बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

माओवादी बैठकमा मन्थन : ‘अध्यक्ष कमरेड तपाईं त महारथी नै हुनुहुन्छ !’

‘श्रीमान्–श्रीमतीलाई संसद् छिराउने दुस्साहस नगरौँ’
सोमबार, २० असार २०७९, १४ : ३५
सोमबार, २० असार २०७९

‘मेरो बुझाई गठबन्धन गर्न हुँदैन भन्ने होइन । तर किन गर्ने भन्ने हो । अध्यक्ष कमरेड, तपाईँ त महारथी नै हुनुहुन्छ। यहाँ हामी त रथी, उपरथी, कर्नेल, मेजर छौँ । ५० प्रतिशत भनेर सिधा कुरा राख्नुस् न तपाईँ ।’ माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा सोमबार नेता झक्कु प्रसाद सुवेदीले राखेको धारणा हो, यो । उनले माओवादीको भूमिका अहिले पनि राष्ट्रिय राजनीतिमा ‘महारथी’ कै रहेको भन्दै आगामी गठबन्धनमा सम्मानजनक हैसियत हुनुपर्नेमा जोड दिएका हुन् । त्यसका लागि अध्यक्ष प्रचण्डले पहल गर्नुपर्नेमा उनले जोड दिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

ती केन्द्रीय सदस्यका अनुसार सुवेदीले पार्टीलाई सशक्त ढङ्गले परिचालन गर्ने हो भने २० लाख हाराहारीमा मत रहेको धारणा राखेका थिए ।  त्यो मतलाई रक्षा गर्ने गरी पार्टी अघि बढ्नुपर्ने उनको धारणा थियो । ‘एक्लै जाने हो भने पनि हामी सबै ठीकठाक हुन्छौँ । अपमानित भइराख्ने हो भने गठबन्धनको पक्षमा हुनुहुन्न । यो भित्रैदेखि लागेको कुरा हो’, उनको भनाइ थियो । अहिले संसद्‍मा पार्टीको उपस्थिति जति छ त्यो एक्लै जित्न सक्ने अवस्था रहेको पनि उनको दाबी थियो ।

​स्थानीय निर्वाचनमा गठबन्धन गर्दा काँग्रेसबाट धोका भएकोबाट पाठ सिक्नुपर्नेमा पनि उनको जोड रहेको ती सदस्यको भनाइ छ । सुवेदी जस्तै बैठकमा बोल्ने अन्य केन्द्रीय सदस्यहरूले पनि आगामी निर्वाचनमा गठबन्धन बनाउँदा पार्टीको हैसियत सम्मानजनक हुनुपर्नेमा जोड दिएका थिए ।

बैठकमा केन्द्रीय सदस्यहरूले चुनावलाई लक्षित गरेर पार्टीले प्रभावकारी योजना बनाउनुपर्नेमा जोड दिएका हुन् । केन्द्रीय सदस्य ओम शर्माले आगामी संघीय र प्रदेश निर्वाचनको सम्भावित परिणामले पार्टीको भविष्य निर्धारण गर्ने भएकाले पार्टीले वस्तुस्थितिको विश्लेषण गर्दै ऐतिहासिक निर्णय गर्नुपर्नेमा जोड दिए ।

शर्माले संसद्‍मा थकित अनुहारलाई निषेध गर्दै युवा पुस्तालाई प्राथमिकता दिइनुपर्नेमा पनि जोड दिए ।  ‘संसद्‍मा कार्यसम्पादन कमजोर भएका पुरानै र थकित अनुहार, भविष्यमा केही गर्न नसक्ने कमजोर व्यक्तिलाई रोजगारीका लागि मात्र संसद् पठाउने गल्ती गर्नुहुँदैन’, उनले भने, ‘यो प्रतिनिधिसभा र राष्ट्रियसभा तथा प्रदेशका तर्फ पनि लागू गर्नुपर्छ ।’

औचित्य पुष्टि नभएसम्म ०६३ यता चार पटक संसद् भएकालाई यसपटक उम्मेदवारी नबनाउने ऐतिहासिक निर्णय लिइनुपर्नेमा पनि उनले जोड दिए ।  श्रीमान्–श्रीमतीलाई त कुनै पनि मूल्यमा संसद् छिराउने दुस्साहस गर्न नहुने उनको भनाइ छ ।

एउटा निर्वाचन जित्ने र अर्कोको तयारीमा लाग्ने वा निर्वाचनदेखि निर्वाचनसम्मको गोलचक्करबाट बाहिर निस्कने र पार्टीलाई बलियो बनाएर जित सुनिश्चित गर्ने आधार तयार पार्ने हो भने पार्टीले ऐतिहासिक निर्णय लिनैपर्ने उनले जोड दिए  ।

घर बनाउन नसक्नेले देश बनाउन सक्दैन

बैठकमा पदाधिकारी चयनमा भएको ढिलाइबारे पनि आवाज उठेको छ । नेता सुदन किराँतीले पदाधिकारी त टुङ्ग्याउन नसक्नेले कसरी देश बनाउन सक्छ भन्दै नेतृत्वप्रति व्यङ्ग्य गरे ।

‘पदाधिकारी त टुङ्ग्याउन नसक्ने अवस्थामा हामी छौँ । घर बनाउन नसक्ने पार्टीले देश बनाउन सक्दैन’, उनले भने । यसअघि माओवादी केन्द्रको आइतबारको बैठकमा बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीलगायतले पनि छिटो पदाधिकारी टुङ्गो लगाउन माग गरेका थिए । पुसमा महाधिवेशन गरेको माओवादीले हालसम्म पनि पदाधिकारीको टुङ्गो नलगाएपछि यसबारे आवाज उठेको हो। 

​उनले अरू भन्दा माओवादी फरक देखिन जरुरी रहेको पनि धारणा राखे । ‘एमाले काँग्रेस जस्तै देखिए त उतै लागिहाल्छ नि मान्छे’, उनको भनाइ थियो, ‘ हामीलाई किन वीर अस्पताल बनाउनु पर्‍यो, हेल्थ पोस्ट बनाऔँ । सानो काम गरौँ तर राम्रो काम गरौँ ।’ गफ मात्रै गरेर पार्टी नबन्ने भन्दै यस्तै प्रवृत्ति भइराख्ने हो भने माओवादीलाई झाडापखाला नलागेर कसलाई लाग्छ त ? भन्दै कटाक्ष गरे । उनले पार्टीको तर्फबाट सरकारमा रहेकाहरूको पनि समीक्षा जरुरी रहेको बताए ।

बैठकमा समानुपातिक मुद्दाको पार्टीमा व्यापक छलफल जरुरी रहेको आवाज पनि केन्द्रीय सदस्यले उठाए । यस्तै केन्द्रीय सदस्य अमृता थापाले क्रान्तिकारी पार्टी निर्माणमा जोड दिइन् ।

माओवादी पार्टीको राष्ट्रवादी छवि कायमै राखिनुपर्नेमा भूमिका खेल्नुपर्नेमा जोड दिँदै केही केन्द्रीय सदस्यले अध्यक्षको प्रतिवेदनमा एमालेमा जाने बादललगायतको विषय पनि उल्लेख हुनुपर्ने कुरा उठेको ती केन्द्रीय सदस्यको भनाइ छ ।

अर्का केन्द्रीय सदस्य खेल प्रसाद बुढाथोकीले पार्टीमा अनुशासन कायम गर्न जोड दिए । पार्टी अनुशासित भएको खण्डमा मात्रै जनताको मन र मत पनि जित्न सकिने उनको भनाइ छ।

नेता कार्यक्षेत्रमा खटिनुपर्नेमा जोड

अर्का नेता मुक्ति प्रधानले पार्टीका नेताहरू सहरमुखी भएको तर नतिजा भने त्यही सहरमा कमजोर भएको बताए ।  प्रधानले पार्टीलाई उपत्यकामा बलियो बनाउनका लागि स्पष्ट नीति बनाइनुपर्नेमा जोड दिए । उनले उपत्यका बाहिरका केन्द्रीय नेताहरूलाई उपत्यकामा बस्न कडाइ गरेर गाउँमै केन्द्रित गरिनुपर्नेमा जोड दिए ।

‘उपत्यकासहित सहरी क्षेत्रमा पार्टीको उपस्थिति चिन्ताजनक छ । हामी मरुभूमितर्फ उन्मुख भएका छौँ’ उनले भने, ‘उपत्यका जित्न सके मात्रै पार्टीमाथि विश्वास बढ्छ । बाहिरबाट उपत्यका आउने सबैले विवरण पार्टीमा हुनुपर्छ । बाहिरबाट आउने नेताहरू पार्टीमा स्वीकृत लिएर आउनुपर्छ ।’

पार्टीको सिङ्गो नेतृत्व जुन ढङ्गले निर्माण हुनुपर्ने हो त्यो अनुसार हुन नसकेको पनि बताए ।  अध्यक्ष प्रचण्ड र  अरू नेताहरुबीचको ग्यापिङ धेरै ठूलो भइसकेको भन्दै यसमा गम्भीर रूपमा सोच्न पनि उनले आग्रह गरे ।

प्रधानले पार्टीको मुख्य कार्यदिशा प्रत्यक्ष राष्ट्रपति र पूर्ण समानुपातिकतर्फ अघि बढ्नुपर्नेमा पनि जोड दिए ।  

अर्का केन्द्रीय सदस्य विमल अधिकारीले गठबन्धन इमानदार नभएको देखिएको  धारणा राखिन् । यस्तै उनले पार्टी सच्चिन जरुरी रहेकोमा जोड दिँदै नसच्चिए हर्क साम्पाङहरु धेरै जन्मिन धारणा राखे ।

अर्का केन्द्रीय सदस्य विजय गौतमले स्थानीय निर्वाचनमा गठबन्धन असफल भएको आएको धारणा राखे । ‘अध्यक्ष कमरेडले समेत चुनावमा वामपन्थीको पहिलो शक्ति गुमेको बताउनु भयो । विचार मिल्नेसँग निर्णय गर्न ढिला गर्न हुँदैन’, उनको भनाइ थियो ।  गाउँमा माओवादीको जनमतमा खासै असर नपरे पनि सहरमा कमजोर बन्दै गएकाले यसबारे गम्भीर हुन जरुरी रहेको उनको धारणा छ ।

केन्द्रीय सदस्यहरूले पार्टी सञ्चालन गर्न कार्यविधि बनाइनुपर्ने, ७५३ वटा पालिकामा केन्द्रीय सदस्यलाई खटाइनुपर्ने, स्थानीय निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गरिनुपर्ने धारणा पनि राखेका थिए । अन्तरघातीलाई कारबाही नगरिए पार्टीलाई थप घाटा हुने उनीहरूको भनाइ थियो ।

केन्द्रीय सदस्य पार्वती विकले पार्टीमा एकले अर्कालाई आरोप लगाउने प्रवृत्ति हाबी भएको बताइन् । यो प्रवृत्तिको अन्त्य नभएसम्म माओवादी पार्टी बन्न नसक्ने भन्दै आफूबाट केही कमजोरी भएको छ भने माफी माग्न तयार रहेको बताइन् ।

२ मिनेटको नियम लागू भएन

आइतबारदेखि जारी बैठकको दोस्रो दिन प्रतिवेदन र एजेण्डामाथि बोल्न प्रचण्डले २ मिनेटको समय दिएका छन् । तर, सो समयसीमाको पालना भने हुन नसकेको नेताहरूले बताएका छन् । ‘प्रचण्डले २ मिनेटको समय त दिनुभयो तर कमरेडहरूले बोल्ने क्रममा १५–२० मिनेट पनि लगाइदिनु भयो’, एक केन्द्रीय सदस्यले रातोपाटीसँग भने ।

माओवादीमा यसअघि प्रतिवेदनमा समूहगत छलफल हुँदै आएकामा यस पटक खुला छलफलको अवधारणा ल्याइएको हो । त्यसमा प्रचण्डले आफ्नो धारणा राख्न केन्द्रीय समिति सदस्यहरूलाई २ मिनेटको समय दिएका थिए ।

 राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा जारी बैठकमा आइतबार प्रचण्डले १० पन्ने राजनीतिक प्रतिवेदनमा पेस गरेका थिए । उनले प्रतिवेदन संक्षिप्त भएकाले समूहगत छलफल नहुने बताएका थिए । प्रचण्डको प्रतिवेदनमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिका केही नयाँ सन्दर्भ उल्लेख गरिएको छ । यस्तै वर्तमान घरेलु परिस्थिति, स्थानीय तह निर्वाचनको विश्लेषण, गठबन्धनको समीक्षा पनि संक्षेपमा गरिएको छ । यस्तै प्रचण्डले प्रतिवेदनमा आगामी निर्वाचनमा पार्टीका रणनीति तथा तयारीका विषय पनि उल्लेख गरेका छन् । बैठकमा खुला छलफल सकेर मंगलबारसम्ममा बैठक सक्ने माओवादीको तयारी छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप