सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय

प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूतहरुको शिष्टाचार भेट

सोमबार, ०५ जेठ २०८२, १२ : ३९
सोमबार, ०५ जेठ २०८२

समाचार सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली र युरोपेली संघका प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ। भेटमा नेपाल र युरोपेली संघबीचको सम्बन्ध, आर्थिक विकास र सुशासनबारे छलफल भयो।
  • प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक परिवर्तन र आर्थिक समृद्धिका लागि लगानी विस्तार गर्न आग्रह गरे, भने युरोपेली संघले शिक्षा, पूर्वाधार, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाए।
  • युरोपेली संघका राजदूतहरूले सगरमाथा संवादको सफलताको लागि नेपाललाई बधाई दिए र संक्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन आग्रह गरे।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओलीसँग युरोपियन युनियनको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोसहित काठमाडौँस्थित राजदूत र भारतको नयाँ दिल्लीस्थित गैह्रआवासीय राजदूतहरूको उपस्थिति थियो । यही जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा सम्पन्न सगरमाथा संवादका लागि पहिलो पटक युरोपियन युनियनका यति धेरै राजदूतहरू एकै पटक नेपाल आएका हुन् । 

भेटका अवसरमा नेपाल र युरोपियन युनियनबिचको ५१ वर्षदेखिको कूटनीतिक सम्बन्धको स्मरणसहित नेपालको स्थायित्व, आर्थिक विकास, सुशासनका लागि सहकार्यका विषयमा विमर्श भएको थियो । प्रधानमन्त्री ओलीले नेपालले सशस्त्र द्वन्द्व, शान्तिपूर्ण जनआन्दोलन र शान्ति वार्ताका चरण हुँदै संविधानसभाबाट नयाँ संविधान जारी गरेपछि आर्थिक विकास र सुशासनका क्षेत्रमा गति लिएको अवगत गराए ।

उनले मुलुकको राजनीतिक परिवर्तनमा लागेका दुई ठुला दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर आर्थिक विकास र सुशासनको प्रतिबद्धतासहित सरकार गठन भएकाले नेपालको समृद्धि र रोजगारी  सृजनाका लागि लगानी विस्तार गर्न आग्रह गरे । उनले जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाबाट पछाडि फर्कने कुनै सम्भावना नरहेकाले अबको गन्तव्य नेपालको स्थायित्व र समृद्धि रहेको स्पष्ट पारे । 

 ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ भन्ने भावलाई आत्मसाथ गर्दै नेपालको भारत र चीन दुवै छिमेकीसँग नजिकको सम्बन्ध रहने र अन्य मुलुकसँग मित्रवत् सम्बन्ध रहने स्पष्ट पारे । उनले सगरमाथा संवादको पहिलो शृङ्खलामा सहभागिताका लागि सबैलाई धन्यवाद दिँदै हिमालदेखि समुद्रसम्मको अवधारणालाई महत्त्व दिँदै यस शृङ्खलाको निरन्तरता हुने जनाए । प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण भई सम्बद्ध पक्षको परामर्शसमेतका आधारमा दुई आयोग गठन भएकाले अब काममा ढिलाइ नहुने विश्वास गरे ।

युरोपियन युनियनका राजदूतहरूले नेपालको आर्थिक–सामाजिक विकासका प्रयासमा साथ दिँदै शिक्षा, पूर्वाधार, स्वास्थ्य, हरित ऊर्जा, सूचना प्रविधि र जलवायु परिवर्तनका क्षेत्रमा सहयोगको निरन्तर हुने बताएका थिए । उनीहरूले नेपालले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा लान थालेका खुसी व्यक्त गर्दै पीडितका मुद्दालाई केन्द्रमा राख्न आग्रह गरेका थिए । राजदूतहरूले सगरमाथा संवादको सफल आयोजनाका लागि नेपाललाई बधाई दिएका थिए । 

भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका उच्चाधिकारी लगायत सहभागी थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप