शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनका गैँडा शिकारी : प्रहरीबाट बच्न मजदुरको भेष

सँगै जेल बसेका ‘साथी’को आग्रहमा ४ गैँडाको शिकार
बुधबार, ०४ साउन २०७९, १२ : ५०
बुधबार, ०४ साउन २०७९

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा २०७७ भदौदेखि कार्तिक सम्ममा ४ वटा गैँडा मारिए । सो घटनाको सत्य तथ्य पत्ता लगाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, राष्ट्रिय निकुञ्ज र निकुञ्ज सुरक्षामा खटिएका सैनिकलाई ठुलो चुनौती थियो । 

लामो अनुसन्धानपछि गैँडा शिकारमा संलग्न दुई जनालाई चितवन राष्ट्रिय निकुञ्जसँगको समन्वयमा केन्द्रीय अनुसन्धान ब्यूरोले यही असार दोस्रो साता नियन्त्रणमा लिएको छ । चितवनको राप्ती नगरपालिका–१० घर भएका ४१ वर्षीय रामकुमार प्रजा असार १३ मा र कालिका नगरपालिका–९ घर भएका ४३ वर्षीय बम बहादुर प्रजा असार १६ मा पक्राउ परेका हुन् । 

४ वटा गैँडा मार्ने योजना चाहिँ कास्की कारागारमा बनेको थियो । गैँडा मारेको मुद्दामा जेल परेका रामकुमार र बमबहादुरको कैलाश आलेसँग चिनजान भएको थियो । कैलाश चीनबाट अवैध सुन ल्याएको आरोपमा गोरखाबाट पक्राउ परेर कारागारमा थिए । जेलमा उनीहरूले गैँडाको ‘खाग’को काम गर्ने सल्लाह गरे । चाँडो रिहा भएका कैलाश पछि ती दुईलाई भेट्न गए, फोन नम्बर दिएर भने,‘निस्केपछि फोन गर्नु, गैँडाको काम गर्नुपर्छ ।’ 

जेलबाट छुट्नासाथ २०७७ कार्तिकमा गैँडा मारेर रामकुमार र बमबहादुरले गोरखाका कैलाशलाई खबर गरे । कैलाशले हेटौँडाका मेघ बहादुर नेपालीलाई त्यसबारे भने । मेघबहादुर, कैलाश, एकजना पूर्व प्रहरी र सशस्त्रका बहालवाला लक्ष्मण विक मिलेर चितवनको कोराक गए । डिलिङ गर्ने बहानामा खाग लुटेर भागे । मेघबहादुर प्रहरीका पूर्व सुराकी हुन् । रामकुमार र बमबहादुरले खाग लुटेरा खोज्दै थिए । त्यसै बीचमा घटना प्रहरीसम्म पुग्यो । 

गैँडाको खाग लुटेको घटना बाहिरिएसँगै गैँडा तस्करीको दोस्रो लेयरमा रहेका कर्मा तामाङ, योन्देन तामाङ र नाङ्गे तामाङलाई सीआईबीले नियन्त्रणमा लियो । लुटेको खाग मेघबहादुरले कर्माको समूहलाई ७० लाखमा बेचेको ब्यूरोको अनुसन्धानबाट थाहा भएको छ । कर्माको समूहले रकम मेघबहादुरको खातामा डिपोजिट गरिदिएको थियो । खाग किन्ने कर्माको समूह तिब्बतीयन मूलका नेपाली हुन् । मुगुमा बसोबास गर्ने उनीहरूले त्यहीँबाट नागरिकता लिएका छन् । 

कर्माको समूहको तिनैजना पक्राउ परे, अहिले पुर्पक्षका लागि थुनामा छन् । उता गैँडा मार्ने रामकुमार र बमबहादुर भने फरार भए । 

मजदुरको भेषमा सडक निर्माण

केन्द्रीय अनुसन्धान ब्यूरो र चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले रामकुमार र बमबहादुरको  खोजी कार्य जारी राखेको थियो । सूचना आयो, ‘रामकुमार काठमाडौंको दक्षिणकाली हुँदै मकवानपुर जोड्ने सडक निर्माणमा मजदुरी गरिरहेका छन् ।’ 

भेष बदलेर सडक निर्माण गरिरहेको अवस्थामा ४१ वर्षीय रामकुमार प्रजालाई असार १३ मा पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी श्याम कुमार महतोले रातोपाटीलाई बताए । 

बमबहादुर चाहिँ मकवानपुरको गाउँमा लुकेर बस्थे । बमबहादुर पछिल्लो समय गैँडा शिकार गरेको मुद्दामा प्रहरीले खोजी व्यापक बनाएपछि चरेश तस्करीमा लागेका थिए । 

गैँडा शिकारीहरूले भरुवा बन्दुक प्रयोग गरेर गैँडा मार्ने गरेको अनुसन्धानबाट थाहा भएको छ । बमबहादुर आफैंले १७ राउण्ड फायर गरेर गैँडा शिकार गरेको स्वीकारेका छन् । चारवटा गैँडा मार्दा रामकुमारले बञ्चरोले खाग काटेर पकाउने भूमिका निभाए । सिकारीहरूले खाग पकाएर दोस्रो लेयरका तस्करलाई बेच्ने गरेको केन्द्रीय अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानबाट थाहा भएको छ ।

यसअघि गैँडा मारेर खाग तस्करी गरेको कसुरमा रामकुमार प्रजा २०६० देखि ०७० सालसम्म १० वर्ष जेल बसेर छुटेका थिए । बम बहादुर प्रजा २०६० देखि २०७५ सालसम्म १५ वर्ष जेल बसेर छुटेका थिए । जेलबाट छुट्नासाथ उनीहरू फेरि गैँडा शिकार गरेर खाग बेच्ने धन्दामा सक्रिय भएका थिए ।

