बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सत्ता गठबन्धनमा अझै जुटेन सिट बाँडफाँटको सहमति, बालुवाटारमा गगनको खोजी

शुक्रबार, ०७ असोज २०७९, २२ : ०७
शुक्रबार, ०७ असोज २०७९

आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनको बैठक शुक्रबार पनि बिना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार करिब ८ घण्टा बसेको बैठक विना निष्कर्ष टुंगिएको हो । 

मधेसमा कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)बीच मुख्य समस्या छ । गठबन्धनका एक शीर्ष नेताका अनुसार मधेसमा कांग्रेस र जसपाको बढी सिट कसले दिने भन्नेमा होडबाजी छ । उनले भने, 'गठबन्धनमा सबैभन्दा ठूलो दलका हैसियतले मधेसमा पनि बढी सिट आफूले पाउनुपर्ने अडान राखेको छ ।' जसपाले आफ्नो आधार क्षेत्र नै मधेस भएको भन्दै बढी सिट पाउनुपर्नेमा अड्डी कसेको छ ।

मधेस प्रदेशमा कांग्रेस र जसपा दुबैले ५० प्रतिशत सिटमा दाबी गरेको अवस्था छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार आजको बैठकमा मधेस प्रदेश केन्द्रित धेरै कुरा भएको बताए  । उनले भने, 'अब करिब करिब सहमति नजिक नजिक पुग्न खोज्या छ । हामीलाई अलि बढी अप्ठेरो मधेस प्रदेशमै हो । अरू प्रदेशतिर खासै अप्ठेरो छैन । अब एक दुई दिनमा सबै टुंगिन्छ ।'

 तर जसपाका नेताहरु भने कांग्रेसभित्रको आन्तरिक विवादका कारण गठबन्धनको सिट बाँडफाँटमा समस्या देखिएको बताउँछन् । कार्यदलका सदस्य रकम चेमजोङले भने, 'कार्यदलको पछिल्ला बैठकहरूमा गगन थापाजी आइराख्नु भएको छैन । कांग्रेसभित्रको आन्तरिक समस्याका कारण सिट बाँडफाँटमा ढिलाइ भइरहेको छ ।' सिट बाँडफाँटका लागि बालुवाटारमा साउन २० यता बैठक बस्दा पनि सहमति हुन सकेको छैन । कांग्रेस शीर्ष नेता कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदल र गठबन्धनका शीर्ष नेताहरूको बैठक बसे पनि सिट सङ्ख्या समेत टुङ्गिएको छैन । 

कार्यदलमा सहमति नभएपछि राजनीतिक निर्णयमार्फत सिट बाँडफाँट टुङ्ग्याउन शीर्ष नेताको तयारी छ । तर निरन्तर छलफल पछि पनि शीर्ष नेता र कार्यदलका सदस्य सम्मिलित बैठकबाट पनि निकास निस्किएको छैन  १६५ मध्ये करिब ४५ सिटमा सहमति जुटाउन गठबन्धनमा सकस परेको  नेताहरु बताउछन् । प्रधानमन्त्री देउवाले गठबन्धनका शीर्ष नेताहरुसँग वान टू वान वार्ता गरिरहेका छन् ।

यता डेंगु संक्रमण भएपछि कांग्रेस महामन्त्री गगन थापाले गठबन्धनको बैठकमा सहभागिता जनाएका छैनन् । डेंगु संक्रमणकै बीच असोज २ र ३ गते पार्टीको समानुपातिक बन्दसूची बनाउन बालुवाटारमा बसेको बैठकमा सहभागी थापाले गठबन्धन र कार्यदल दुबै बैठकमा उपस्थिति नजनाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । माओवादी, एकीकृत समाजवादी र जसपाका नेताहरुले प्रधानमन्त्री देउवालाई पार्टीभित्रको आन्तरिक विवाद मिलाउन सुझाएको कार्यदलका एक सदस्यले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप