मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढी उपमहानगरका निजी स्रोत शिक्षक तलबबाट वञ्चित

बुधबार, २९ असार २०७९, ०६ : ३०
बुधबार, २९ असार २०७९

धनगढी उपमहानगरपालिका वडा नम्बर १५ स्थित समैजी आधारभूत विद्यालयमा निजी स्रोत शिक्षक बनेर विगत सात वर्षदेखि अध्यापन गराउँदै आएकी छन् कोपिला चौधरी । विद्यालय व्यवस्थापन समितिको आन्तरिक आयबाट मासिक सात हजार रुपैयाँमा उनी विद्यालयमा अध्यापन गराउँदै आएकी थिइन् ।

स्थानीय सरकारबाट केही राहत पाउने आशमा रहेकी उनी झन् स्थानीय सरकारबाटै पीडित भएकी छन् । निजी स्रोतबाट कार्यरत शिक्षकलाई उपमहानगरपालिकाले थप रकम उपलब्ध गराउने निर्णय गरेको थियो तर, उनले शैक्षिक सत्र २०७८ मा अध्यापन गरेको रकम धनगढी उपमहानगरपालिकाबाट पाएकी छैनन् ।

धनगढी उपमहानगरपालिकाले नगरभित्र सामुदायिक विद्यालयमा कार्यरत निजी शिक्षकलाई वार्षिक रुपमा दिँदै आएको तलब यसपटक भने नदिएको उनले गुनासो गरिन् ।

धनगढी उपमहानगरपालिकाको कालिका प्राविधिक विद्यालयमा निजी स्रोतबाट कार्यरत शिक्षक क्षेत्र चौधरी आजभोलि नियमित जसो धनगढी उपमहानगरपालिकाको कार्यालयमा आफ्नो तलब रकमका लागि धाइरहेका छन् । उपमहानगरपालिकामा पाउनुपर्ने रकम माग्न जाँदा लेखा शाखाले रकम नभएको भन्दै आफूलाई फिर्ता पठाउने गरेको उनको गुनासो छ ।

आफूले वर्षभरि पढाएबापतको तलब पनि नपाउनु दुःखद् भएको उनको भनाइ छ । उनले भने, ‘शिक्षामा लगानी लगाउनुको साटो शिक्षकले वर्षभरि मेहनत गरेको पैसा पनि उपमहानगरपालिकाले दिएन ।’

कोपिला र क्षेत्रजस्तै धनगढी उपमहानगरपालिकाका १९ वटै वडामा सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकहरुले शैक्षिक सत्र २०७८ मा अध्यापन बापतको रकम नपाएको गुनासो गरेका छन् । धनगढीमा २०९ जना शिक्षक निजी स्रोतबाट कार्यरत रहेको जनाइएको छ ।

आफूले काम गरेबापतको तलब लिन शिक्षकहरू धनगढी उपमहानगरपालिका धाइरहेका छन् तर उपमहानगरपालिकाले निजी शिक्षकलाई दिँदै आएको तलब यो वर्ष दिन नसक्ने बताएको छ ।

धनगढी उपमहानगरपालिकाको स्थानीय राजपत्रमा नगर शिक्षक व्यवस्थापन कार्यविधि २०७८ मा प्रकाशित भइसकेको कुरा पनि लागू गर्न नसकेको भन्दै शिक्षकहरू आलोचना गर्न थालेका छन् । ‘राजपत्रमा प्रकाशित भएको कुरा पनि उपमहानगरपालिकाले लागू गर्न सकिरहेको छैन,’ निजी स्रोत शिक्षक संघर्ष समितिका अध्यक्ष बालाराम जोशीले भने, ‘वर्षभरि दुःख गरेर पढाएबापतको पारिश्रमिक पाउन पनि यत्तिको पीडा छ, खाइपाई आएको तलब पनि उपमहागरनपालिकाले दिनै मानिरहेको छैन ।’

चालु आर्थिक वर्षका लागि उपमहानगरपालिकाले एक करोड २० लाख रुपैयाँ नगरमा कार्यरत निजी स्रोतका शिक्षकलाई छुट्याएको थियो । तर, उक्त रकम सकिएको भन्दै नगरका निजी स्रोतका शिक्षकलाई वर्षभरिको तलब दिइएन । तर, स्थानीय राजपत्रमा आर्थिक वर्ष २०७८÷७९ को हकमा विद्यालयबाट माग भई आएको तथ्याङ्क बमोजिम महाशाखाले तयार पारेको वार्षिक निकासा विवरणका आधारमा जेठ मसान्तभित्रै आर्थिक प्रशासन शाखाले अनुदान बापतको पूरै रकम एकैपटक निकासा गर्ने उल्लेख छ । असार सकिन लाग्दा समेत शिक्षकलाई तलब बापतको रकम उपमहानगरले दिन सकेको छैन ।

धनगढी उपमहानगरपालिकाले नगरभित्रका निजी स्रोत शिक्षकको तलब न्यून रहेको भन्दै उनीहरुलाई प्रोत्साहन स्वरुप प्राथमिक तहका शिक्षकलाई प्रति व्यक्ति वार्षिक ४२ हजार पाँच सय, निमावि तहका शिक्षकलाई ५० हजार र माध्यमिक तहका शिक्षकलाई ६६ हजार पाँच सय रुपैयाँ प्रदान गर्दै आएको थियो ।

धनगढी उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख नरेन्द्र खातीले प्रदेश सरकारको राजस्वबाट बजेट विनियोजन गरिएकोले आन्तरिक राजस्व तथा प्रदेश राजस्वबाट आउनु पर्ने रकम नपुगेकाले निजी स्रोत शिक्षकलाई दिइने तलब बापतको रकम दिन नसकेको स्वीकारे । उनले भने, ‘आज पनि रकम अभावकै कारणले दिन नसकेको हो । पैसा नभएरै नदिएको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शेरबहादुर ऐर
शेरबहादुर ऐर
लेखकबाट थप