जीवनस्तर उही

चितवनको कोराक भन्ने ठाउँमा सामान्य बस्ती छ । गैँडा शिकार गर्नेहरू अधिकांश त्यही बस्तीका हुन् । गैँडा शिकारी रामकुमार र बमबहादुर सहोदर दाजुभाइ हुन् ।  

अर्का गैँडा शिकारी राजकुमार प्रजा पनि कोराककै हुन् । उनलाई इन्टरपोलको सहयोगमा सीआईबीले २०७१ मा मलेसियाबाट पक्राउ गरेर नेपाल ल्याएको थियो । राजकुमारलाई चितवन जिल्ला अदालतले १५ वर्ष कैद सजाय तोकेको छ । 

राजकुमारले २८ वटा गैँडा मारेको मारेको स्वीकारेका छन् । आफ्नो हातबाट उनले २२ गोली फायर गरेका छन् । तर, जत्ति गैँडा मारे पनि उनीहरूको जीवनस्तर परिवर्तन भएको छैन । 

गैँडा शिकारबापत बमबहादुरले दुईवटा शिकारमा प्रतिगैंडा २ लाख ८० हजार लिएका छन् । अहिलेसम्ममा तस्करबाट सवैभन्दा धेरै पैसा लिने बमबहादुर मात्र हुन् ।  नभए सिकारीहरूले सामान्यतया ३० देखि ६० हजार रुपैयाँ मात्रै पाउने गरेका छन् । निकुञ्ज सुरक्षामा खटिएका सैनिकको रेकी गर्ने, खाना पकाउने, खाग काट्ने, खाग पकाउने र तस्करसम्म लैजानेहरूलाई बाँड्दा सो पैसा उनीहरूले थोरै मात्र पाउने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् । 

प्रजाहरूले २०७० बाट गैँडा शिकार गर्न थालेका हुन् । १० वर्षअघि उनीहरूको आर्थिक अवस्था जस्तो थियो, अहिले पनि उस्तै छ । प्रजाहरूले २०७० बाट गैँडा शिकार गर्न थालेका हुन् । १० वर्षअघि उनीहरूको आर्थिक अवस्था जस्तो थियो, अहिले पनि उस्तै छ । 

प्रजाहरूसँग गैँडा शिकारमा जोडिएका छन् कुमाल र चौधरी समुदाय पनि । अशिक्षा, गरिबीको चपेटामा रहेका उनीहरूलाई प्रलोभनमा पारेर व्यावसायिक तस्करले फाइदा लिएको अनुसन्धान अधिकृतहरू बताउँछन् । 

अन्तरर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) का अनुसार वन्यजन्तुको चोरी, शिकारी विश्वमा चौथो अवैध व्यापार हुने अपराधमा पर्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन–२०२९ र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन–२०७३ ले सो व्यापारलाई नियन्त्रण गर्ने गरेको छ । 

पाँचजना खुङ्खार शिकारी जेलमा 

बमबहादुरका दाजुभाइ र राजकुमारबाहेक अरू दुई खुङ्खार शिकारी हुन्, वीरमानसिंह प्रजा र रणबहादुर कुमाल । ती दुवै पूर्वी नवलपरासी कारागारमा छन् । चितवन राष्ट्रिय निकुञ्जमा माउ र बच्चा गैँडा मारेको आरोपमा उनीहरू जेल परेका हुन् । वीरमानले अहिलेसम्म ४ वटा गैँडा मारेको स्वीकारेका छन् । 

वीरमानसिंह प्रजा मात्र होइन, गैँडा मारेको मुद्दामा उनका बुवा र आमा पनि कारागारमा छन् । 

कहाँ जान्छ खाग ?

चितवन राष्ट्रिय निकुञ्जमा दर्जनौँ गैँडा मारेर खाग काटिएका छ । तर, अहिलेसम्म ३ वटा खाग मात्र प्रहरीले बरामद गरेको छ । 

चितवन राष्ट्रिय निकुञ्जबाट शिकार गरेको खागसहित पक्राउ परेका थिए, नोरसिंह लामा, दिदी खम्पा र नोर्बु तामाङ । उनीहरू चिनियाँ नागरिक हुन् । गोरखाको छेकम्पार हुँदै नेपाल आएका उनीहरू अहिले जेलमा छन् । केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी श्याम कुमार महतोका अनुसार दिदी खम्पाहरूको कनेक्सन कनेक्सन गैँडा शिकारी राजकुमार प्रजासँग देखिएको छ । 

विज्ञहरूका अनुसार गैँडाको खाग एक किसिमको ‘कपालको गुजुल्टो’ मात्रै हो । त्यसमा मानिसको कपालमा पाइने ‘केराटिन’ भन्ने तत्त्व पाइन्छ । तर, परम्परागत औषधी बनाउनका लागि चीन, भियतनाम, भारत र थाइल्याण्डमा यसको तस्करी हुँदै आएको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार खाडी मुलुकमा धनाढ्यहरूले घरमा सजाएर राख्न पनि खाग किन्छन् । 

राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्रमा वन्यजन्तु र किसानबीच द्वन्द्व छ । द्वन्द्व व्यवस्थापन गरेर सचेतना जगाउन सकेमा गैँडा शिकार नियन्त्रण गर्न सकिने जानकारहरू बताउँछन् । अन्धविश्वासमा  परेर मूल्य नभएका सालकको खपटा र गैँडाको खाग जस्ता आखेटोपहार कारोवारको प्रलोभनमा नपर्न ब्यूरोका एसपी महतो आग्रह गर्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप