शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

युनिग्लोब : जहाँ प्रविधिबाट पढाइन्छ

बुधबार, २५ साउन २०७९, १२ : ०८
बुधबार, २५ साउन २०७९

काठमाडौँको कमलादीमा रहेको युनिग्लोब माध्यमिक विद्यालयले बर्सेनि २६ सय विद्यार्थीलाई पढाउँदै आएको छ । विज्ञान, म्यानेजमेन्ट र कानुनका विषयमा विद्यार्थीलाई युनिग्लोबले शिक्षा दिइरहेको छ । २०७० सालको कुरा हो । प्राज्ञहरूको भेला भयो । त्यो समयमा नेपालमा सीमित प्लस टु कलेजहरू मात्र थिए ।

शैक्षिक क्षेत्र परम्परागत तथा आधुनिक शिक्षण प्रणालीको सङ्क्रमणबाट गुज्रिरहेको थियो । विद्यार्थीलाई नेपालमै राम्रो शिक्षा दिन कलेज किन नखोल्ने ? प्राज्ञहरूको भेलाले निचोड निकाल्यो, ‘प्रविधिसहितको प्लस टु कलेज काठमाडौँमा खोल्ने ।’ ०७० सालमा प्राज्ञहरूको भेलाले निकालेको निचोडले २०७१ सालमा मूर्त रूप लियो । अनि जन्मियो, ‘युनिग्लोब’ । 

युनिग्लोबले पहिलो वर्ष विज्ञान सङ्काय मात्र सुरु गर्‍यो । अनि शिक्षाका हाँगाहरू फैलाउँदै गयो युनिग्लोबले । दोस्रो वर्ष २०७२ सालमा व्यवस्थापन र पाँचौँ वर्ष २०७६ मा कानुन सङ्काय विस्तार गर्‍यो । विद्यालयको ल्याब, मल्टिमिडिया, खेल मैदान, कक्षा कोठा सबै प्रविधिमैत्री छ । ‘नेपालमा पहिलोपटक अत्याधुनिक प्रविधिसहितको भौतिक संरचना भएको कलेज खोलेका हौँ,’ प्रधानाध्यापक अशोककुमार चौधरी भन्छन्, ‘विद्यार्थीको उपस्थिति, गृहकार्य र ग्रेडिङ पद्धति, आन्तरिक परीक्षाको नतिजा प्रकाशनजस्ता शैक्षिक क्रियाकलापका साथै विद्यार्थी भर्ना प्रक्रिया, अन्तर्वार्तासमेत प्रविधिबाट हुन्छ ।’

हेलमेट शिक्षकको अन्त्य

युनिग्लोबको सुन्दर पक्ष हो, हेलमेट शिक्षकको अन्त्य । त्यसैले आज धेरै शिक्षकको रोजाइमा पर्छ युनिग्लोब । राम्रो सेवा सुविधासहित विद्यालयले शिक्षक राखेको छ । एउटा कक्षा यहाँ पढाउने अर्को कक्षा अर्को विद्यालयमा पढाउन जाने सिस्टमलाई अन्त्य गरेको छ युनिग्लोबले । 

‘फुल टाइम शिक्षक राखेका छौँ । एउटै शिक्षकले अरू विद्यालयमा पढाउन धाउनुपर्दैन,’ प्रधानाध्यापक चौधरी भन्छन्, ‘फुल टाइम शिक्षक राखेपछि विद्यार्थीको सिकाइमा असर पर्दैन ।’

९९ प्रतिशत विद्यार्थी उत्तीर्ण

विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकको समन्वयका कारण विद्यार्थीको नतिजा उत्कृष्ट आउने गरेको छ । ‘९५ देखि ९९ प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरेका छन्,’ प्रधानाध्यापक चौधरी भन्छन्, ‘नतिजामा कमी हुन नदिन विद्यार्थी, अभिभावक र शिक्षकको भूमिका महत्त्वपूर्ण छ ।’ 

सैद्धान्तिकसँगै प्राक्टिकल मेथडबाट पठनपाठन भएकाले राम्रो नतिजा आएको दाबी गर्छन् उनी । ‘बोर्ड र मार्कर मेथडबाट ६० प्रतिशत । प्रविधिबाट ४० प्रतिशत पढाइ हुन्छ,’ उनी भन्छन्, ‘दुवै मेथडलाई सँगै अगाडि बढाएका छौँ ।’

 जहाँ विद्यार्थीले बोर्डमा लेखेको सार्नु पर्दैन

कक्षामा विद्यार्थीहरूले शिक्षकले भनेको सुने मात्र पुग्छ । कापीमा टिपोट गर्नै पर्दैन । बोर्डमा शिक्षकले लेखेको विद्यार्थीको मेलमा पुग्छ । जसका लागि युनिग्लोबले एमआईएसको प्रयोग गर्दै आएको छ । ‘हरेक बच्चाको मेल एकाउन्ट हुन्छ । शिक्षकले बोर्डमा लेखेको विद्यार्थीले सार्नुपर्दैन । एमआईएसमार्फत विद्यार्थीलाई पठाउने गरिएको छ,’ उनी भन्छन्, ‘घरमा गएर विद्यार्थीले एमआईएसबाट हेरेर आफ्नो नोट बनाउन सक्छन्  ।’ 

नेपाली पाठ्यक्रम

युनिग्लोबले नेपाली पाठ्यक्रमबाट शिक्षण सिकाइमा जोड दिएको छ । समृद्ध नेपाल निर्माणका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित युनिग्लोबले नेपाली पाठ्यक्रमबाट नै पढाउने गरेको हो । ‘नेपालको माटो सुहाउँदो अहिलेको समय सापेक्ष जनशक्ति उत्पादन गर्ने हो । त्यसैले नेपाली पाठ्यक्रमबाट शिक्षण सिकाइ हुन्छ,’ प्रधानाध्यापक चौधरी भन्छन्, ‘विषयगत ज्ञानले मात्र पुग्दैन । विद्यार्थीको ग्रेड पनि आउनु पर्‍यो । स्किल पनि हुनुपर्यो ।’ 

 त्यसैले अतिरिक्त क्रियाकलाप 

पढाइसँगै अतिरिक्त गतिविधि अर्को विशेषता हो युनिग्लोबको । विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी सहक्रियाकलाप, अतिरिक्त क्रियाकलाप, खेलकुद, सिर्जनात्मक क्षमता अभिवृद्धि कार्यक्रम, पूर्व व्यावसायिक तालिम तथा अभिमुखीकरण, व्यक्तित्व विकास, आजीविकामुखी गोष्ठी, सेमिनार, अतिथि प्राध्यापन, विषयविज्ञद्वारा प्रवचन, प्रशिक्षण र तालिमहरू, प्रि-मेडिकल तथा प्रि-इन्जिनियरिङ तथा प्रि-सीए कक्षाहरू सञ्चालन गर्दै आएको छ । 

 तीन तहको छात्रवृत्ति

युनिग्लोबले विद्यार्थीका लागि छात्रवृत्तिको विशेष व्यवस्था गरेको छ । पहिलो, मेरिटका आधारमा दिइन्छ । जसमा विद्यार्थीले एसईईमा ल्याएको जीपीए, विद्यालयले लिएको प्रवेश परीक्षा र अन्तर्वार्ताका आधारमा दिइन्छ । मेरिटमा सबै विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् । दोस्रो, छात्रवृत्ति विद्यार्थीको अतिरिक्त गतिविधि हेरेर दिइन्छ । पढाइबाहेक अतिरिक्तमा राम्रो छ भने पनि छात्रवृत्ति दिने गरेका छौँ,’ चौधरी भन्छन्, ‘कक्षा टप गर्नेले पनि पाउने गरेको छ ।’ तेस्रो, छात्रवृत्ति सरकारले तोकेको मापदण्डको आधारमा हो । सरकारले १० प्रतिशतलाई छात्रवृत्ति दिन भनेको छ । सरकारी नियमानुसार पनि विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरिएको छ ।

 कति लाग्छ खर्च ?

समयसापेक्ष शुल्क निर्धारण गरिएको विद्यालयको दाबी छ । ११ कक्षामा पढ्न ३६ हजारदेखि २ लाख ५३ हजार लाग्ने बताउँछन् प्रधानाध्यापक चौधरी । ‘समयसापेक्ष शुल्क छ । छात्रवृत्तिको व्यवस्था भएकाले धेरै कम लाग्छ,’ उनी भन्छन् ।

 कोरोना महामारीमा युनिग्लोब

कोरोना महामारीका कारण शैक्षिक क्षेत्र अस्तव्यस्त बन्यो । विद्यालयहरू बन्द भए तर युनिग्लोबले शिक्षण सिकाइलाई कुनै दिन पनि बन्द गरेन । दरिलो प्रविधि भएकाले सुरुबाट नै युनिग्लोबले अनलाइनबाट विद्यार्थीको सिकाइलाई अगाडि बढायो । ‘शिक्षकलाई तालिम दिएर विद्यालयमै स्टुडियो बनाएर अनलाइन कक्षा चलायौँ,’ प्रधानाध्यापक चौधरी भन्छन्, ‘अन्तर्राष्ट्रियस्तरको अनलाइन कक्षा नेपालमै दिन सक्षम भयौँ ।’

 युनिग्लोबका पाँच सूत्र

 युनिग्लोबले शिक्षाको गुणस्तरका लागि पाँच सूत्र अवलम्बन गरेको छ । पहिलो, बच्चाको पूर्ण व्यक्तिगत विकास । दोस्रो, शतप्रतिशत खुसी । तेस्रो, अनुशासन । चौथो, उत्कृष्ट नतिजा । 

पाँचौँ, शिक्षक विद्यार्थी र अभिभावकको पुलको काम गर्ने व्यवस्थापन ।  ‘यी पाँच सूत्रका कारण हामी सफल भएका हौँ । विद्यार्थी खोज्न जानै पर्दैन । विद्यालयको अभिभावक नै हाम्रो एम्बास्डर हो । उहाँहरूकै कारण विद्यार्थीको रोजाइमा युनिग्लोब परेको छ,’ प्रधानाध्यापक चौधरी भन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप