मनास्लु हिमपहिरा अपडेट : घाइते सबैको उद्धार, मृतक राईको शव उठाउन समस्या

उत्तरी गोरखाको मनास्लु हिमालस्थित तेस्रो आधार शिविरमा सोमबार गएको हिमपहिरामा परी घाइते भएका सबैको उद्धारको काम सकिएको छ । पहिरोमा परेका १३ मध्ये १२ जनाको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।
हिजो चारजना घाइतेको उद्धार गरिएको भए पनि बाँकी रहेका थप आठजनाको आज उद्धार गरिएको हो । सकुशल उद्धार गरिएकाहरुमा सोलुखुम्बु घर भएका ३५ वर्षीय किनु पेम्वा, २९ वर्षीय फुर्ते शेर्पा, सङ्खुवासभा घर भएका २७ वर्षीय सुकमान तामाङ, निमा शेर्पा, ४० वर्षीय निमादोर्जे शेर्पा र २५ वर्षीय दावा शेर्पा रहेको उनले बताए ।
त्यस्तै दोलखा घर भएका ४० वर्षीया फुरिता शेर्पा, ३७ वर्षीय लाक्पा तामाङ र ४४ वर्षीय जीतबहादुर शेर्पाको पनि सकुशल उद्धार गरिएको प्रहरी नायब उपरीक्षक लामिछानेले जानकारी दिए । आज उद्धार गरिएकामध्ये ४० वर्षीय निमादोर्जे शेर्पाको अवस्था भने गम्भीर रहेको उनले बताए । घाइते सबैलाई उद्धारपछि हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाई सकिएको प्रहरी नायब उपरीक्षक लामिछानेको भनाइ छ ।
हिमपहिरामा परेका अन्य तीनजनाको अवस्था भने सामान्य रहेकाले उनीहरु आधार शिविरमा आएपछि पुनः काममा फर्किएका प्रहरी नायब उपरीक्षक लामिछानेले जानकारी दिए । उनले पहिरामा परी ज्यान गुमाएका सङ्खुवासभा जिल्ला घर भएका अनुप राईको शव निकाल्न भने कठिनाइ भइरहेको बताए । “त्यस क्षेत्रमा आज पनि पुनः मौसम पनि बिग्रन थाल्यो”, प्रहरी नायब उपरीक्षक लामिछानेले भने, “शव केही तल खोँचमा रहेकाले निकाल्न कठिनाइ भइरहेको छ ।” आज नै शव निकाल्न सक्ने अवस्था नरहेकाले भोलि मात्र राईको शव निकाल्न आधार शिविरमा हेलिकप्टर पुग्ने उनले बताए ।
विभिन्न चार एजेन्सीबाट गएका उनीहरु सोमबार हिमपहिरामा परेका थिए । प्रहरीका अनुसार इमेजिङ एक्सप्रेसनबाट गएका पाँच, सेभेन समिटका गएका तीन, एचके एक्सप्रेसनबाट गएका दुई र चितवन एड्भेन्चरबाट गएका तीनजना हिमपहिरामा परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा आजदेखि ‘सगरमाथा संवाद’, १७५ विदेशी पाहुना नेपालमा
-
कति पुग्यो डलरको मूल्य ? के छ विदेशी मुद्राको दरभाउ ?
-
साउदीमा कामविहीन भएका नेपाली श्रमिकलाई स्वदेश फर्काउने पहल सुरू
-
बार्सिलोनालाई २८ औं ला लिगा उपाधि, ‘बच्चा’ टोलीले गर्यो चमत्कार
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने