जनमत पार्टीमा विदेशबाट आउने रकममा अनियमितता भएपछि....
सारांश
- डा.सिके राउतको जनमत पार्टीले वैदेशिक रोजगारीमा रहेका नेपालीबाट उठाएको रकममा अनियमितता देखिएपछि शुल्क उठाउन बन्द गरेको छ।
- पार्टीले विदेशमा रहेका समर्थकहरूबाट उठाएको रकमबाट होटल खरिद र घरजग्गा जोडेको खुलासा भएपछि उपाध्यक्ष र कोषाध्यक्षलाई कारबाही गरिएको छ।
- गैरआवासीय मधेसी संघ (एनआरएमए) मा पनि लेवी उठाउन बन्द गरिएको छ र सदस्यता विवरण अद्यावधिक गर्न आह्वान गरिएको छ।
काठमाडौँ । डा.सिके राउत नेतृत्वको जनमत पार्टीभित्र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूबाट उठाइएको रकममा अनियमितता देखिएपछि शुल्क उठाउन बन्द गरिएको छ । सो पार्टीको हालै मात्र बसेको केन्द्रीय सचिवालयको बैठकले गैरआवासीय मधेसी संघ (एनआरएमए) मा अब कुनै प्रकारको लेवी वा शुक्ल नउठाइने निर्णय गरेको हो ।
जनमत पार्टीले विगतमा विदेशमा रहेका आफ्ना समर्थक तथा सदस्यहरूबाट लेवी, शुल्क तथा चन्दा सङ्कलन गर्दै आएको थियो । सो रकमबाट पार्टी सञ्चालनदेखि काठमाडौँमा होटल खरिद गरिएको र विभिन्न स्थानमा घरजग्गा जोडिएको खुलासा भएपछि पार्टीभित्र आन्तरिक विवाद चुलिएको छ ।
यसै सन्दर्भमा पार्टीले उपाध्यक्ष दीपक साह र कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई कारबाही गरेको छ । कोषाध्यक्ष यादवमाथि मुद्दा चलाइएपछि उनी केही समय थुनामा परेका थिए भने हिजो पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । आर्थिक पारदर्शिता र पार्टीभित्र शुद्धीकरण अभियान स्वरूप सबै किसिमका आर्थिक सङ्कलन बन्द गरिएको पार्टी स्रोतले जनाएको छ ।
यही निर्णयको प्रभाव गैरआवासीय मधेसी संघ (एनआरएमए) मा पनि परेको छ । हालै डा.सीके राउतको प्रमुख आतिथ्यतामा बसेको संघको अन्तर्राष्ट्रिय समितिको बैठक र त्यसपछि भएको सचिवालयको निर्णयअनुसार अब कुनै पनि देशमा रहेका सदस्यहरूसँग लेवी वा सदस्यता शुल्क लिने कार्य पूर्ण रूपमा बन्द गरिएको छ । कार्ड छपाइ खर्चबाहेक अन्य शुल्क लिने नीतिमा पूर्णविराम लगाइएको जनमत पार्टीका केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलले बताए ।
साथै, सदस्यताको विवरण अद्यावधिक गर्न समेत आह्वान गरिएको छ । नागरिकताको विवरणअनुसार नाम, जिल्ला, पालिका र वडा उल्लेख गरी सदस्यता फर्म बुझाउनुपर्ने व्यवस्था गरिएको छ । प्रमुख मण्डलकाअनुसार सदस्यता सूचीमा समावेश नभएका नेताहरू जनमत पार्टीको कुनै समिति वा तहको वा नेपाल सरकारको कुनै निर्वाचनमा पार्टीको तर्फबाट भाग लिन पाइने छैन ।
जनमत पार्टीको यो निर्णयलाई सङ्गठनभित्र पारदर्शिता कायम गर्ने र गलत अभ्यासहरू अन्त्य गर्ने प्रयासका रूपमा हेरिएको छ । पार्टीले अब सङ्गठन विस्तार, जनसम्पर्क र आन्तरिक सुदृढीकरणमा ध्यान दिन निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
-
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्यो कारबाही
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण