जीवनदर्शन : निरोगीताको सरल सूत्र

मानव जीवन प्रकृतिको अनमोल वरदान हो, सितिमिति मिल्दैमिल्दैन । अनेक तारतम्य मिलेर मात्र सम्भव भएको हुन्छ । यद्यपि हामीलाई के लाग्न सक्छ भने शरीर त्यत्तिकै प्राप्त भएको हो । बाबु र आमाको राजीखुसीमा सम्बन्ध भयो, त्यस्तै परे एउटा पक्षबाट जबर्जस्ती पनि भयो होला, जे होस् उनीहरूको सम्बन्ध भो जीवन उत्पत्ति भयो । न बाबुआमाले कसैलाई जन्माउँछु भनेर जन्माएका हुन्छन् न आउनेले नै निवेदन दिएर आएका हुन्छन्, न विन्तीपत्र नै हालेका हुन्छन् । सरसर्ती हेर्दा लाग्ने त्यस्तै हो तर त्यही मात्र भने होइन । हो, रूपमा त त्यस्तै हो तर सारमा होइन । सारमा यही हो कि ब्रह्माण्डका अनेक तत्वको संयोग वा तारतम्य मिलेपछि मात्र जीवन उत्पत्ति भएको हो ।
त्यस्तै अर्को के पनि सत्य हो भने शरीर नश्वर छ, कर्कलाको पानी जस्तो कतिबेला पोखिन्छ पत्तै हुँदैन । पानीको फोका जस्तो न कतिबेला उठ्छ थाहा हुन्छ न कति बेला फुट्छ थाहा पाउन सकिन्छ । सायद त्यसै भएर होला गीतामा कृष्णले यसलाई अश्वस्थ भनेका छन् । बर्खामा खहरेले बगाएर ल्याई माथि जरा तल टुप्पो पारेर किनारमा मिल्काएको वृक्षहरूको अवस्था जस्तो हुन्छ त्यसैगरी भोलिसम्म पनि जस्ताको तस्तै रहने हो कि होइन भन्ने निश्चित नभएकाले त्यसो भनिएको अनुमान लगाउन सकिन्छ । ‘उध्र्वमूलमधः शाखमश्वस्थं प्राहुरव्ययम् ।’ (गीता १५।१) तर त्यो पनि रूपमा मात्र हो सारमा होइन । रूपमा त्यस्तै हो, जो क्षणिक छ कति बेला के हुन्छ पत्तै हुँदैन । आँखा झिमिक्क गर्न भ्याएको हुन्न केही न केही परिवर्तन भएकै हुन्छ तर सारमा भन्ने हो भने यही नश्वर शरीरबाट धेरै स्थिर हुने काम गर्न पनि सकिन्छ र आफूलाई चिरस्थायी बनाउन पनि सकिन्छ ।
त्यसैले धर्मशास्त्रले शरीरको महत्व गाउँदै उसको सुरक्षामा विशेष जोड दिएको छ । नीति भन्छ– ‘शरीर माध्यं खलु धर्म साधनम् ।’ अर्थात् सबैभन्दा ठूलो धर्म पनि शरीर रक्षा नै हो, पहिलो कर्तव्य पनि शरीर रक्षा नै हो । शरीर रहेपछि नै सबै हुने हो, सबै पाइने हो । शरीर नै नरहने के हुने के पाउने तर सुरक्षा भन्ने कुरा भनेको भरमा हुँदैन । यसका लागि सर्वप्रथम स्वस्थ्य र निरोगीतामा ध्यान दिनुपर्ने हुन्छ । यद्यपि यसका लागि औषधी बनेका छन्, औषधालय खुलेका छन् तर रोग लागेपछिको उपचार हुन् ती सबै । तिनले रोगलाई दबाउनसम्म त सक्छन् हटाउन सक्दैनन् । एउटा ठीक हुन भ्याएको हुन्न अर्को उत्पत्ति भइसकेको हुन्छ । किनकि ती सबै कृत्रिम हुन् । यसका लागि त प्रकृतितर्फ नै फर्कनुपर्ने हुन्छ ।
यसै पनि रोग भन्ने चीज बाहिरबाट आउने होइन । कुनै देवीदेवताले ल्याउने पनि होइन ग्रह– नक्षत्र बिग्रेर वा भूतप्रेत रिसाएर आउने पनि होइन । शरीरकै अङ्गहरू कमजोर भएपछि रोग लाग्ने हो । त्यसैले प्रकृतिले नै त्यसको व्यवस्था गरिदिएको छ, जसलाई शारीरिक अङ्ग मजबुत बनाउने विधि पनि भन्न सकिन्छ । अब प्रश्न उठ्न सक्छ त्यो भनेको के हो ? उत्तर हो शारीरिक आसन, जसको विशेषता र गर्ने तरिका हजारौँ वर्षपूर्व नै ऋषिमुनिहरूले पत्ता लगाइसकेका छन् । उनीहरूले दीर्घसाधनाद्वारा पत्ता लगाई प्रयोगमा ल्याएकाले यसले न अतिरिक्त असर गर्छ न चाहे शारीरिक होस् चाहे मानसिक कुनै पनि खाले रोगलाई टाउको उठाउने अवसर नै दिन्छ । मात्र उसको नियमलाई पछ्याउनुपर्छ जहाँ जे गर्नुपर्ने हो उसैले गर्छ । अन्य उपचार रोग लागेपछिको खोजी हो तर आसन भनेको रोगै नलाग्ने बाटाको अनुसरण हो ।
यसो त आसन भन्नाले सुखपूर्वक बस्नु भन्ने बुझिन्छ । महामुनि पतञ्जलिले स्थिरसुखमासनम् भनेका छन् । (पातञ्जल योगदर्शन २।४६) तर यतिमा मात्र सीमित भने छैन यो । स्थूल शरीरसित सम्बन्धित यावत रोग निवारणमा अचूक औषधी मानिएको छ यसलाई । आसन धेरै किसिमका छन् । फाइदा पनि त्यस्तै छन् । केही फाइदा सबैका छन् तर एउटा आसनको फाइदा एकाध नै हुन्छन् । एउटै आसनबाट धेरै रोगको उपचार खोज्न सकिन्न । फेरि सबै आसन सबैलाई उपयुक्त हुन्छ भन्ने पनि छैन र सबै आसन सबैले गर्न पनि सक्दैनन् । अझ कुनै आसन त कतिपयले गर्नै हुँदैन तर कुनै आसन यस्ता छन्, जुन गर्न पनि सजिलो हुन्छ र लाभ पनि धेरै छन् । सबैले गर्न पनि हुन्छ र गर्न पनि सक्छन् । यहाँ यस्तै आसनबारे चर्चा गरिएको छ ।
यसको नाम हो शवासन । यसलाई सबै उमेर समूहका मानिसले गर्न सक्छन् । यो सुतेर गरिने आसन हो । शवजस्तै सुतेर गरिने आसन भएकाले शवासन भनिएको हो । फाइदाका दृष्टिले पनि अगाडि नै रहेको छ यसको स्थान । यसलाई गर्ने तरिका तथा त्यसका फाइदा र विशेषता सम्बन्धी भिडियोको लिङ्क तल प्रस्तुत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशसभा बैठक सुरु
-
दिगो, भरपर्दो र वातावरणमैत्री विकास निर्माण जरुरी छ : मन्त्री भण्डारी
-
पाकिस्तानको बलुचिस्तान प्रान्तमा विस्फोट, चार जनाको मृत्यु, २० जना घाइते
-
भारतले एसीसीको कुनै पनि प्रतियोगिता नखेल्ने, एसिया कपको भविष्य पनि अन्यौलमा
-
वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ–मुग्लिन सडकखण्ड
-
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूतहरुको शिष्टाचार भेट