमा आएको विपत्ति र त्यो कसरी तहसनहस भयो भन्ने देखाउँछ, तर कारण खुलाएको छैन ।
  • यो चलचित्र भदौ १९ गते बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा रिलिज हुँदैछ, जसको मुख्य कथा बुबाको त्याग र संघर्ष हो ।

काठमाडौँ । चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक भएको छ । ‘एउटा सानो संसार थियो हाम्रो, सब तहसनहस भयो’ भन्ने डाइलग सँगै सुरु भएको टिजरको दृश्यमा चलचित्रका मुख्य पात्र दिव्यदेव पन्त छन्, जसको जुत्तादेखि टाउकोसम्म रगतै रगत लतपतिएको छ । यसले उनी ठुलै घटनाबाट फर्किएको देखाउँछ । उनको चालले उनको परिवारकै कुनै सदस्य मिसिङ भएको हो कि भन्ने अनुमान लगाउन सकिन्छ ।

दिव्यदेव जब आफ्नो घर अगाडि देखिन्छन्, उनको दिमागमा विगतका सम्पूर्ण दृश्यहरू एकपछि अर्को गर्दै पल्टिन्छन् । जसले उनको सुन्दर परिवार देखाउँछ । त्यसपछि देखिन्छ परिवारमा आएको विपत्ति । बाबालाई बोलाउँदै कुद्दै गरेकी छोरी र परिवारका अन्य सदस्य, गाउँले आत्तिँदै कुदेको दृश्यले परिवारमा घटेको ठुलो महाविपत्ति देखाउँछ ।

टिजरले एउटा सुन्दर परिवार कसरी तहसनहस भइरहेको छ भन्ने देखाएको छ । तर, त्यसको कारण के हो भन्ने खुलाएको छैन ।

चलचित्र ‘बाः एक योद्धा’ भदौ १९ गते रिलिज हुँदैछ । नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू ‘बा : एक योद्धा’को मुख्य कथा रहेको बताइएको छ ।

चलचित्रमा दिव्यदेव, झरना र सुहानासँगै माओत्से गुरुङ, अनिल बुढाथोकी सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन् ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बाः एक योद्धा’ कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो ।

नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिएका संगीतकार हरि लम्साल रचनाकार र गायक पनि हुन् । फिचर सिनेमामा भने ‘बाः एक योद्धा’ उनको पहिलो निर्देशन हो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन् ।

चलचित्र ‘बाः एक योद्धा’का निर्माता वसन्त लम्साल हुन् । शिवराम श्रेष्ठको छायाकंन रहेको चलचित्रको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन् । ‘बा : एक योद्धा’ आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप