शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कैलाली–४ मा लेखराज भट्टसँग गठबन्धनबाट भण्डारी भिड्लान् कि सोडारी ?

शुक्रबार, ०३ भदौ २०७९, २० : २२
शुक्रबार, ०३ भदौ २०७९

निर्वाचनको मिति घोषणा भएसँगै विभिन्न दलमा उम्मेदवारका आकांक्षीहरु आफ्नो दाबी प्रस्तुत गर्न थालेका छन् । सबैजसो दलमा उम्मेदवारका आकांक्षीहरु आफ्नो निर्वाचन केन्द्र गतिविधिमा केन्द्रित हुन थालेका छन् भने उम्मेदवारका लागि दाबी गर्न थालेका हुन् ।

२०७४ मा नेकपा माओवादी केन्द्रको साथ पाएको नेकपा एमाले अहिले एक्लै चुनावी मैदानमा होमिएको छ । त्यतिबेला एमालेलाई साथ दिएको नेकपा माओवादी केन्द्र र एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी अहिले सत्तारुढ गठबन्धनमा छ । यसैबीच कैलाली क्षेत्र नम्बर ४ बाट एमालेका लेखराज भट्ट उम्मेदवार बन्ने भएका छन् । माओवादी केन्द्र छाडेर एमालेमा गएका उनलाई सत्तारुढ गठबन्धनबाट कसले चुनौती दिन्छ भन्नेमा चासो बढेको छ ।

यस क्षेत्रमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबाट पनि उम्मेदवारीको दाबी भइरहेको छ । कांग्रेसबाट सुनिलकुमार भण्डारी र नेकपा एकीकृत समाजवादीबाट दीर्घराज सोडारीले उम्मेदवार बन्ने आकांक्षा राखेका छन् । भण्डारी र सोडारीमध्ये गठबन्धनबाट को उम्मेदवार बन्छन् भन्ने टुङ्गो लाग्न भने बाँकी छ । भण्डारी राष्ट्रियसभाका पूर्व सदस्य हुन् । उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादीसहितको वाम गठबन्धनबाट उम्मेदवार बनेका लेखराज भट्टसँग १० हजार ३९९ मतले पराजित भएका थिए ।

भट्टले ३१ हजार ३५९ मत ल्याएर जित हासिल गर्दा भण्डारीले २० हजार ९६० मत ल्याएका थिए । हाल सुदूरपश्चिम प्रदेश सरकारको भौतिक तथा पूर्वाधार विकासमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका सोडारी अब प्रतिनिधिसभामा जाने बताउँछन् । उनले कैलाली–४ मा आफ्नो पार्टीले गठबन्धनमा दाबी गर्ने बताए ।

२०७४ को प्रदेशसभा निर्वाचनमा क्षेत्र नं ४ को (क) बाट उनले १६ हजार ११५ मत पाएर जित हासिल गरेका थिए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका यज्ञराज चौधरीले ११ हजार ४२५ मत ल्याएका थिए । २०६४ को संविधानसभा निर्वाचनमा सो क्षेत्र कैलाली क्षेत्र नं ५ अन्तर्गत थियो । उक्त निर्वाचनमा नेकपा माओवादीबाट उम्मेदवार बनेका भट्टले १७ हजार ९७९ मत प्राप्त गरी जित हासिल गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीर्घराज भाटले १३ हजार ६३८ मत ल्याएका थिए भने नेकपा एमालेका हरिशंकर योगीले ७ हजार ५९७ मत प्राप्त गरी तेस्रो भएका थिए ।

२०७० को निर्वाचनमा भने लेखराज भट्ट कांग्रेसका दीर्घराज भाटसँग पराजित भएका थिए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा माओवादी र एमाले गठबन्धनबाट उम्मेदवार बनेका भट्ट ३१ हजार ३५९ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुनिलकुमार भण्डारीले २० हजार ९६० मत ल्याएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप