शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मोरङमा संघीय निर्वाचन : कुन पार्टीबाट को–को छन् आकांक्षी ?

प्रचण्डका ज्वाइँदेखि शेखर कोइराला, लालबाबुसम्म चर्चामा
शुक्रबार, १० असार २०७९, १५ : १५
शुक्रबार, १० असार २०७९

स्थानीय तह निर्वाचन सम्पन्न भएसँगै मोरङमा संघीय संसदको निर्वाचनका सम्भावित उम्मेदवारको चर्चा हुन थालेको छ । आगामी मंसिर आसपास आमनिर्वाचन हुने अपेक्षा गरिएको छ । यद्यपि सरकारले मिति घोषणा भने गरेको छैन । मोरङमा गत स्थानीय निर्वाचनमा अधिकांश पालिकामा गठबन्धन भएन । गठबन्धन भएका केही पालिकामा पनि सफल देखिएन । जसको फाइदा नेकपा एमालेले लिएको छ । गठबन्धन गर्ने विषयमा चार दलबीच निकै माथापच्ची भएको थियो । त्यसको मुख्य फ्याक्टर काँग्रेस नेता शेखर कोइराला बनेका थिए ।

काँग्रेसको संस्थापन पक्षले गठबन्धन गर्ने चाहना राख्दाराख्दै कोइराला पक्षको अनिच्छाका कारण गठबन्धन नभएको गुनासो गठबन्धन दलका अन्य घटकको छ । यही बुझाइका कारण आउँदो निर्वाचनमा शेखरलगायत उनको टिमलाई किन सघाउने भन्ने विषयमा गठबन्धन दलका अन्य घटकमा छलफल र चर्चा छ । ‘स्थानीय निर्वाचनमा काँग्रेसले दिएको धोकाको समीक्षा नगरी मोरङमा हामी गठबन्धन गर्दैनौं,’ माओवादी केन्द्र प्रदेश १ का सचिव गणेश उप्रेती भन्छन् ।

२०७४ को निर्वाचनमा जिल्लाका १७ मध्ये १० स्थानीय तहको नेतृत्व जितेको काँग्रेस यसपटक ८ वटामा खुम्चिएको छ । काँग्रेसले जितेका ८ मध्ये दुई तह गठबन्धनको आडमा जितेको हो । काँग्रेसको अनुमान विपरीत ९ वटा स्थानीय तह जितेर एमालेले काँग्रेसको पुरानो किल्ला मोरङसमेत भत्काएको छ । तर, काँग्रेसमा भने स्थानीय तहमा कसले सघाएको र कसले नसघाएको भन्दै कारबाहीको होड गर्ने तथा संघीय संसदमा उम्मेदवारी घोषणा गर्नेको होड चल्न थालेको छ ।

नेपाली काँग्रेसको संस्थापन पक्षले शेखर कोइरालाको क्षेत्रमासमेत उम्मेदवारी घोषणा गरेको छ । कोइरालाको क्षेत्रमा मात्रै नभएर कोइरालाको पक्षका सम्भावित उम्मेदवार उठ्ने क्षेत्रमा पनि देउवा पक्षका मानिसहरु सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गरिरहेका छन् ।

डा.शेखर कोइरालाको गृहजिल्लामा उनलाई नै चुनौती दिँदै काँग्रेसका प्रदेश उपसभापति रमेशजंग रायमाझीले स्थानीय निर्वाचन सकिएलगत्तै उम्मेदवारी घोषणा गरेका थिए । कोइरालाले निर्वाचन लड्दै आएको मोरङ ६ बाट प्रतिनिधिसभाको उम्मेदवार बन्ने उनको भनाइ छ ।

२०७४ को चुनावमा कोइराला वाम गठबन्धनका एमाले उम्मेदवार लालबाबु पण्डितसँग मोरङ ६ मा पराजित भएका थिए । मोरङमा काँग्रेस नेता गुरुराज घिमिरेले पनि उम्मेदवारी घोषणा गरेका छन् । उनले केही दिन अगाडि सामाजिक सञ्जाल ट्वीटरमा उम्मेदवारीको घोषणा गरेका थिए । ‘आगामी चुनाव लड्ने घोषणा गरियो, आगे जनताको इच्छा,’ मोरङको क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने उद्देश्यले उनले लेखेका थिए ।

सो क्षेत्रमा यसअघि बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता अमनलाल मोदीले काँग्रेस नेता महेश आचार्यलाई पराजित गरेका थिए । सो क्षेत्रमा पुनः महेश आचार्य आउने चर्चाकाबीच घिमिरेले उम्मेदवारी घोषणा गरेका हुन् ।

सोही क्षेत्रमा काँग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्य अमृत अर्यालले पनि इच्छा जाहेर गरेको बताइएको छ । यस्तै विराटनगर महानगरपालिकाका पूर्व प्रमुख भीम पराजुलीले पनि मोरङ क्षेत्र नम्बर ४ मा टिकट दिने शर्तमा महानगरको प्रमुख पदको टिकट हापेको चर्चा छ ।

काँग्रेसले माओवादीसँग गठबन्धन हुँदा क्षेत्र नम्बर ५ माओवादीलाई दिएर मोरङका अन्य ५ वटै क्षेत्र आफूले लिने तयारी गरेको स्रोतको भनाइ छ । यद्यपि माओवादीले क्षेत्र नम्बर ४ र ५ कुनै पनि हालतमा नछोड्ने बताएको छ । ‘हामीले जितेको क्षेत्र छोड्ने कुरै आउँदैन, बरु एक्लै लडिन्छ,’ माओवादी नेता अमनलाल मोदीले भने ।

यस्तै मोरङ क्षेत्र नम्बर ३ मा पनि कोइराला पक्षका डाक्टर सुनिल शर्माको विरुद्धमा उम्मेदवारी दिने भन्दै काँग्रेसका नेता दिलिप गच्छदारले भित्रभित्रै चलखेल गरिरहेका छन् । काँग्रेसले मोरङ क्षेत्र नम्बर १ मा पार्टी सभापति डिकबहादुर लिम्बू र खड्ग फागोमध्ये एकले टिकट पाउने सम्भावना छ । लिम्बू संविधानसभा सदस्य हुन् भने फागो स्थानीय तहको निर्वाचनमा पराजित भएका उर्लाबारीका पूर्व प्रमुख हुन् ।

क्षेत्र नम्बर २ मा पनि यस पटक डाक्टर मिनेन्द्र रिजाल र गिरिजाप्रसाद कोइरालाकी सुपुत्री सुजाता कोइरालाले चाहना राखेका छन् । रिजालले यसअघि बाम गठबन्धनका उम्मेदवार ऋषिकेश पोखरेललाई पराजित गरेका थिए । यस पटक पनि निर्वाचन लड्ने उनको चाहना छ । तर, गिरिजापुत्री कोइरालाले यसअघि नै पत्रकार सम्मेलन गरी आफू गिरिजाबाबुको क्षेत्रबाट चुनाव लड्ने बताइसकेकी छन् ।

तुलनात्मक रुपमा काँग्रेसले क्षेत्र नम्बर ५ मा उम्मेदवारको चर्चा गरेको छैन । सधैँ अमृत अर्यालले लड्दै आएको सो क्षेत्रमा यस पटक कसैले चासो राखेका छैनन् । अर्यालले क्षेत्र नम्बर ४ रोज्ने भएका छन् । यता, शान्त देखिएको नेकपा एमालेले पनि आफ्ना सम्भावित उम्मेदवारको नाम टिपेर बसेको छ । गठबन्धन हुँदा पनि मोरङमा स्थानीय निर्वाचनमा अघिल्लो पटकभन्दा सफल देखिएको एमाले अहिले काँग्रेस र माओवादी मिलेको अवस्थामा कसरी लड्ने भन्ने तयारीमा लागेको छ ।

आउँदो शनिबार चुनावी योजना निर्माण गरेर पार्टी कमिटीको बैठक राख्ने तयारी गरेको मोरङका एमाले अध्यक्ष ऋषिकेश पोखरेलले बताए । उनले आफूहरु प्रगतिशील पार्टीहरुबीच तालमेल र गठबन्धन गर्नुपर्छ भन्ने मान्यतामा रहेको बताउँदै सोही अनुसार छलफल चलाउन सकिने प्रस्ट पारे ।

एमाले स्रोतका अनुसार मोरङ क्षेत्र नम्बर १ मा निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फे र बहालवाला सांसद घनश्याम खतिवडाको चर्चा छ । क्षेत्र नम्बर २ मा पार्टी अध्यक्ष ऋषिकेश पोखरेलको एकल नाम चर्चामा छ । सो क्षेत्रबाट यसअघि पोखरेल पराजित भएका थिए ।

यस्तै क्षेत्र नम्बर ३ मा पूर्व स्वास्थ्यमन्त्री तथा एमाले नेता भानुभक्त ढकाल र एमालेका पोलिटब्यूरो सदस्य गुरु बरालको चर्चा छ । पटकपटक पराजित बनेका विनोद ढकालले यसपटक मोरङ क्षेत्र नम्बर ४ रोजेका छन् । सोही क्षेत्रमा प्रदेश १ का पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरेले पनि दाबी गरेका छन् । ‘मैले अब प्रदेशमा लड्दा मुख्यमन्त्री बन्ने वातावरण बन्नुपर्छ, होइन भने प्रदेशमा किन लड्नु ?’ घिमिरेले भने ।

क्षेत्र नम्बर ५ मा जीवन विकास लघुवित्त संस्थाका अध्यक्ष योगेन्द्र मण्डल, नेता रामलाल साह, प्रदेश सांसद ज्ञानेश्वर राजवंशी र नेतृ मीना यादवले निर्वाचन लड्ने बताउँदै आएका छन् भने क्षेत्र नम्बर ६ मा यसअघि शेखर कोइरालालाई पराजित गरेका लालबाबु पण्डितको चर्चा छ । सोही क्षेत्रमा नेता सत्यनारायण चौधरीले पनि चुनाव लड्न तयारी गरेका छन् । यद्यपि एमाले नेताहरुले खुलेर आफू उम्मेदवार बन्ने विषयमा सार्वजनिक गरेका छैनन् ।

यता, माओवादी केन्द्रले क्षेत्र नम्बर १ बाट कुशल लिम्बू, नगेन्द्र धिमाल र प्रेम मिभक लिम्बू, क्षेत्र नम्बर २ मा गणेश उप्रेती र प्रकाश पौडेल, क्षेत्र नम्बर ३ मा सावित्री कुमार काफ्ले, गीता तिम्सिना, लालबहादुर सुस्लिङ मगर, तिलक राई र विनिता घिमिरेले उम्मेदवार बन्ने आकांक्षा राखेका छन् । काफ्ले र मगर संविधानसभा सदस्य हुन् । पहिलो संविधानसभामा काफ्ले ३ नम्बर क्षेत्रबाट विजयी बनेका थिए भने मगर २ नम्बर क्षेत्रबाट विजयी बनेका थिए ।

मोरङ क्षेत्र नम्बर ४ मा भने यसअघि निर्वाचित अमनलाल मोदी र प्रदेश सांसदमा निर्वाचित विजय विश्वासले चुनाव लड्ने इच्छा राखेका छन् । यस्तै क्षेत्र नम्बर ५ मा शिवकुमार मण्डल, भोगेन्द्र यादव र देवा यादवले दाबी गर्ने माओवादी स्रोतको भनाइ छ । मण्डल बहालवाला प्रतिनिधिसभा सदस्य हुन् । उनले यसअघि काँग्रेसका अमृत अर्याललाई पराजित गरेका थिए ।

क्षेत्र नम्बर ६ मा भने जीवन आचार्य, गोपी आछामी र कुमारी राई (रचना)ले उम्मेदवारी दिने चर्चा छ । आचार्य माओवादी अध्यक्ष प्रचण्डका ज्वाइँ हुन् । यसअघि उनी सो क्षेत्रको १ बाट प्रदेशसभा सदस्यमा काँग्रेसका नेता चुमनारायण तबदारसँग पराजित भएका थिए । यसपटक निर्वाचन जित्न अनुकुल वातावरण बनेको भन्दै उनी क्षेत्र दौडाहामा लागेका छन् । अछामी भने संविधानसभा सदस्य तथा हालका राष्ट्रियसभा सदस्य हुन् । राई माओवादी केन्द्र प्रदेश १ की सहसचिव हुन् ।

मोरङमा संघीय निर्वाचनमा ठूला तीन पार्टी सम्भावित उम्मेदवारहरू

काँग्रेस

क्षेत्र नम्बर १

(क) डिकबहादुर लिम्बू

(ख) खड्ग फागो

क्षेत्र नम्बर २

(क) डा.मिनेन्द्र रिजाल

(ख) सुजाता कोइराला

क्षेत्र नम्बर ३

(क) डा.सुनिल शर्मा

(ख) दिलिप गच्छदार

क्षेत्र नम्बर ४

(क) महेश आचार्य

(ख) भीम पराजुली

(ग) गुरुराज घिमिरे

(घ) अमृत अर्याल

क्षेत्र नम्बर ५

समावेशीता

क्षेत्र नम्बर ६

(क) डा. शेखर कोइराला

(ख) रमेशजंग रायमाझी

(ग) डा. डिना संग्रौला

(घ) वीरेन्द्र माझी

एमाले

क्षेत्र नम्बर १

शिवमाया तुम्बाहाम्फे

घनश्याम खतिवडा

क्षेत्र नम्बर २

ऋषिकेश पोखरेल

क्षेत्र नम्बर ३

भानुभक्त ढकाल

गुरु बराल

क्षेत्र नम्बर ४

विनोद ढकाल

जीवन घिमिरे

क्षेत्र नम्बर ५

योगेन्द्र मण्डल

रामलाल साह

ज्ञानेश्वर राजवंशी

मीना यादव

क्षेत्र नम्बर ६

लालबाबु पण्डित

सत्यनारायण चौधरी

माओवादी केन्द्र

क्षेत्र नम्बर १

कुशल लिम्बू

नगेन्द्र धिमाल

प्रेम मिभक लिम्बू

क्षेत्र नम्बर २

गणेश उप्रेती

प्रकाश पौडेल

क्षेत्र नम्बर ३

सावित्री कुमार काफ्ले

गीता तिम्सिना

लालबहादुर सुस्लिङ मगर

तिलक राई

विनिता घिमिरे

क्षेत्र नम्बर ४

अमनलाल मोदी

विजय विश्वास

क्षेत्र नम्बर ५

शिवकुमार मण्डल

भोगेन्द्र यादव

देवा यादव

क्षेत्र नम्बर ६

जीवन आचार्य

गोपी आछामी

कुमारी राई (रचना)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप